योगेश्वर अमात्य भन्छन् : सावधानी अपनाएनौं भने दसैंले दशा ल्याउन सक्छ

दसैंको आगमनसँगै त्यही परिवेशमा गाइएका गीतसंगीत पनि बज्न थालिसकेका छन् । असत्यमाथि सत्यको जितलाई प्रतिबिम्बित गर्ने यो चाडलाई लिएर सुख र दुःख दुवै किसिमका गीतहरू गाइएका छन् ।

हुने खानेहरूका लागि दसैं हर्ष र उल्लासको चाड हो भने गरिब र विपन्नहरुका लागि दशा । अरुबेला नसके पनि दसैंमा ऋण काढेरै भए पनि मिठो मसिनो र एकसरो कपडाको जोहो गर्ने प्रयास गर्छन् सबैले । र, ती मानिसका लागि दसैं दशा पनि हुनसक्छ ।

अनि दसैंसँग जब दशा शब्द जोडिन्छ, योगेश्वर अमात्यको आजभन्दा करिब २० वर्षअघि रेकर्ड भएको गीत ‘दसैं नै हो कि यो मेरो दशा’ सम्झना धेरैलाई हुन्छ । 

दसैं पो हो कि यो मेरो दशा
फर्कि आएको 
वर्ष नै पिच्छे किन यो मेरो टाउको खाएको ? 
दसैं आएको 

हर्षोल्लासका साथ मनाउनु पर्ने चाडमा यस्तो गीत गाएकोमा योगेश्वर अमात्य आफैं खुसी छैनन् ।

‘अहिले बेकारमा यो गीत गाएछु भन्ने हुन्छ, यो गीत सुन्दा म आफैंलाई पनि नरमाइलो लाग्छ’, उनले भने ।



दसैं हिन्दु नेपालीहरुको महान् चाड तथा वर्षमा एक दिन आउने भएकाले खुसी भएर मनाउनु पर्छ भन्ने उनको मान्यता छ । उनी भन्छन्, ‘हुन त यसले घरको मुख्य मान्छेलाई धेरै जिम्मेवारी थोपर्छ तर यो त खुसीको चाड हुनु पर्ने हो ।’

गीत सार्वजनिक भइसकेपछि केही शुभचिन्तकले पनि गीतका शब्दलाई लिएर आलोचना गरेका थिए । यो गीत कतै बजेको सुन्दा खल्लो लाग्छ उनलाई ।



कोरोना संक्रमणको महामारीमा यो वर्ष भने उनलाई यो गीतको खुबै सम्झना भइरहेको छ । त्यसो त गीत गाएकोप्रति उनलाई अहिले पनि पश्चताप छ । गीतमा प्रयोग भएका शब्दले अहिले पनि उत्तिकै ‘बोर’ लाग्छ । तर, गीतको पहिलो लाइनलाई सबैले बुझेर मनन गर्नुपर्ने उनको बुझाइ छ । 

‘विश्वभर महामारीका रुपमा फैलिएको कोभिडले संसारलाई उथलपुथल गराइदिएको छ । अहिलेको अवस्था पूरै फरक छ,’ फरकधारसँगको टेलिफोन सम्पर्कमा अमात्यले भने, ‘अहिले हामी धेरै सजग हुनु आवश्यक छ । सावधानी अपनाएनौं भने दसैं दशा हुनसक्छ ।’

अहिले प्रकृतिले हामी सबैको परीक्षा लिइरहेको छ । यस्तो बेला हामी धेरैभन्दा धेरै सचेत हुनुपर्ने भएको छ । भन्छन्, ‘यो दसैंमा हामी तडकभडक गर्नु ठीक छैन । हामी जहाँ छौँ, त्यहीँ आफ्नो परिवारसँग सुखदुःख साटेर मनाऔँ ।’

उनी हरेक दसैंमा टीका थाप्न थुप्रै आफन्तकहाँ जान्थे, तर यो वर्ष उनी घरैमा मात्र दसैं मनाउने योजनामा छन् । आफू मात्र होइन अरुलाई पनि आफूकहाँ टीका थाप्न नआउन अनुरोध गरिसकेका छन्, उनले ।

‘अब हेर्नुस् है, घरमा कोही आइहाल्यो भने किन आइस् यस्तो समयमा भन्न पनि सकिँदैन, आफूलाई मनै नपरेको भए पनि,’ उनले सुनाए, ‘त्यसैले मैले अस्ति नै आफन्तहरूलाई यसपालि घरमा टीका थाप्न नआउन अनुरोध गरिसकेँ ।’

योगेश्वर हरेक वर्षको दसैंमा आफ्ना अग्रज र नातेदारहरूसँग मिलेर दुई ठाउँमा बलि दिन्थे । एउटा उनकै बाजेले स्थापना गरेको विशालबजारस्थित महालक्ष्मी मन्दिरमा र अर्को नेवारी समुदायभित्रै । तर यो वर्ष उनले दुवै ठाउँमा बलि नदिने सोच बनाएका छन् । यसका लागि उनी बाजे र नातेदारहरूसँग सरसल्लाह गर्दै छन् । 

‘परम्परा र संस्कृति धेरै महत्त्वपूर्ण हुन्छ । तर, हामीले अवस्था र परिस्थितिलाई मध्यनजर गर्दै संस्कृति र परम्परालाई मान्नु पर्ने हुन्छ । यो वर्ष अवस्था निकै जटिल छ,’ उनी हामी सबै सचेत र जिम्मेवार हुनुपर्ने बताउँछन्, ‘त्यसैले हामीले यो वर्ष मन्दिरमा बलिको साटो हाँसको फूल मात्र चढाउने योजना बनाएका छौं ।’

सबैभन्दा महत्त्वपूर्ण कुरा हाम्रो स्वास्थ्य हो । स्वास्थ्य नै ठीक छैन भने अरु जेसुकै भए पनि त्यो निरर्थक हुन्छ । हामी रहे मात्र हाम्रो रीतिस्थिति र संस्कृति रहने उनको परिपक्व बुझाइ छ । ‘हाम्रो घरमा वृद्ध र रोगी सदस्यहरु हुन्छन्, जो कोरोनाको एकदमै जोखिममा हुन्छन्,’ उनी भन्छन्, ‘हामी आफूलाई त केही नहोला रे, हाम्रो कारणले उहाँहरुलाई गाह्रो हुन्छ । यो कुरा हामी सबैले बुझ्नु पर्छ । 

घरमै बसेर पनि धेरै हर्षोल्लास साथ दसैं मनाउन सकिन्छ । परिवारसँग मात्रै बसेर चाड पर्व मनाउनुमा पनि छुट्टै सौन्दर्य रहेको उनको धारणा छ । भन्छन्, ‘घरमै बसेर कुनै चाडपर्व मनाउँदा परिवारका सबै सदस्यसँग रमाइलो गर्ने समय र अवसर मिल्छ । घरमै मनाउँदा भागदौड र धपेडी पनि हुन्न ।’

हरेक चुनौतीले अवसर पनि सँगै ल्याएर आएको हुन्छ । कोरोनाले पनि केही अवसर र मौका ल्याएर आएको उनको बुझाइ छ । ‘परिवारसँग यसरी बस्न नपाएको धेरै वर्षौं भइसकेको थियो । लकडाउनले परिवारसँग यसरी समय बिताउने मौका अब सायदै पाइन्छ,’ उनले भने ।

  • प्रकाशित मिति : कात्तिक ६, २०७७ बिहीबार १५:३४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया