'आफ्नै कार्यकर्ताको हत्या हुँदा समेत जाहेरी नबुझ्ने सरकारबाट जनताले के आशा राख्ने ?'

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पर्सामा स्थानीय समूहबीच गत कात्तिक ६ मा झडप भएको घटनामा प्रहरीले कारबाही अगाडि नबढाएकोमा ध्यानाकर्षण भएको जनाएको छ । 

पार्टीका तर्फबाट विज्ञप्ति जारी गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री एवं नेकपा अध्यक्षको ध्यानाकर्षण गराएका हुन् । उनले आफ्नै कार्यकर्ताको हत्या हुँदा समेत जाहेरी नबुझ्ने सरकारबाट जनताले के आशा राख्ने भन्दै प्रश्न गरेका छन् । 

‘सत्तारूढ दल नेकपाको स्थानीय दुई समुह बिच पर्सा जिल्लामा कात्तिक ६ गते बिहीबार झडप भएको, एक घाइतेको उपचार क्रममा निधन भएको र दोषीमाथि कार्वाहीको जाहेरी बुझ्न प्रहरीले अस्वीकार गरेको र मृतकको शव अझै अस्पतालमा रहेकोे सार्वजनिक समाचार विवरणप्रति नेपाली कांग्रेसको ध्यान गम्भीरतापूर्वक आकृष्ट भएको छ,’ प्रवक्ता शर्माले शनिबार जारी गरेको विज्ञप्तिमा भनिएको छ । 

नागरिकको जीवन रक्षा राज्यको प्रथम कर्तव्य हुनुपर्ने भन्दै शर्माले नेकपाको सरकार बनेपछि मुलुकमा शान्ति सुरक्षाको स्थिति गम्भीर बन्दै गएको बताएका छन् । 

पर्साको घटना विवरण अत्यन्तै दुःखद रहेको भन्दै प्रवक्ता शर्माले पर्सा घटनाको वास्तविकता तत्काल छानविन गर्न तथा दोषीलाई कार्वाहीको दायरामा ल्याउन माग गरेका छन् । 

घटनाका दोषीलाई कुनै गुटगत संरक्षण नदिई कानुनी कारबाहीको कठघरामा उभ्याउनु राज्यको दायित्व भएको भन्दै शर्माले भनेका छन,  ‘तर ३ दिन पुग्दासम्म जाहेरी समेत नलिएर, नारायणी अस्पतालमा मृतकको शव रहिरहनु दुःखद र निन्दनीय छ ।’





  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १८:१४:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया