वरुण चम्किँदा दिल्लीमाथि कोलकत्ताको सहज जित

इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत शनिबार भएको खेलमा कोलकत्ता नाइटराइडर्सले दिल्ली क्यापिट्ल्सलाई ५९ रनले पराजित गरेको छ ।

कोलकत्ताले दिएको १९५ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३५ रन मात्र बनाउन सक्यो । वरुण चक्रवर्तीको घातक बलिङ सामु दिल्लीका कुनै पनि ब्याट्सम्यान टिक्न सकेनन् ।

खराब सुरुवात गरेको दिल्लीका लागि कप्तान श्रेयस अय्यर र ऋषभ पन्तले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै टोलीको पारीलाई उकास्ने प्रयास गरे पनि त्यो पर्याप्त बन्न सकेन । ११.२ ओभरमा चक्रवर्तीको बलमा शुभमन गिलको हातबाट क्याच आउट हुनु अगाडि पन्तले २७ रनको योगदान दिए ।

१३.३ ओभरमा चक्रवर्तीको बलमा कमलेस नगरकोटीको हातबाट क्याच आउट हुनुअघि अय्यरले ४७ रनको योगदान दिए । रवीचन्द्र आश्विनले अविजित १४ रनको योगदान दिए । 

कोलकत्ताका लागि वरुण चक्रवर्तीले ५, प्याट कमिंसले ३ तथा लोकी फर्गुसनले १  विकेट हात पारे ।

अबुधाबीस्थित शेख जायद क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १९४ रनको योगफल तयार पारेको थियो । खराब सुवात गरेको कोलकत्ताका लागि नितिस राना र  सुनिल नारायनले चौथो विकेटका लागि उत्कृष्ट साझेदारी गर्दै सम्मान जनक स्थितिमा पुर्‍याएका थिए ।



कुनै समय ४२-३ को कमजोर स्थितिमा रहको कोलकत्ताका लागि राना र नारायनले ११५ रनको साझेदारी गरेका थिए । १६.४ ओभरमा कागिसो रावडाको बलमा अजिंका राहाणेको हातबाट क्याच आउट हुनुअघि नारायनले ३२ बलको सामना गर्दै ६ चौका र ४ छक्काको मदतमा ६४ रनको पारी खेले । 

 १९.५ ओभरमा मार्कस स्टोनिसको बलमा तुषार देशपाण्डेको हातबाट क्याच आउट हुनु अघि ५३ बलको सामना गरेका रानाले १३ चौका र १ छक्काको मदतमा ८१ रनको पारी खेले । कप्तान इयान मोर्गनले १७ रनको योगदान दिए ।  



दिल्लीका लागि कागिसो राबडा, एनरिच नोत्जे र मार्कस स्टोनिसले समान २–२ विकेट हात पारे । 

हारसँगै दिल्लीले शीर्ष स्थानमा उक्लिने मौका गुमाउँदा कोलकत्ताले प्ले अपको सम्भावनालाई बलियो बनाएको छ । कोलकत्ता १२ अंकको साथमा चौथो स्थानमा छ ।

  • प्रकाशित मिति : कात्तिक ८, २०७७ शनिबार १९:५८:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया