नेकपा फुट्न सक्ने दुई आधार
नेकपाका दुई अध्यक्ष । फाइल तस्वीर

पछिल्लो समय सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा देखिएको विवाद थप उत्कर्षमा पुगेको छ । यसअघि नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनको जवाफ दिन १० दिन मागेका थिए । १३ मंसिरमा बस्ने भनिएको सचिवालय बैठक नजिकिँदै जाँदा नेकपामा दुई अध्यक्ष ओली र प्रचण्डको दूरी चाहिँ झन् झन् बढिरहेको छ ।

यसको प्रमाण हो, यी दुई समूहले बढाएको क्रियाशिलता र गरिरहेका छुट्टाछुट्टै भेलाहरु । 

यहीबीच यी दुई अध्यक्षबीच भइरहेका संवाद पनि अब विस्तारै टुट्न थालेका छन् । केहीअघि सम्म ओलीको सन्देश लिएर प्रचण्डकहाँ पुग्ने ओली पक्षका नेताहरु अहिले प्रचण्डसँग भेट्न पुगिरहेका छैनन् । बरु ओलीनिकट नेताहरु तथा ओली सचिवालयका केही सदस्यहरुले विभिन्न मिडियामा अन्तर्वार्ता दिन थालेका छन् जसले यी दुई समूहबीच समस्या झन् बढाउँदै लगेको प्रष्ट हुन्छ ।

यही समयमा भारतीय विदेश सचिव हर्षबद्र्धन श्रृङ्गलाले दुई दिने नेपाल भ्रमण गरे । उनले नेपालका सबै शीर्ष नेताहरुलाई पनि यो समयमा भेट गरेका छन् । नेपाली राजनीतिमा माइक्रो म्यानेजमेन्ट गर्दै आइरहेको भारतका सचिवको यो भ्रमणलाई पनि नेकपा विवादको सन्दर्भमा जोडेर महत्वपूर्ण रुपमा हेरिएको छ ।

१३ मंसिर नजिकिँदै गर्दा अहिले नेकपाका नेताहरुमा पनि एउटा ठूलो अविश्वास पैदा हुने वातावरण बन्दै गएको छ । नेकपामा दुई अध्यक्षका दुई समूहले गरिरहेका आन्तरिक छलफल त्यसका उदाहरण हुन् । 

आउनुहोस्, आज नेकपा फुट्न सक्ने दुई आधारबारे चर्चा गरौँ ।



पहिलो हो, नेकपामा दुई अध्यक्षले तयार पारिरहेको प्रतिवेदन । 

अहिले नेकपामा दुई अध्यक्षले जुन प्रतिवेदनमा काम गरिरहेका छन्, त्यसबारे सामाजिक सन्जाल तथा विभिन्न मिडियामा विभिन्न टिकाटिप्पणी भइरहेका छन् । नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डले सचिवालयमा प्रस्तुत गरेको प्रतिवेदन अब नेकपाका तल्ला कमिटीहरुमा पुगिसकेको छ । यसले ओली पक्षलाई थप रुष्ट बनाएको छ ।



प्रचण्डको प्रतिवेदनमा ओलीमाथि भ्रष्टाचारलाई संरक्षण गरेको आरोपसमेत लगाइएको छ । यसको प्रत्युत्तरमा ओलीले अहिले लेखिरहेको प्रतिवेदनमा प्रचण्डमाथि आरोपहरु अझ कडा हुनसक्ने अनुमान बाहिरिएका छन् ।

‘यो निकै गम्भीर आरोप प्रत्यारोपको क्रम बढिरहेको छ,’ नेकपाका एक केन्द्रीय सदस्यले फरकधारलाई बताए, ‘यसले हाम्रो पार्टीलाई सही दिशामा गइरहेको छ भन्ने आभास पनि दिन सक्दैन ।’ उनले प्रचण्डले लगाएका आरोपको उत्तरमा ओलीले पनि त्यसभन्दा कडा आरोपलाई ध्यान दिने निश्चित भएको बताएका छन् । 

‘अब आउने ओलीको प्रतिवेदनले प्रचण्डलाई पनि निकै गम्भीर आरोप लगाउने निश्चित जस्तै हो,’ ती केन्द्रीय सदस्यले भने, ‘यसले पार्टी अब के हुने भन्ने अन्योल बढ्दै गएको छ ।’

‘हो, नेकपा फुट्न हुन्न, यसले सम्पूर्ण कम्युनिस्ट आन्दोलनलाई नै कमजोर बनाउँछ भन्ने एउटा तर्क होला तर अहिले भइरहेका गतिविधिले गर्दा नेकपा फुट्दैन भन्न सकिने आधार पनि अहिले छैनन्,’ उनले । 

प्रचण्डको राजनीतिक प्रतिवेदनलाई नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठको पनि समर्थन रहेको छ । यसको अर्थ हो, सचिवालयमा अब दुई प्रतिवेदनमा प्रचण्डको प्रतिवेदनले नै प्राथमिकता पाउने छ । सचिवालयमा अहिले बहुमतमा भएका प्रचण्डको विरोधमा आउने ओलीको प्रतिवेदनको ठूलो आलोचना हुने त्यसैले निश्चित नै छ ।

यसले गर्दा यी दुवै प्रतिवेदन स्थायी कमिटी हुँदै केन्द्रीय कमिटीमा जानसक्ने सम्भावना बढेको छ । 

‘केन्द्रीय कमिटीमा दुई प्रतिवेदन आउनु भनेको एउटा स्वीकार गरिनु हो र अर्को अस्वीकार गरिनु हो,’ नेकपाका ती केन्द्रीय सदस्यले भने, ‘यसले गर्दा एउटा पक्ष अटोमेटिकल्ली ब्याक हुनुपर्छ ।’ उनका अनुसार अहिले ओली पक्ष कमजोर देखिएको छ । ओली पक्ष ब्याक हुनु भनेको प्रधानमन्त्री तथा अध्यक्षमध्ये एक पदबाट ओलीले राजीनामा दिनु बाध्य पार्न प्रचण्ड पक्षलाई सहज हुनु हो । तर, ओलीले बारम्बार अडान लिँदै आएका छन्, उनी दुवै पक्ष छोड्न तयार छैनन् ।

‘त्यस्तो भएको खण्डमा ओलीले पार्टी अलग बनाउन सक्ने सम्भावना बढ्नु हो,’ ती नेताले भने । 

एकातिर नेकपामा यो समीकरण विकास भइरहेको छ भने अर्कोतिर प्रमुख प्रतिपक्ष नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री ओलीको भेट, देउवासँग राष्ट्रपतिको भेटले पनि देउवाले नेकपाको यो विवादमा ओलीलाई साथ दिन सक्ने सम्भावना बढेको छ ।

नेकपा फुट्न सक्ने दोस्रो आधार पनि यही हो ।

‘ओलीसँग भेटका लागि देउवा पुग्दा सत्ता समीकरणको विषयमा चर्चा भएको थियो,’ नेपाली कांग्रेसमा देउवानिकट एक केन्द्रीय सदस्यले फरकधारलाई बताएका छन्, ‘देउवाले केही मन्त्रालय पाउने हो भने उनले पूर्णत ओलीलाई समर्थन गर्ने देखिन्छ ।’

सत्तामा जान देउवा तयार भएको खण्डमा र प्रधानमन्त्रीबाट आफू हट्न नपर्ने निश्चित भएपछि ओलीले कांग्रेसलाई लिएर संसदमा अविश्वासको प्रस्तावलाई पराजित गर्नेछन् । यस्तो भएको खण्डमा उनीविरुद्ध नेकपाकै नेताहरुले अविश्वासको प्रस्ताव ल्याउन सक्नेछन् । अहिले संसदीय दलमा केही संख्या कम भए पनि ओली प्रधानमन्त्री नै रहिरहने खण्डमा उनलाई बहुमत पुर्याउन गाह्रो हुनेछैन । तर, ओलीले अविश्वासको प्रस्ताव फेस गर्ने अवस्थामा पुग्नु भनेको नेकपा फुट्यो भन्ने बुझ्नु भएको नेकपाका ती केन्द्रीय सदस्यले फरकधारलाई बताएका छन् ।

  • प्रकाशित मिति : मंसिर १२, २०७७ शुक्रबार १९:१३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया