कांग्रेससँग सहकार्यका लागि ओलीले बढाए हात
फाइल फोटो

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद बढ्दै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससँग सम्बन्ध विस्तारको प्रयास गरेका छन्।  

प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच शनिबार भेटवार्ता भएको हो । यद्यपी भेटवार्ताबारे दुवै पक्षले औपचारिक जानकारी भने गराएका छैनन् । प्रधानमन्त्री ओली र देउवाबीच भेट भएको काँग्रेस सभापति देउवानिकट स्रोतले पुष्टि गरेको छ। 

‘प्रधानमन्त्रीज्यू र सभापति देउवाबीच हिजो बालुवाटारमा भेट भएको हो । तर, भेटमा के कुरा भयो भन्नेबारे चाहिँ विस्तृतमा थाहा हुन सकेन।’ देउवानिकट स्रोतले भन्यो।  

स्रोतका अनुसार पार्टी विभाजन भएको खण्डमा आफ्नो सरकारलाई निरन्तरता दिने विषयमा प्रधानमन्त्री ओलीले कांग्रेसको साथ खोजेका थिए । देउवाले भने प्रधानमन्त्री ओलीलाई साथ दिने वचन नदिएको देउवा निकट स्रोतको दावी छ। 

स्रोतका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले पनि कांग्रेसका नेताहरुसँग संवाद अघि बढाएकी छिन् ।  सभापति देउवा निकट रहेका र आफ्नो नातेदार पर्ने ज्ञानेन्द्रबहादुर कार्कीसँग भण्डारीले संवाद गरिरहेको स्रोतको दाबी छ । ओली र देउवा भेटबारे प्रधानमन्त्रीको सचिवालय र कांग्रेसले औपचारिक रुपमा जानकारी गराएको छैन । 

ओलीले देउवालाई संवैधानिक निकायको नियुक्तिबारे छलफलका लागि भन्दै ओलीले बालुवाटार बोलाएको स्रोतको दावी छ।  



यसअघि गत असारमा पनि पार्टीमा विवाद भएपछि ओली र उनी निकट नेताहरुले देउवासँग छलफल सरकारलाई साथ दिन आग्रह गरेको कुरा बाहिरिएको थियो । कांग्रेस केन्द्रीय समिति बैठकमा यसबारे प्रश्न उठेपछि देउवाले अहिले सत्तातर्फ कांग्रेसको ध्यान नभएको बताएका थिए। 


 



  • प्रकाशित मिति : मंसिर ७, २०७७ आइतबार १५:१८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया