सर्लाहीमा प्रहरी र का‌ंग्रेसबीच यसकारण भयो झडप

गत २२ असोजमा सर्लाहीको रामनगरका ६० वर्षीय वृद्धको कुटपिटका कारण मृत्यु भएको घटनाको विषयमा नेपाली कांग्रेसले गरेको आन्दोलनमा प्रहरीले हस्तक्षेप गर्दा झडाप भएको छ । कांग्रेसले सो हत्यामा नेकपा कार्यकर्ता संलग्नता रहेको आरोप लगाउँदै प्रदर्शन गरेको हो । 

जिल्ला प्रहरी कार्यालय सर्लाहीअगाडि प्रदर्शन गर्न पुगेका नेपाली कांग्रेसका नेता–कार्यकर्ता र प्रहरबीच झडप भएको हो । कांग्रेस कार्यकर्ता एक्कासि प्रहरी कार्यालयमा प्रवेश गरेपछि झडप भएको प्रहरीको दाबी छ । झडपमा परी कम्तीमा ३५ जना घाइते भएका छन् । केही प्रहरीलाई समेत गम्भीर चोट लागेको छ । घाइतेहरु स्थानीय अस्पतालमा भर्ना भएका छन् ।

प्रदर्शनकारीको हुलले बलजफ्ती कार्यालयमा प्रवेश गर्न खोज्दा प्रहरीले बल प्रयोग गरेको सर्लाहीका प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिए । उनले भने, ‘ठूलो संख्यामा प्रदर्शनकारी प्रहरी कार्यालयमा प्रवेश गर्न खोज्यो । रोक्दा ढुंगामुढा गर्न थालेपछि प्रहरीले बाध्य भएर सामान्य बल प्रयोग गरेको हो ।’
 
स्थिति नियन्त्रणमा लिन प्रहरीले १३ राउण्ड अश्रुग्याँस प्रहार गरेको उनले बताए । प्रदर्शनकारीले गरेको ढुंगामुढाबाट कार्यालयको झ्यालका सिसा समेत फुटेको उनको भनाइ छ ।

प्रदर्शनमा कांग्रेसका संघीय सांसद अमरेशनारायण सिंह, प्रदेश २ का प्रमुख सचेतक उपेन्द्र कुशवाहा, प्रदेश सांसद वीरेन्द्र सिंहलगायत नेतासमेत सहभागी थिए । तर रामनगरका पूरै गाउँ उर्लिएर प्रदर्शनमा सहभागी भएपछि स्थिति सम्हाल्न प्रहरीलाई हम्मे–हम्मे परेको थियो । अहिले प्रहरीले स्थिति नियन्त्रण लिइसकेको छ ।

गाउँका महिला झाडु बोकेर प्रदर्शनमा पुगेका थिए । युवाहरुले लाठी बोकेका थिए । प्रदर्शनकारीले प्रहरी कार्यालयमा आक्रमण गर्ने उद्देश्यले नै आएको र सोही कारण झडप भएको एक प्रहरी अधिकारीले बताए । 

यता, कांग्रेसका सांसद सिंहले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको आरोप लगाएका छन् । हत्यारालाई बचाउन लागेको थाहा पाएपछि प्रदर्शनमा उत्रेको उनको भनाइ छ । 



हत्याको अनुसन्धान हुँदै छ : डिआइजी सिंह

असोज २२ मा सर्लाहीको रामनगर गाउँपालिका ६ का ६० वर्षीय वृद्ध महेन्द्र रामको कुटपिटका कारण मृत्यु भयो । प्रदेश २ प्रहरी प्रमुख डिआइजी धीरजप्रताप सिंहका अनुसार केटाकेटीबीच ढुंगा हानाहान भएके थियो । पछि ठूला मान्छे पनि मिसिए । सोही क्रममा ढुंगा लागेर रामको मृत्यु भयो ।



यता, कांग्रेस नेताहरुले भने पार्टीमा प्रवेश नगरेको निहुँमा नेकपा कार्यकर्ताले रामको हत्या गरेको दाबी गरेका छन् । कांग्रेस नेता तथा कार्यकर्ताले हत्यामा संलग्न नेकपा कार्यकर्तालाई पक्राउ गर्न, मृतकलाई सहिद घोषणा गर्न र क्षतिपूर्ति दिन माग राख्दै प्रदर्शन गर्न पुगेका थिए ।

डिआइजी सिंहले घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषीलाई कारबाही हुने बताएका छन् । 
 

  • प्रकाशित मिति : असोज २८, २०७७ बुधबार १८:१३:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया