आज चितवनको राप्ती नगरपालिका नगर कमिटीको बैठकमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता सुरेन्द्र पाण्डेले बोल्दाबोल्दै केही युवाहरुले उनीविरुद्ध नारा लगाए । उनलाई कार्यक्रमबाट लखेट्न पनि प्रयास गरिएको थियो ।
यसबारे नेकपाका नेताहरुले भत्र्सना गरिसकेका छन् । पूर्वप्रधानमन्त्री तथा नेकपा वरिष्ठ नेता माधवकुमार नेपालले यसरी हुलदंगा गर्नेहरुलाई पहिचान गरेर तत्काल कारवाही गर्नु पर्ने माग राखेका छन् । त्यस्तै नेकपा वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले पनि यसको विरोध गरेका छन् ।
चितवनमा कार्यक्रम सकेर पाण्डे काठमाडौं फर्किँदै गर्दा हामीले शनिबार साँझ उनीसँग सम्पर्क गर्यौँ । फरकधारसँगको लामो कुराकानीमा पाण्डेले घटनाको भत्र्सना गरे ।
उनले भने–
राप्ती नगरपालिका नगर कमिटीको बैठक थियो ।
मेरो बोल्ने पालो आयो । मभन्दा अगाडिका वक्ताले नेकपामा कार्यदलले कसरी काम गर्यो, के भयो भन्ने विषयमा केही प्रश्नहरु राख्नु भएको थियो ।
मैले बोल्दा ती प्रश्नहरुको जवाफ दिनुपर्छ भन्ने लाग्यो ।
मैले बोल्न थालेँ ।
कार्यदलले अहिले फाउन्डेसनहरु नबनाउने भनेको थियो, स्थायी कमिटीले पनि त्यो प्रस्तावलाई पारित गरेको थियो । मैले कार्यक्रममा कार्यदलले यो यो आधारमा यस्तो गरेको हो भन्न खोज्दै थिएँ ।
अचानक त्यहाँ केही केटाहरु नारा लगाउन उठे । उनीहरुले मदन भण्डारी फाउन्डेसन जिन्दावाद भन्न थाले । अनि केपी ओली जिन्दावाद भन्ने नारा लगाउन थालेँ ।
त्यहाँ केही केटाहरु कार्यक्रममा म बोल्दाबोल्दै आएका थिए । त्यहाँ नारा लगाउन थालेपछि मैले आफ्नो कुरा छोट्याएँ । बोल्दाबोल्दै बिट मारेँ ।
म आजै काठमाडौं फर्किने योजनामा थिएँ, त्यसैले पहिले पनि त्यहाँ लामो समय बोल्दिनँ भन्नेमा थिएँ ।
तर, मैले आफ्नो कुरा पूरा राख्नै पाइनँ । कतिसम्म भने मैले त्यहाँ मदन फाउन्डेसनको नाम पनि लिन पाएको थिइनँ । हो, बोल्दै जाँदा मदन फाउन्डेसनको पनि नाम लिन्थेँ होला तर जतिबेला त्यहाँ हुलदंगा गरियो, त्यति बेला मैले मदन फाउन्डेसनको नाम पनि लिएको थिइनँ ।
तर, मैले बोल्न नपाउँदै त्यहाँ आएका केटाहरुले जबज जिन्दाबादसमेत भने ।
मलाई थाहा छ, मैले चिनेको छु ती केटाहरु जो त्यहाँ आएका थिए, ती राजनीतिक केटाहरु नै होइनन् । मेरो निर्वाचन क्षेत्रमा नै कार्यक्रम भएको थियो, मैले त्यहाँका सबैलाई चिन्थेँ, जो केटाहरुले आज हुलदंगा गरे, ती त्यहाँका हुँदै होइनन् ।
गैरराजनीतिक ती केटाहरु आएपछि मैले त्यहाँ केही गर्ने कुरा पनि भएन । म हाँसे र मन्चमा बसेँ ।
आजको यो कार्यक्रममा जे भएको हो, त्यो कुनै अर्थमा राजनीतिक घटना होइन । राजनीतिक कुरा हुने ठाउँमा त बहस हुन्छ, छलफल हुन्छ । आज जे घटना भयो, त्यो कसरी राजनीतिक कुरा भयो ?
त्यहाँ भएका केटाहरु कुन अर्थमा मात्र राजनीतिमा जोडिएका छन् भने उनीहरुले केपी ओलीलाई भेट्दा बा भनेर हातमा ढोग्छन् होला, कतिपयले राजनीतिको आडमा गुन्डागर्दी गरिरहेका छन् होला ।
मलाई त लाग्यो, अचानक ती केटाहरु आएर त्यहाँ हल्ला गर्नु थाल्नु भनेको उनीहरुलाई त्यसो गर्न परिचालित गरिएको हो । कसैले उनीहरुलाई कार्यक्रममा गएर बिथोल्नु भनेर अह्राएको हो, कसैले उनीहरुलाई परिचालन गरेको हो । सायद कसैले उनीहरुलाई फोनबाट नै पो परिचालन गरेको थियो कि ?
आज जे भएको छ, त्यो कदापि स्वीकार्य होइन ।
आज जे भएको छ, त्यसले कुनै पनि अर्थमा हाम्रो पार्टीको चरित्र पनि देखाउँदैन । हो, अहिले पार्टीमा विवाद छ, शीर्ष नेताहरुबीच छलफलको माध्यमबाट विभिन्न विषय समाधान हुने सम्भावना पनि उत्तिकै छ ।
तर, केन्द्रमा जे भएको छ, त्यसको प्रतिछायाँ आज चितवनमा देखियो ।
मलाई यो कदापि स्वीकार्य छैन, यो हाम्रो पार्टी र हाम्रो राजनीतिक सँस्कारका लागि स्वीकार्य छैन ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।