तुलसीपुर नगरले सुरु गर्यो ‘स्मार्ट छोरी’ योजना

दाङको तुलसीपुर उपमहानगरपालिकाले ‘स्मार्ट छोरी’ योजना अघि सारेको छ । योजनामार्फत उपमहानगरपालिकाले नगरवासीका घरमा छोरी जन्मिएदेखि हरेक महिना १ सय रुपैयाँ बैंक खातामा जम्मा गरिदिने भएको छ ।

कार्यपालिकाको हालै बसेको बैठकले नारीको आर्थिक र सामाजिक सशक्तीकरणका लागि ‘स्मार्ट छोरी : बिहेवारी २० वर्षपारि’ कार्यविधि पारित गरेसँगै यो योजना लागू हुने भएको हो । कार्यक्रम सञ्चालनका लागि उपमहानगरपालिकाले चालू आर्थिक वर्षमा बजेटसमेत विनियोजन गरिसकेको छ ।

कार्यविधि अनुसार २०७७ साउन १ गतेपछि उपमहानगरपालिकाभित्र जन्मिएका छोरीको बैंक खातामा रकम जम्मा हुने उपप्रमुख माया शर्माले जानकारी दिएकी छन् । कार्यक्रममा समावेश हुन अभिभावकले छोरी जन्मिएको ३५ दिनभित्र जन्मदर्ता गराएको हुनुपर्नेछ । 

कार्यविधिमा छोरी जन्मेको पहिलो महीना १ हजार २०० रुपैयाँ र त्यसपछि हरेक महिना १ सयका दरले खातामा रकम जम्मा हुनेछ । उपमहानगरपालिकाले बालिकाको नाममा खोलेको खातामा अभिभावकले समेत रकम जम्मा गर्न सक्ने व्यवस्था गरेको छ ।

बालिका २० वर्ष पुगेपछि एकमुष्ट रूपमा रकम निकाल्न सकिने प्रावधान छ । त्यसका लागि २० वर्ष नपुग्दासम्म बिहे नगरेको र अनिवार्य रूपमा माध्यमिक तहसम्म अध्ययन गरेको हुनुपर्नेछ । उमेर नपुगी विवाह गरेमा या माध्यमिक तहसम्म पढेको नभएमा सो रकम सरकारी खातामा फिर्ता हुने उल्लेख छ । तत्काललाई मासिक  १ रुपैयाँ जम्मा गरिने भए पनि आवश्यकता अनुसार कार्यविधि परिवर्तन गरेर रकम बढाइने समेत उपमहानगरपालिकाले बताएको छ ।


 





  • प्रकाशित मिति : कात्तिक २०, २०७७ बिहीबार १७:५९:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया