राजधानीको पूर्वाधार विकासका लागि प्रदेश र नगरपालिकाको सहकार्य
वीरेन्द्रनगर उपत्यका । फाइल फोटो

कर्णाली प्रदेशको राजधानी सुर्खेतको एकीकृत विकासका लागि कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले संयुक्त लगानी गर्ने भएका छन् । उपत्यका क्षेत्रमा निर्माणाधीन सडक, खानेपानी आयोजना, पर्यटकीय क्षेत्रहरू, विमानस्थल निर्माण लगायतमा संयुक्त लगानी तथा सम्बन्धित निकायमा पहल गर्ने बताएका हुन् ।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला, भौतिक पूर्वाधार विकास मन्त्रालय, कर्णाली प्रदेश योजना आयोग, वीरेन्द्रनगर नगरपालिका सम्मिलित बैठकमा राजधानीको विकास संयुक्तरूपमा गर्ने निर्णय भएको हो ।

संघीय र प्रदेश सरकारको संयुक्त लगानीमा समपूरक आयोजनाका रूपमा अघि बढेका सडकहरू एक महिनाभित्र कालोपत्रे गरिसक्ने निर्णय भएको छ । यस्तै वीरेन्द्रनगरमा प्रदेश सरकारसँगको सह–लगानीमा निर्माणमा अघि बढेका सडकहरू तत्काल सम्पन्न गर्ने निर्णय गरिएको छ ।

नगरको गुरुयोजना भित्रका सरकारी कार्यालय क्षेत्रमा कालोपत्रे गर्न बाँकी सडकको टेन्डर प्रकृया तत्काल अघि बढाउने, वीरेन्द्रनगरमा निर्माणाधीन चक्रपथलाई उच्च प्राथमिकतामा दिई निर्माण अघि बढाउने निर्णय गरिएको छ ।

उपत्यकाको खानेपानीको दीर्घकालीन समस्या समाधानका लागि भेरी लिफ्ट खानेपानी आयोजना तत्काल अघि बढाउने, वितरण प्रणालीमा आधुनिक तवरबाट दीर्घकालीन विकास गरी पानी आपूर्तिको ठेक्का लगाउने काम प्रदेश सरकारसँगको सहकार्यमा संघीय खानेपानी तथा ढल व्यवस्थापन कार्यालयले अघि बढाउने निर्णय गरेको हो ।

धुलियाविट बांङ्गेसिमल मुख्य बजार र गुरुयोजना क्षेत्रमा विद्युत् वितरण, सिसिक्यामरा, विद्युतीय तार व्यवस्थापन लगायतका कामहरू नगर र प्रदेशको सह–लगानीमा गर्ने गरी अघि बढाउने, वीरेन्द्रनगरका पर्यटकीय क्षेत्रहरू देउती बज्यै, सहिद पार्क, बुलबुले ताल, काँक्रेविहार लगायतका क्षेत्रहरूको विकासका लागि विषयगत मन्त्रालय सहितको सहभागितामा अघि बढाउने निर्णय गरिएको हो । 



वीरेन्द्रनगर नगरपालिका सँगको साझेदारीसँगै राजधानीका विभिन्न विकास निर्माणका कामहरू तिव्रताका साथ अघि बढ्ने आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए ।

‘यसअघि विभिन्न कानुनी तथा प्रक्रियागत जटिलताका कारण वीरेन्द्रनगरको विकासमा उल्लेखनीय काम हुन सकेको थिएन,’ मन्त्री ज्वालाले भने, ‘तर अब काम तिव्रताका साथ अघि बढ्ने छ । कुनै समस्याहरू आएमा दुवै पक्ष मिलेर त्यसको समाधान गर्नेछौं ।’



साथै उनले चालु आर्थिक वर्षमा वीरेन्द्रनगरको एकीकृत विकासका लागि ५१ करोड रुपैयाँ छुट्याएको समेत जानकारी दिए । सुर्खेतको विमानस्थल विस्तारका लागि पर्याप्त मात्रामा बजेट भएकाले प्रक्रिया तत्काल अघि बढाउन संघीय सरकारसँग पहल गर्ने समेत उनको भनाइ छ । 

यता वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवदीले नगरको स्रोत साधनले भ्याएसम्म सबै काम गर्ने बताए । हाल बजार क्षेत्रमा देखिएका समस्या प्रदेश सरकार तथा अन्य विभिन्न निकायको सहयोगमा समाधानको प्रयास भइरहेको समेत जानकारी दिए । 

  • प्रकाशित मिति : मंसिर ९, २०७७ मंगलबार १७:३७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया