सघन उपचार कक्षका अभावमा अर्घाचाँची, रुपन्देही र बाँकेका तीनजनाको निधन

बुटवलमा सघन उपचार कक्षका अभावमा कोरोना भाइरस सङ्क्रमितको ज्यान गएको छ । पछिल्लो समय  कोरोना सङ्क्रमितको सङ्ख्या बढेसँगै सघन उपचार कक्ष बिरामीले भरिएका छन् । बुटवलको धागो कारखानास्थित कोरोना विशेष अस्पतालमा शय्या नपाएपछि दाङको बेलझुण्डी अस्पताल लैजाँदै गर्दा थप एक सङ्क्रमितको बाटामै मृत्यु भएको छ । 

अर्घाखाँची, भूमिकास्थान–९ का ७३ वर्षीय पुरुषको दाङ लैजाने क्रममा आज बिहान पौने ८ बजे बाटामा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले जानकारी दिए ।

अर्घाखाँचीबाट उपचारका लागि बुटवल आएका पुरुषको लुम्बिनी प्रादेशिक अस्पतालमा पिसिआर परीक्षण गर्दा गत मङ्गलबार रिपोर्ट पोजिटिभ आएको थियो । त्यसपछि उनलाई कोरोना विशेष अस्पतालको आइसोलेशनमा राखिएको थियो । उनको बुटवलमा सघन उपचार कक्ष शय्या नपाइएका कारण मृत्यु भएको छ । सङ्क्रमित पुरुषको स्वास्थ्यमा गए राति थप समस्या देखिएपछि अस्पतालले बेलझुण्डीस्थित कोरोना अस्पतालमा रेफर गरेको थियो । 

यसैगरी बुटवलस्थित कोरोना विशेष अस्थायी अस्पतालमा थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–७ की ७० वर्षीया रहेको अस्पतालले जनाएको छ । यही असोज २१ गते अस्पताल भर्ना भएकी महिलाको आज बिहान सवा ९ बजे मृत्यु भएको  डा गौतमले जानकारी दिए । उनमा असोज २१ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महिलामा ज्वरो, दमलगायत समस्या रहेको अस्पतालको भनाइ छ । 

नेपालगञ्ज बाँकेमा थप एक  कोरोना सङ्क्रमितको मृत्यु भएको छ । यहाँस्थत भेरी अस्पताल उपचाररत बाँके जानकी गाउँपालिका—६ प्रजातिपुरका ६५ वर्षीय पुरुषको मृत्यु भएको स्रोतव्यक्ति नरेश श्रेष्ठले जानकारी दिए । यससँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ ।

श्रेष्ठका अनुसार स्वास्थ्यमा समस्या आएपछि पुरुषलाई असोज १० गते साँझ अस्पतालको प्रि–आइसोलेशन वार्डमा भर्ना गरी उपचार शुरु गरिएको थियो । सङ्क्रमितको श्वासप्रश्वासमा समस्या भएपछि उनको रोगको प्रकृतिअनुसार प्लाज्मा थेरापीलगायत उपचारका सबै पद्धति अपनाउँदासमेत बचाउन नसकिएको जनाइएको छ । 



जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र र भेरी अस्पतालको समन्वयम शव व्यवस्थापन गरिएको  छ । यसैबीच बाँकेमा आजै थप ६४ कोरोना सङ्क्रमित निको भई घर फर्किएका छन् । यससँगै बाँकेमा कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या एक हजार ९६३ पुगेको श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार बाँकेमा कोराना सङ्क्रमितको निको हुने दर ७६.८६ प्रतिशत  छ । अब जिल्लाका विभिन्न आइसोलेशनमा ५६५  सङ्क्रमित छन् । बाँकेमा अहिलेसम्म दुई हजार ५५४ जनामा कोरोना पुष्टि भइसकेको छ । 



  • प्रकाशित मिति : असोज २९, २०७७ बिहीबार १७:१२:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया