कोरोना महामारीका कारण फ्रेन्चाइज लिग मारमा

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटले यतिबेला विश्वभर क्रिकेटको माहोल बनाएको छ । महामारीबीच उच्च सतर्कता अपनाउँदै क्रिकेट सञ्चालन सम्भव छ भन्ने सन्देश पनि आइपिएलले दिएको छ । 

तर, कोरोनाका कारण नेपालमा तय भएका मुख्य तीन चर्चित क्रिकेट लिग, धनगढी प्रिमियर लिग, एभरेष्ट प्रिमियर लिग र पोखरा प्रिमियर लिगको मिति अनिश्चित छ । कोरोनाको चपेटामा परेका आयोजकले सकारबाट अनुमति पाए विकल्पको बाटो खोजेर प्रतियोगिता सञ्चालन गर्न सक्ने दाबी गरेका छन् । 

मुखैमा आएको एभरेष्ट प्रिमियर लिग विश्वभर फैलिएको कोरोना भाइरसका कारण अनिश्चितकालका लागि स्थगित भयो । वेस्ट इन्डिजका चर्चित ब्याट्सम्यान क्रिस गेल नेपालमा आउने चर्चा निकै थियो । तर, कोरोना महामारीले प्रतियोगिता हुन नपाउँदा आयोजकले गरेको प्रचारबाजी प्रचारमा नै सिमित भयो ।

लाखौं खर्चेर गरिएको कार्यक्रमलाई कोरोनाको कारण स्थगित गर्नुपर्यो । नेपालमा फ्रेन्चाइज लिगको अवधारणासहित स्थापित भएको धनगढी प्रिमियर लिग पनि आइतबार विज्ञप्ति जारी गरेर अनिश्चित कालका लागि स्थगित भइसकेको छ । 

प्रतियोगिता अनिश्चतकालका लागि स्थगित गर्नुपर्दा खेलाडीदेखि विज्ञापनदाता, आयोजक सबै मारमा परेको धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले बताए । 

धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाही नेपालमा सहज तरिकाले क्रिकेट फर्किनेमा आशंका व्यक्त गर्छन् । महामारीका बीच इन्डियन प्रिमियर लिग नयाँ अवधारणका साथ सञ्चालन हुँदा नेपालमा पनि  प्रतियोगिता सञ्चालन गर्न विकल्पको बाटो खोज्नुपर्ने शाहीले बताए । 
 
नेपालमा क्रिकेट संघको अस्तित्व नहुँदाको अवस्थामा क्रिकेट चलायमान गराएका यस्ता प्रतियोगिताका लागि नेपाल क्रिकेट संघले क्यालेन्डरमा समावेश गरेर सञ्चालनको वातावरण गराउनु पर्ने कतिपयले सुझाउँदै आएका छन् । महामारीको अवस्थामा उच्च सतर्कता अपनाउँदै  खेलकुद गतिविधि सुचारु गर्नुपर्ने विज्ञकाे सुझाब छ ।  



सरकारले महामारीलाई कारण देखाएर खेलकुद गतिविधि रोक्नु खेलकुदका लागि अन्याय हुने उल्लेख गर्दै शाहीले आवश्यक मापदण्ड तोकेर कडाइका साथ लागू गरी खेलकुद गतिविधि चलायमान बनाउन आवश्यक रहेको बताए । 



  • प्रकाशित मिति : असोज २०, २०७७ मंगलबार १७:४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया