बर्दिबासमा बालिका हत्याका अभियुक्त साहविरुद्ध चार मुद्दा दर्ता

महोत्तरीको बर्दिवास नगरपालिका १४ की  ६ वर्षीया बालिका गुलावसा खानुनको हत्याका अभियुक्त अरुण साहमाथि चार मुद्दा दर्ता भएको छ ।

पक्राउ परिसकेका अभियुक्त साहमाथि इलाका प्रहरी कार्यालय बर्दिवासमा शुक्रबार पीडित परिवारले चार मुद्दा दर्ता गराएका हुन् । साहविरुद्ध अपहरण, शरीर बन्धक, जबारजस्ती करणी र कर्तव्य ज्यान मुद्दा दर्ता गरिएको डिएसपी राजन चपागाईंले बताए ।

अभियुक्त साहविरुद्ध चार मुद्दा दर्ता भएपछि पीडित परिवार बालिका खातुनको शव शुक्रबार राति बुझेका थिए । राति नै जनकपुरमा उनको अन्तिम संस्कार गरियो । बालिकाको अन्तिम संस्कार भएपछि बर्दिबास अहिले शान्त बनेको छ । राजमार्ग र बजार समेत शुक्रबारदेखि नै खुलिसकेको छ ।

यसअघि प्रशासनले चार बुँदे सम्झौता गरे पनि अभियुक्तमाथि कुन, कुन मुद्दा चलाउने कुरा स्पष्ट नपारेका कारण पीडित परिवारको चित्त बुझेको थिएन । तर, अभियुक्तमाथि चार मुद्दा दर्ता भएपछि पीडित परिवारले शव बुझेको स्थानीयले बताएका छन् ।

गत सोमबार मध्यरातमा बालिका खातुनको शव बर्दिवास नपा १४ स्थित झाडीमा बोरामा प्याक गरी फालिएको अवस्थामा फेला परेको थियो । घटनापछि मंगलबार बर्दिवासमा पीडित परिवार तथा स्थानीयले उग्र प्रदर्शन गरे । सोही क्रममा प्रहरीले चलाएको गोली लागेर घाइते सञ्जय न्यौपानेको मृत्यु भयो । गोली लागेर घाइते भएका अन्य दुई जना अहिले उपचार गराइरहेका छन् ।

प्रशासनले प्रहरीको गोली लागेर मृत्यु भएका न्यौपानेलाई सहिद घोषणा गर्न सरकारलाई अनुरोध गर्ने, दुवै पीडित परिवारलाई उचित क्षतिपूर्तिका लागि पहल गर्ने, अभियुक्तलाई कडा कारबाही गर्ने र घाइतेको निःशुल्क उपचार सरकारले गर्ने सम्झौता सर्वदलीय बैठकबाट गरेको छ । गृह मन्त्रालयले समेत माग पूरा गर्ने प्रक्रिया सुरु गरिसकेको विज्ञप्तिमार्फत् जनाइएको छ ।



साथीको पनि हत्या गरेका थिए अरुणले

बालिकाको बलात्कारपछि हत्या गरेका अभियुक्त अरुण साह गौशालाका हुन् । तर, उनी पछिल्लो समय बर्दिवासमा घर बनाएर बस्दै आएका थिए । उनले आफ्नै घरमा किराना पसल चलाउँदै आएका थिए । उनको घरमा प्रदर्शनकारीले आगो लगाएर क्षति पुर्‍याएका छन् ।



साह गत वैशाख २८ मा आफ्नै साथी दिलीप ठाकुरको हत्या गरेका थिए । तर पक्राउ परेपछि उनलाई अदालतले मात्र १ लाख धरौटी लिएर छाड्यो । अनि रिहा भएको केही दिनमै फेरि बालिका खातुनको हत्या गरे । अहिले उनी प्रहरी हिरासतमा छन् ।

  • प्रकाशित मिति : मंसिर १३, २०७७ शनिबार १७:५१:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया