होम ट्युसन पढाउने शिक्षकले गरे ५ वर्षीया बालिकामाथि बलात्कार, दाइले भिडियो बनाएर देखाए आमालाई
पाँच वर्षीया बालिका बलात्कारमा संलग्न रहेको आरोपमा पक्राउ परेका गौरव साह ।

कोरोनाका कारण लकडाउन भयो, सबै स्कुल बन्द भए । आफ्ना छोराछोरीको पढाइ बिग्रिएला भनेर विराटनगर–१६ की एक महिलाले योजना बनाइन्– छोराछोरीलाई पढाउन घरमै शिक्षक बोलाउने ।

२१ वर्षका गौरव साह यसका लागि तयार पनि भए । 

तर, गौरवले चार नानीबाबुलाई पढाएनन् मात्र, जे गर्नु हुँदैनथ्यो, त्यही गरे । अनि यो खुलासा गरेका छन्, उनीसँग घरमै ट्युसन पढ्ने ११ वर्षका बालकले । 

बहिनीलाई आफ्नै गुरु गौरवले ट्युसन पढाउने नाममा दुर्व्यवहार गरेको कुरा बालकले आमालाई सुनाए । केटाकेटीहरू पढ्न अल्छी लागेर नानभाँति कुरा गर्छन् भन्दै आमाले पत्याइनन् । बालकले जिद्दी गरे, अन्ततः ११ वर्षका ती बालकले भिडियो नै बनाएर आमालाई देखाए । 

झट्ट सुन्दा ५ वर्षकी बालिकामाथि शिक्षकले नै दुर्व्यवहार गर्लान् भन्ने कसले पो पत्याउला र ? तर, सैतानी दिमागका लागि कसको के लाग्छ ?

गौरवले वैशाखदेखि यी नानीबाबुलाई पढाउन थालेका थिए । मासिक १ हजार ८ सय लिने साहले पढ्न नजानेको र गृहकार्य नगरेको भनेर ११ र ९ वर्षे बालकलाई पिट्ने र खाटमुनि पोको पर्दै बस्न लगाएर एक सातादेखि सजाय दिन थालेका थिए । बालकका अनुसार मैले नभनेसम्म खाटमुनिबाट बाहिर ननिस्कनु भन्थे । 



४ वर्षे बालकलाई भने १०/१५ मिनेटजति पढाएर बाहिर पठाउँथे । तर ५ वर्षीया बहिनीलाई भने खाटमै राख्थे । जब उनीहरू खाटमुनि पस्थे अनि सुरु हुन्थ्यो बहिनीको चित्कार । बहिनीले दुख्यो, नगर्नुभन्दै चिच्याएको उनीहरू सुनिरहन्थे ।

सुरुका दिनमा पढ्न नजानेर सरले कुटेकाले बहिनी रोएको उनले लख काटे । तर, दैनिक त्यही क्रम दोहोरिएपछि उनले चियाएर हेरे, जे देखे त्यो उनले पनि पत्याउनै सकेनन् । ठम्याएरै हेरे । बहिनी र आफ्ना सबै कपडा खोलेको अवस्थामा सरलाई देखेको ११ वर्षे बालकले फरकधारलाई सुनाए । आमालाई त्यही कुरा सुनाए । शिक्षकमाथि त्यत्रो अविश्वास, आमाले कसरी पत्याउने ?



घटनाको भिडियो नै बनाएर दिने कुरा बालकले जिद्दी गरे । आमासँग भिडियो खिच्नमिल्ने क्यामेरा भएको मोबाइल थिएन । छिमेकीसँग मागिन् ।  छोराको आग्रहमा कपडाले छोप्दै भिडियो खिच्ने गरी शनिबार क्यामेरा ‘अन’ गरेर कोठामा मोबाइल ‘फिट’ गरिन् । दिउँसो ३ बजेतिर आइपुगेका साहले पढाउने क्रममा त्यो दिन पनि पुरानै हर्कत दोहोर्याए । ४ बजेतिर उनी निस्किएर गए ।

बालकले आमालाई भिडियोसहितको मोबाइल जिम्मा लगाइदिए । छोराछोरी पढाउन पैसा दिएर बोलाइएको शिक्षकको राक्षसीरुप देख्दा तत्काल आमाले केही सोच्नै सकिनन् । ११ वर्षे छोराले बहिनीमाथि बारम्बार हुने बलात्कारको घटना सुनाए पनि विश्वास नगरेकी उनी भिडियो हेरेपछि भने छाँगाबाट खसेजस्तै भइन् ।

‘टेलिभिजन हेर्दा कतिपय घटनामा यसरी नै लुकाएर भिडियो बनाएको देखेको थिएँ,’ बालकले फरकधारसँग भने, ‘आमाले विश्वास नगरेका कारण बहिनीमाथि भइरहेको नराम्रो काम देखाउन मैले नै जिद्दी गरेको हुँ ।’ 

एक सातादेखि नै छोरीले नयाँ मान्छे देख्दा डराउने, खाना खान नमान्ने, राति निद्रामा तर्सिने, चिच्याउने, घरबाट बाहिरै निस्कन र ट्युसन जान नमान्ने तथा अरु बेलाकोभन्दा भिन्न व्यवहार देखाउने गरिरहे पनि आफूले वास्ता गर्न नपाएको आमाले बताइन् ।

‘छोरोले सुनाएको कुरामा विश्वासै थिएन । नानीहरूलाई पढाउने सरले यसो गर्छन् भन्दा कसलाई विश्वास लाग्छ होला र ?’ उनले भनिन्, ‘तर अहिले सबै प्रष्ट भइसक्यो । कलिली छोरीमाथि यस्तो गरेको भिडियो हेरेपछि मेरो आफ्नै शरीर त्यसै शिथिल भएको छ । मानिस किन यतिधेरै निर्दयी हुन्छ ?’ 

उनका अनुसार केही दिनदेखि साहलाई देखेपछि छोरी चिच्याउँदै रुने गर्थिन् । समस्या बुझ्न नसक्दा छोरीलाई उनीसँगै पढ्नलाई जबरजस्ती पठाइरहेको आमाको भनाइ छ । 

बालिकामाथि गिद्धे नजर लगाएका साहले पढाउने नाममा आफ्नो र बालिकाको कपडा खोलेर बलात्कार गरेको भिडियोमा देखिन्छ । बालिका कराउँदै फुत्किन खोजे पनि नियन्त्रणमा लिएर संवेदनशील अंग खेलाउँदै बलात्कार गरेको भिडियोमा रहेको एक प्रहरीले बताए । प्रहरीले सबुत प्रमाणका रुपमा भिडियोलाई पनि लिएर घटनाको अनुसन्धान गरिरहेको छ ।

जनकपुर घर भएका बालिकाका अभिभावक छ वर्षदेखि विराटनगरमा डेरा बस्दै आएका हुन् । उनका बाबु वैदेशिक रोजगारीका लागि मलेसियामा छन् । ‘घटनापछि छोरीको दिमागमा नराम्ररी असर पुग्नुका साथै मनमा धेरै डर पसेको छ,’ आमाले भनिन्, ‘सम्झाई बुझाई गर्दा पनि खाना नखाने र रुनैमात्रै गरिरहँदा स्वास्थ्य बिग्रिएर गएको छ ।’

गौतम बुद्ध स्कुलको नर्सरीमा गत माघमा मात्रै बालिका भर्ना भएकी हुन् । पीडित बालिकालाई उपचार र स्वास्थ्य परीक्षणका लागि कोसी अस्पताल लगिएको छ ।

प्रारम्भिक रिपोर्टले बालिका बलात्कृत भएको देखाएको प्रहरी स्रोतले बतायो । 

इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले बालिकामाथि एक सातादेखि नै बलात्कार भइरहेको खुलेको बताए । पछिल्लो पटक शनिबार बलात्कार गरेको खुलेपछि पक्राउ गरेर साहविरुद्ध जबरजस्ती करणी मुद्दा चलाउन गत आइतबार म्याद थप गर्दै घटनाको बाँकी अनुसन्धान थालिएको जानकारी उनले दिए ।   

मनोविद् प्राध्यापक महेश खत्री कलिलो उमेरमा बालबालिकाको दिमागमा परेको असर मेटाउन मुस्किल पर्ने बताउँछन् । त्यसलाई विस्तारै हटाएर लैजानु पर्ने उनको धारणा छ । ‘राम्रा राम्रा कुरातर्फ ध्यान केन्द्रित गराउनु पर्छ,’ उनले भने, ‘नभए समस्या बढ्दै गएर स्वास्थ्यमा अरु समस्या थपिन सक्छ ।’ 

कुनै घटनामा परेका बालबालिकाको मनोबल उच्च बनाउनेतर्फ अभिभावकको विशेष ध्यान जान जरुरी रहेको उनले बताए । उनका अनुसार केही समय बालिकामा डराउने, तर्सिने र मानसिक तनाव कायमै रहने हुँदा त्यसलाई हटाएर समान्य अवस्थामा फर्काउन अभिभावकले पूरा समय दिनुपर्छ र सकारात्मक कुरामा ध्यान केन्द्रित गराउनुपर्छ ।

‘स्वतन्त्र र निश्चिन्त हुने वातावरण बनाउँदै सुरक्षित भएको महसुस गराउनु पर्छ,’ मनोविद् खत्री फरकधारसँग भन्छन्, ‘पीडामा परेका बालबालिकाले असुरक्षित महसुस गरे भने समस्या झन् विकराल बनेर जान्छ ।’ समस्यामा परेका बालबालिकाले विगतभन्दा फरक गतिविधि देखाउने भएकाले गतिविधि विचार गर्दै उनीहरुलाई सकारात्मक ढंगले ‘प्रमोट’ गर्नुपर्ने उनको भनाइ छ ।

  • प्रकाशित मिति : असोज २२, २०७७ बिहीबार १७:५७:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया