प्रतिबन्धकै बीच भित्रियो ११ करोडको तयारी मदिरा

सरकारले आयात प्रतिबन्ध गरेकै समयमा करिब ११ करोड रुपैयाँको विदेशी मदिरा आयात भएको छ । गतवर्षको चैत तेस्रो साता मन्त्रिपरिषद्को बैठकले विदेशी तयारी मदिराको आयातमा पूर्ण रोक लगाउने निर्णय गरे पनि चैत ११ गतेदेखि भदौ मसान्तसम्म ११ करोड रुपैयाँभन्दा बढीको तयारी मदिरा आयात भएको तथ्यांक छ । 
भन्सार विभागले उपलब्ध गराएको तथ्यांकअनुसार सो अवधिमा ११ करोड ३ लाख ९२ हजार रुपैयाँबराबरको ५६ हजार ५ सय ४ लिटर तयारी मदिरा आयात भएको छ । 

तयारी मदिरामा पूर्ण बन्देज लगाएको अवस्थामा भएको आयात भने पुरानै ‘अर्डर’ रहेको भन्सार विभागले जनाएको छ । विभागका महानिर्देशक सुमन दाहालका अनुसार प्रतिबन्ध लगाउनुभन्दा पहिल्यै एलसी (लेटर अफ क्रेडिट) खोलिसकेका मदिरा मात्रै सो अवधिमा आयात भएका हुन् ।

सो अवधिमा ४३ करोड ५१ लाख ११ हजार रुपैयाँबराबरको २ लाख ७४ हजार ८ सय ४९ लिटर मदिराको कच्चा पदार्थ पनि आयात भएको तथ्यांक छ । सरकारले असोज २२ गतेदेखि विदेशी मदिरा आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । 

एलसी खोलिसकेको मदिरा आयातमा प्रतिबन्ध नलाग्ने अधिकांश देशको प्रावधान रहेको बताउँदै अर्थविश्लेषक रामेश्वरले खनालले नेपालमा भने विनाकारण मदिरामा प्रतिबन्ध लगाइएको टिप्पणी गरे ।

नेपालको कुल राजस्वको झण्डै ८० प्रतिशत हिस्सा अन्तःशुल्कले ओगटेको छ । त्यसको ठूलो हिस्सा मदिराले ओगट्ने हुँदा यसमा रोक लगाउन नहुने अर्थविद्को राय छ । 

मदिरामा अल्कोहलको मात्राका आधारमा अन्तःशुल्क तोकिएको छ । भन्सार दरबन्दी अनुसार १५ युपी शक्ति (४८ दशमलव ५ प्रतिशत अल्कोहलको मात्रा भएको) तयारी मदिराको प्रतिलिटर १३ सय २५ रुपैयाँ अन्तःशुल्क तोकिएको छ । यसैगरी, २५ युपी शक्ति (४२ दशमलव ८ प्रतिशत अल्कोहलको मात्रा भएको)को प्रतिलिटर ९ सय ९०, र ३० युपी शक्ति (३९ दशमलव ९४ प्रतिशत अल्कोहलको मात्रा भएको)को ९ सय २० रुपैयाँ अन्तःशुल्क तोकिएको छ । 



यस्तै, ४० युपी शक्ति (३४ दशमलव २३ प्रतिशत अल्कोहलको मात्रा भएको) को प्रतिलिटर ४ सय ६५, ५० युपी शक्ति (२८.५३ प्रतिशत अल्कोहलको मात्रा भएको)का प्रतिलिटर ३ सय ७५ रुपैयाँ तथा ७० प्रतिशत युपी शक्ति ( १७ दशमलव १२ प्रतिशत अल्कोहलको मात्रा भएको) को तयारी मदिराको प्रति लिटर ३५ रुपैयाँ अन्तःशुल्क तोकिएको छ ।

किन फुकुवा भयो मदिरा प्रतिबन्ध ?



तयारी मदिरामा प्रतिबन्धको निर्णय हुँदा अन्य केही विदेशी वस्तुमा पनि प्रतिबन्ध लगाइएको थियो । त्यसमध्ये सबैभन्दा बढी चर्चामा मदिराको विषय थियो । अर्थात् मदिरा प्रतिबन्ध लगाउन हुने वा नहुने विषयमा अनौपचारिक बहस पनि भए । सरकारको आलोचना पनि चर्को भयो ।

विवादका बीचमा अन्तःशुल्कको ठूलो हिस्सा ओगट्ने तयारी मदिराको आयात रोक किन लगाइयो त ? अर्थमन्त्रालयका अधिकारीका अनुसार अर्थतन्त्रको चाल ठप्प बन्ने अवस्थामा विदेशी मुद्राको सञ्चितिमा पनि ध्यान दिनुपर्ने हुन्छ । विदेशी मदिरा किन्दा बाहिररिने विदेशी मुद्रा रोक्न आयातमा केही समय रोक लगाइएको थियो । 

तर त्यो प्रतिबन्ध नै गलत थियो भन्नेका तर्क पनि बलिया छन् । ‘कुनै विकल्प नसोची अर्थतन्त्रको यस्तो बलियो आधारलाई विनायोजना रोक्नु नै गलत थियो,’ अर्थविश्लेषक  खनालले भने, ‘सरकारी अधिकारीको तर्क नै मान्दा त्यतिबेला बिदेशी मुद्रा सञ्चितिमा अप्ठ्यारो नपरोस् भन्ने हो भने के अहिले अवस्था सामान्य बनेको हो ?’ लकडाउन खोल्नेवित्तिकै प्रतिबन्ध फुकुवा गर्नुपर्ने थियो भने त्यतिबेला प्रतिबन्ध नाटकमात्र भएको खनालको तर्क छ । 

पूर्वमन्त्री एवं राप्रपा नेता डा. प्रकाशचन्द्र लोहनीले पनि सरकारी निर्णय हचुवाका भरमा हुने टिप्पणी गरे । ‘त्यतिखेर विदेशी मुद्राको सञ्चितिमा सन्तुलन कायम गर्नुपर्ने, अहिले पनि अवस्था त उस्तै छ । झन् हाम्रो अर्थतन्त्र त संकटपूर्ण छ त, यसलाई के बुझ्ने हामीले ?’ फरकधारसँग कुरा गर्दै उनले भने, ‘विदेशी मुद्राको फ्लोको स्थिति के हुन्छ, ‘अर्थतन्त्रको वास्तविक अवस्था कहाँ जान्छ, भाइरसको महामारी कहिलेसम्मको हो केही कुराको ख्याल नगरी काम गरेको हो । यो त कसैको स्वार्थमा गरिएको हो, यसको खास तर्क नै छैन ।’

मदिराको खपत घट्ला त यो वर्ष ?

बजारमा नेपाली ब्रान्डेड मदिरा, स्थानीय उत्पादन र विदेशी तयारी आयातित मदिराको माग हुन्छ । सामान्यतया वर्षभरि नै मदिराको माग हुने भए पनि आम्दानी र समय दुवैका कारण चाडपर्वको अवधिमा मदिराको माग र खपत बढी हुने गर्छ । वर्षभरि हुने कुल खपतको ४० प्रतिशत मदिरा दसैंतिहारको अवधिमा हुने गरेको व्यापारीहरू बताउँछन् । 

यो वर्ष दसैंको मुखमा आएर आयातमा फुकुवा गरिए पनि मदिराको माग भने नरहेको व्यापारीहरू बताउँछन् । मानिसको क्रयशक्ति घट्दा यो वर्ष मदिराको माग घटेको व्यवसायीको भनाइ छ । मदिरा बिक्रेताका अनुसार यो वर्षको दसैंमा ५० प्रतिशतभन्दा बढी मदिराजन्य पदार्थको माग घटेको छ । ‘मानिसलाई सर्भाइभलको समस्या छ,’ एक व्यापारी भन्छन्, ‘मनोरञ्जन टाढाको कुरा हो नि, यो वर्षको दसैं यही हो ।’

के भन्छ तथ्यांक?

मदिरा र मदिराजन्य पदार्थको आयात उत्पादनले नेपाली राजस्वमा ठूलो योगदान गरेको कुरा तथ्यांकले नै स्पष्ट देखाउँछ । मदिराको आयात वर्षभरि नै हुने गर्छ । तयारी मदिरा र मदिराका लागि आयात हुने कच्चा पदार्थबाट वार्षिक करिब २ अर्ब रुपैयाँबराबरको राजस्व संकलन हुने गरेको तथ्यांकले देखाउँछन् । 

तथ्यांकअनुसार आर्थिक वर्ष २०७४\७५ मा करिब ९० करोड रुपैयाँबराबरको ५ लाख ४१ हजार ९ सय ९६ लिटर विदेशी मदिरा आयात भएको थियो भने त्यसपछि आर्थिक वर्ष २०७५\७६ मा १ अर्ब १४ करोड रुपैयाँबराबरको ६ लाख ४० हजार लिटर आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।

त्यसपछि गत आर्थिक वर्षको तेस्रो चौमासिकको सुरुमै कोरोना भाइरसका कारण नेपाल बन्दाबन्दी र मदिरामा रोक नै लगाउँदा  करिब ८८ करोड रुपैयाँ बराबरको चार लाख ९३ हजार लिटर विदेशी मदिरा मात्रै नेपाल भित्रिएको छ । 

  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १६:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया