यसपाली सन्दीप बेञ्चमै सीमित हुनु स्वभाविक हो, हेर्नुहोस् यी कारण

विश्वका क्रिकेट प्रेमीहरुले निकै रुचाउने फ्रेन्चाइज लिग हो इन्डियन प्रिमियर लिग (आइपिएल)। फ्रेन्चाइज लिगमध्ये सबैभन्दा ठूलो मानिने आइपिलमा विश्वभरका उत्कृष्ट क्रिकेटरहरुको प्रदर्शन हेर्न पाइन्छ। सन २००८ बाट सुरु भएको आइपिएल भारतीय क्रिकेट कन्ट्रोल बोर्डको आयोजनामा हुने गर्छ।  यसको सुरुवात देखिनै नेपालमा पनि क्रिकेटप्रेमीहरुका लागि यो लोकप्रिय थियो नै। 

पछिल्ला तीन सालमा भने आइपिएलको चर्चा नेपालमा क्रिकेट प्रेमीमाझ मात्रै सीमित भएन। आम नेपालीको चासो यस लिगमा भयो। कारण हो आइपिएल फ्रेन्चाइजमध्येको एक टोली तल्कालीन दिल्ली डेयरडेभिल्स्ले नेपालका युवा क्रिकेटर सन्दीप लामिछानेलाई भित्र्यायो। 

उदयीमान लेग स्पीनर सन्दीपलाई दिल्लीले लिएपनि दिल्लीले मैदानमा उतारेन। आइपिएलको मैदानमा सन्दीपले बलिङ गरेको हेर्ने आशामा रहेका नेपाली समर्थकहरु निराश बने। लिग चरणका १४ खेलमा ११ खेल खेल्दासम्म दिल्ली प्लेअफको दौडबाट बाहिरी सकेको थियो। अन्तिम तीन खेलमा सन्दीपले खेल्ने मौका पाए। 

सन्दीप आइपिएलको मैदानमा 

१२ मे २०१८ मा बरुण जेट्ली रंगशाला दिल्लीमा पहिलो पटक सन्दीप आइपिएलको मैदानमा उत्रिए। दिल्लीले बैग्लोरसँग प्रतिस्पर्धा गर्दै थियो। पहिलो खेलमा नै सन्दीपले राम्रो प्रदर्शन गरे। उनले बैंग्लोरका ओपनिङ ब्याट्सम्यान पार्थिव पटेललाई एलबीडब्लू आउट गरे। ४ ओभरमा २५ रन दिए। दिल्लीले यो खेल ५ विकेटले गुमाए पनि सन्दीपको राम्रो चर्चा भयो। 



त्यसपछि १८ मेमा चेन्नईविरुद्ध पनि सन्दीपले ४ ओभरमा १ विकेट लिएर २१ रन मात्रै दिए। उनले चेन्नईका सुरेश रैनालाई क्याच आउट गराएका थिए। यस खेलमा दिल्ली ३४ रनको जित निकाल्न सफल भयो। 

२० मे मा मुम्बई इन्डियन्सविरुद्ध उत्रिएका सन्दीपले प्रभावशाली प्रदर्शन गर्न सफल भए। ४ ओभरमा ३६ रन दिए पनि मुम्बईका महत्वपूर्ण तीन विकेट लिए। पहलिो ओरमै मौका पाएर ओपनर ब्याट्सम्यान सूर्य कुमार यादवलाई आउट गराएका सन्दीपले किरोन पोलार्ड र क्रुनल पाण्डेलाई पनि आउट गराए। यस खेलपछि विश्व क्रिकेटमा सन्दीपमाथि धेरैको आँखा पर्‍यो।



आएपिएलको यसै प्रदर्शनका आधारमा उनले क्याराबिन प्रिमियर लिग, बिगबास, पाकिस्तानी सुपर लिग लगायल थुप्रै प्रतियोगितामा अवसर पाए। धेरै प्रतियोगितामा सन्दीपले राम्रै छाप छोड्न सफल भए। पछिल्ला वर्षहरुमा पनि ती लिगमा स्थान पाइरहेका छन्। 

आइपिएल २०१९ मा सन्दीप

गत सालको आइपिएलमा सन्दीपले दिल्लीको तेस्रो खेलबाट टोलीमा मौका पाएका थिए। लगातार ४ खेल खेलेपछि उनी टोलीमा परेनन्। त्यसपछि दिल्लीले ३७औं खेलमा पञ्जाबविरुद्ध खेल्ने मौका पाए। यसमा उनले ३ विकेट लिन सफल भए। पछि उनले बैंग्लोरविरुद्धको खेलमा पनि मौका पाएका थिए। यसमा ३ ओभर बलिङ गर्न पाएका उनले ३६ रन दिएर कुनै विकेट लिएनन्। 

गत सिजन उनले ६ खेलमा २३ ओभर बलिङ गर्दा ८ विकेट लिन सफल भएका थिए। 

किन खेल्न पाएनन् यसपाली ?

२० लाख भारतीय रुपैयाँमा ३ वर्षका लागि दिल्लीमा आवद्ध भएका सन्दीपको यो अन्तिम सिजन हो।  यस सिजनमा पनि सन्दीपले दिल्लीबाट कही खेलमा भएपनि मौका पाउलान् भन्ने अनुमान नेपाली क्रिकेट प्रेमीको थियो। 
तर लिग चरणका १३ खेल खेलि सक्दासम्म बेञ्चमै सीमित छन्। अब लिग चरणको बाँकी एक खेलमा पनि सन्दीप खेल्न पाउने सम्भावना ज्यादै न्यून छ। १३ खेल खेल्दा ७ मा जित र ६ मा हार व्यहोरेको दिल्ली १४ अंकका साथ तेस्रो स्थानमा छ।  आज हुने बैंग्लोर विरुद्धको खेल जितेमा दिल्ली प्ले अफमा पुग्नेछ । हारेमा अरु टोलीको अंकमा निर्भर हुनुपर्ने देखिन्छ। 

क्यारेबिन प्रिमियर लिगमा राम्रो प्रदर्शन गरेर आइपिएल खेल्न त्यतैबाट युएई पुगेका सन्दीपले यस सिजनमा त्यहाँकै पदर्शनका आधारमा पनि मौका पाउँछन् की भन्ने अपेक्षा नेपाली समर्थकको थियो। अर्कोतर्फ दिल्लीले यस सिजन मात्रै रविचन्द्र आश्विनजस्ता स्पीनरलाई टोलीमा भित्र्याएका कारण अक्सर पटेल र अमित मिश्रा समेत दिल्लीमै रहँदा सन्दीप प्लेइङ ११ मा पर्न मुस्किल रहेको कोणबाट पनि चर्चा भएको थियो। 
सन्दीपले यस पटकको खेलमा मौका नपाउनुका केही खास कारण बारे चर्चा गरौँ। 

प्लेइङ ११ मा परेका अन्य विदेशी खेलाडीको प्रदर्शन 

आइपिएलको नियम अनुसार एउटा खेलमा ४ जना मात्र विदेशी खेलाडी खेलाउन पाइन्छ। दिल्लीले सुरुदेखि नै ४ विदेशी खेलाडीलाई नै विदेशी  खेलाडीलाई मात्रै टोलीमा समेटिरहेको छ। दक्षिण अफ्रिकाका फास्ट बलर कागिसो राबडा, दक्षिण अफ्रिकाकै मध्यम फास्ट बलर एनरिच नोत्जे, अस्ट्रेलियाका मार्कस स्टोनिस र वेस्ट इन्डिजका सिम्रोन हेटमायर दिल्लीबाट खेलिरहेका छन्। नियमित विकेट किपर ऋषभ पन्त घाइते हुँदा हेमायरको सट्टामा विकेट किपिङमा लागि अस्ट्रेलियका एलेक्स केरीले केही खेलमा मौका पाएका थिए। 

रबडाले २३  र नोत्जेले १६ विकेट लिएका छन्। अलराउन्डर मार्कस स्टोनिसले २ अर्धशतक सहित २३९ रन बनाउदा ८ विकेट लिएका छन्। केही कमजोर प्रदर्शन गरेका हेटमायरले १३८ बनाएका छन्। दिल्लीले हेटमायरलाई उत्कृष्ट फिल्डिङ तथा पावर हिटका कारण खेलाइ रहेको छ।

विशेष गरी दुई विदेशी बलरले निकै राम्रो प्रदर्शन गरिरहेकाले तिनको विकल्प सन्दीपलाई समावेश गर्न सम्भव नभएको हो। 

स्पीनर भारतीय, फास्ट बलर विदेशी 

दिल्लीमा विदेशी खेलाडीमा स्पीनर सन्दीप मात्रै छन्। यस टोलीमा रविचन्द्र आश्विन अक्षर पटेल र अमित मिश्रा तीन जनामा राम्रा स्पीनर छन् र तीन जना भारतीय हुन्। तीब्र गतिका दुई विदेशी बलर रबाडा र नोत्जेले राम्रो प्रदर्शन गरिरहका छन्। उनीहरुको दाजोँमा दिल्लीमा तीब्र गतिका भारतीय बलर छैनन्। गत सिजनमा वेस्ट इन्डिजका किमो पाउलको विकल्पमा सन्दीपले अवसर पाउने गर्थे।

 सन्दीपलाई खेलाउँदा दुई बलर रबडा र नोत्जेले मध्ये एकलाई निकाल्नु पर्ने भएकाले पनि सन्दीप टोलीमा पर्न  नसकेका हुन्। टोलीका लागि महत्वपूर्ण योगदान गरिरहेका बलरलाई निकालेर सन्दीपलाई खेलाउने रिक्स लिन दिल्ली तयार हुने कुरै भएन।  यदी दिल्लीमा राम्रा भारतीय फास्ट बलर भएको भए स्पिनरका रुपमा सन्दीपले मौका पाउने सम्भावना धेरै हुन्थ्यो।  

सन्दीपको ब्याटिङ क्षमता कमजोर

लेग स्पीनमा राम्रो दखल भएका सन्दीपमा ब्याटिङ क्षमता खासै छैन। सन्दीपको तुलनामा मिश्रालाई छाडेर दिल्लीका दुई स्पीनर पटेल र आश्विन परेका बेलामा राम्रो ब्याटिङ पनि गर्न सक्छन्। पटेल त झन दिल्लीका महत्वपूर्ण अलराउण्डर नै हुन्। टोली संकटमा परेका बेला ठूला सट खेली स्कोर उकास्न पटेल माहिर छन्। 

यसै सिजनमा पनि चेन्नईसँगको खेलमा अन्तिम ५ बलमा १५ रन चाहिएको अवस्थामा पटेलले लगातार छक्का प्रहार गर्दै टोलीलाई जितसम्म पुर्‍याएका थिए। अस्ट्रेलियाका अलराउण्डर मार्कस स्टोनिस पनि बलिङ ब्याटिङ दुवैमा राम्रो प्रदर्शन गर्न सक्ने खेलाडी हुन्। दिल्लीका यस सिजनका केही खेलमा निर्णयक भूमिका खेलेको उनलाई हटाएर सन्दीपलाई समावेश गर्ने दिल्ली तयार हुने कुरै भएन। ब्याटिङमा पनि राम्रो दखल भएको भए सन्दीपले यसपाली खेल्न पाउने सम्भावना हुन्थ्यो। 

दिल्लीको हार व्याटिङका कारण

सुरुका खेलमा लगातार जित निकाल्दै तालिकाको शीर्ष स्थानमा रहेको दिल्लीले पछिल्ला खेलमा लगातार हार व्यहोरेको छ। दिल्लीले हार व्यहोरेका खेलमा बलिङको कारण नभई ब्याटिङमा कमजोर प्रदर्शन गर्नु रहेको छ। यदी बलिङमा कमजोर प्रर्दशनका कारण हार व्यहोरेको भएमा प्रयोगका लागि सन्दीपले मौका पाउन सक्थे। 

सन्दीप सस्तो खेलाडी  

दिल्लीमा सन्दीप सबैभन्दा सस्ता विदेशी खेलाडी हुन्। ८ विदेशी खेलाडीको तुलनामा सन्दीपको मूल्य निकै न्यून छ। दिल्लीका ८ विदेशी खेलाडी र मूल्य

सिम्रोन हटमायर (वेस्टइन्डिज)  : ७ करोड ७५ लाख
मार्कस स्टोनिस (अस्ट्रेलिया)  : ४ करोड ८० लाख
कागिसो रबाडा ( द.अफ्रिका)  : ४ करोड २० लाख
एलेक्स केरी(अस्ट्रेलिया)   : २ करोड ४० लाख 
क्रिस वोअक्स (इङ्लयाण्ड)  : १ करोड ५० लाख​  
जोन्सन रोय (इङ्ल्याण्ड)  : १ करोड ५० लाख

किमो पाउल (वेस्टइन्डिज)  : ५० लाख
सन्दीप लामिछाने (नेपाल)  : २० लाख

दिल्लीमा सबैभन्दा कम मूल्य २० लाख भएका सन्दीप, हर्सल पटेल र यस सिजन टोलीमा समेटिएका तुशार देशपाण्डेय गरी तीन जना छन्। इङल्याण्डका क्रिस वोअक्स र जोनसन रोय प्रतियोगितामा सामेल नहुने भएपछि दिल्लीले क्रिस वोअक्सको ठाउँमा दक्षिण अफ्रिकाका फास्ट बलर एनरिच नोर्त्जे र रोयको ठाउँमा अस्ट्रेलियाका अलराउण्डर डेलियल साम्सलाई समावेश गरेको थियो । साम्स पनि बेञ्चमै सीमित छन् । 

दिल्लीले त्यति महंगा  खेलाडीहरु समेत बेञ्चमै सीतित गरिरहेको छ सबैभन्दा सस्ता सन्दीपलाई नखेलाउनु स्वभाविक नै हो। 

अर्को सिजनमा पाउलान मौका ?

तीन वर्षको करार अवधि सकिएकाले अर्को सिजन दिल्लीले सन्दीपलाई रिलिज गर्नुपर्ने हुन्छ। त्यसमा सन्दीपको मूल्य कति हुन्छ र कुनै टोलीले भित्र्याउने इच्छा राख्छन् की राख्दैनन् त्यो महत्वपूर्ण हुन्छ।

विश्व क्रिकेटका हाल चल्तीका लेग स्पीनरमा सन्दीप राम्रो प्रदर्शन गर्नसक्ने उदयीमान खेलाडीको रुपमै गनिन्छन्। यस्तो अवस्थामा सन्दीपलाई कुनै टोलीले लिन सक्ने सम्भावना धेरै नै रहन्छ। अहिलेकै सेटिङलाई कायमै राख्ने हो भने दिल्लीले भने आगामी सिजनमा सन्दीपलाई टोलीमा लिने सम्भावना कम छ।  
 

  • प्रकाशित मिति : कात्तिक १७, २०७७ साेमबार १०:३८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया