भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमितको उपचार सफल

चितवनको भरतपुर अस्पतालमा प्लाज्मा थेरापीबाट कोरोना सङ्क्रमित बिरामीको सफल उपचार गरिएको छ । भरतपुर महानगरपालिका वडा नं १२ का ५१ वर्षीय पुरुषको अस्पतालले प्लाज्मा थेरापीबाट सफल उपचार गरेको हो ।

गत भदौ ३० गते कोरोना पोजिटिभसहित सो अस्पताल भर्ना भएका उनमा ज्वरो, खोकी र स्वासप्रश्वासको समस्या देखिएको थियो । उनको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि कोभिड आइसियुमा भेन्टिलेटरको सहायतामा उपचार गरिएको अस्पतालका प्लाज्मा थेरापी कोअर्डिनेटर कन्सल्टेन्ट फिजिसियन 

डा.कल्याण सापकोटाले जानकारी दिए । पुरुषलाई यही असोज ७ गते प्लाज्मा थेरापीबाट उपचार गरिएको उनले बताए । 

उक्त अस्पतालले प्लाज्मा थेरापी उपचारमा पहिलो बिरामीमै सफलता पाएको डा.सापकोटाले जानकारी दिए । करिब १५ दिन आइसियु र चार दिन वार्डमा उपचारपछि पुरुष निको भएर मंगलबार घर फर्किएका छन् । 

प्लाज्मा थेरापी उपचार विधिबाट कोरोना सङ्क्रमित बिरामीको ज्यान जोगाउन सफल भएपछि अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मी र अस्पताल विकास समितिका पदाधिकारीमा उत्साह र थप हौसला थपिएको छ । अस्पतालले अन्य सङ्क्रमित भएर निको भएकालाई पनि प्लाज्मा दान गर्न आग्रह गरेको छ । 

कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु नजिक पुगेका बिरामी प्लाज्मा थेरापी उपचार विधिबाट निको भएर घर फर्किंदा उपचारमा संलग्न चिकित्सकदेखि प्लाज्मा दिने दातासमेत उत्साहित र खुसी देखिएका थिए । उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीको अथक प्रयास र लगनशीलताले जटिल अवस्थामा पुगेका कोरोना सङ्क्रमितलाई बचाउन सकिएको अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए ।





  • प्रकाशित मिति : असोज २१, २०७७ बुधबार १७:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया