५ नेताको पत्रमा ओलीको तोक,  प्रचण्डले बोलाए बैठक
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको सचिवालय बैठक नबोलाएपछि कार्यकारी अध्यक्षको समूहले आज ४ बजेका लागि बैठक बोलाएको छ । नेकपाका बहुमत  सचिवालय सदस्यहरुले २२ कार्तिकमा प्रधानमन्त्री ओलीलाई बालुवाटारमा भेटेर सचिवालय बैठक बोलाउन आग्रह गर्दै पत्र दिएका थिए। 

उनीहरुले ओलीलाई ४८ घण्टे अल्टिमेटम समेत दिएका थिए । उक्त अल्टिमेटम सोमबार सकिए पनि ओलीले बैठक नबोलाएपछि प्रचण्ड लगायतका सचिवालयका नेताहरु आज छलफलमा बस्न लागेका हुन् । अध्यक्ष प्रचण्ड, बरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम र नारायणकाजी श्रेष्ठ आज दिउँसो ४ बजे पुनः छलफलमा जुट्ने तयारीमा लागेका हुन्। बैठक बालुवाटारमा बोलाइएको छ । 

एक नम्बरका अध्यक्ष ओलीले फेरि पनि बैठक नबोलाए २ नम्बरका अध्यक्ष प्रचण्डले नै बैठक बोलाउने विषयमा पनि छलफल भएको स्रोतले जानकारी दिएको छ । यसबारे नेकपाका नेताहरुले भने मुख खोलेका  छैनन् । ओलीले यसअघि भएको वार्तामा प्रचण्डसँग आफ्नो सहमतिबिना बैठक बोलाइए पार्टी फुटको बिन्दु त्यही हुने चेतावनी दिइसकेका छन्। 

नेकपाभित्र विवाद पेचिलो बन्दै गएपछि ओलीले सोमबार पार्टी महासचिव विष्णु पौडेललाई प्रचण्डनिवास खुमलटार पठाएका थिए । जसमा पाँच सदस्यले पठाएको पत्रमा तोक लगाएर ओलीले विधानअनुसार गर्नू भनेका थिए । तर, महासचिव पौडेलले कुनै ‘मूर्त सन्देश’ नल्याएको भन्दै प्रचण्डले बैठकभन्दा पनि सहमति खोजेको बताएका थिए ।
पत्रको माथि पहिलो वरियताका अध्यक्षका हिसाबले ओलीले ‘विधानअनुसार बैठक डाक्ने तयारी गर्नू भन्ने व्यहोराको ‘तोक’ लगाएको खुमलटार स्रोतले जानकारी दियो । त्यही पत्र बोकेर महासचिव पौडेल खुमलटार पुगेका थिए। 





  • प्रकाशित मिति : कात्तिक २५, २०७७ मंगलबार १४:३१:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया