महासंघमा ढकालको यात्राः यी हुन् तीन चुनौती

नेपालमा उद्योग वाणिज्य क्षेत्रको सबैभन्दा ठूलो संस्था उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ)ले अब नयाँ नेतृत्व पाएको छ । यसअघिको अधिवेशनमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित शेखर गोल्छा स्वतः अब अध्यक्ष भएका छन् । 

र, यसपटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन्, चन्द्रप्रसाद ढकाल ।

प्रतिद्वन्द्वी किशोरकुमार प्रधानलाई फराकिलो मतान्तरले हराउँदै ढकालले एफएनसिसिआइको नेतृत्वमा आफूलाई पुर्याएका छन् । अब अर्को कार्यकालका लागि उनी स्वतः अध्यक्ष हुनेछन् ।

वरिष्ठ उपाध्यक्षका लागि मतदान हुने भएकाले एफएनसिसिआइमा सबैभन्दा चासोका साथ हेरिन्छ, वरिष्ठ उपाध्यक्षलाई । तर, यसपटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित ढकालका लागि आगामि बाटो सहज देखिएको छैन । किनकि यसपटकको चुनावमा उनी बलियो देखिए, तर उनको प्यानल कमजोर देखियो ।

उनको प्यानलबाट एसोयिटतर्फको उपाध्यक्षमा रामचन्द्र संघाई मात्र निर्वाचित भएका छन् । जिल्ला नगरतर्फ तथा वस्तुगततर्फ चाहिँ ढकाल प्यानलका उम्मेदवारले पराजय भोगे । यी दुवै उपाध्यक्षमा प्रधान प्यानलका दुई उम्मेदवार निर्वाचित भए, दिनेश श्रेष्ठ र अन्जन श्रेष्ठ ।

केन्द्रीय सदस्यमा पनि जिल्ला नगर समूहमा ढकालको उपस्थिति कमजोर भएको छ । जिल्ला नगर समूहबाट केन्द्रीय सदस्यमा उद्योग वाणिज्य महासंघमा १८ जनाको सिट छ । यसमा ढकाल प्यानलभन्दा प्रधान प्यानलबाट निर्वाचित सदस्यको संख्या दोब्बर छ । यसमा ढकाल प्यानलबाट ६ जना निर्वाचित भएका छन् भने प्रधान प्यानलबाट १२ जना । एशोसियट र प्रदेश सदस्यमा पनि प्रधान प्यानलले नै यसपटक बाजी मारेको छ ।
वस्तुगतमा दुवै प्यानलको बराबर मत आएको छ । तर, प्रदेशबाट पनि केन्द्रीय सदस्यमा ढकाल प्यानलभन्दा प्रधान प्यानलका नै बढी सदस्य निर्वाचित भएका छन् । 



वरिष्ठ उपाध्यक्षमा ढकालले जित निकाले पनि उनको टिममा अधिकांश सदस्य अर्को प्यानलबाट निर्वाचित भएपछि उनले एफएनसिसिआइलाई कसरी अगाडि बढाउलान् भन्ने प्रश्न उठ्नु स्वभाविक नै हो । आगामि कार्यकाल ढकालका लागि कति सहज होला वा कति असहज होला ? यो प्रश्न किन पनि उठेको छ भने यसपटक निर्वाचनमा ढकाललाई समर्थन नगरेर अध्यक्ष गोल्छादेखि एफएनसिसिआइका पूर्वअध्यक्षहरुले प्रधानलाई समर्थन गरेका थिए । 

त्यसैले, प्रश्न उठेको छ– एक्लो ढकालले अब एफएनसिसिआइमा के गर्लान् ?



 

पहिलो चुनौती– महासंघमा गुटगत राजनीति

यसपटक एफएनसिसिआइको महाधिवेशनको समयमा निकै धेरै रमाइला दृश्यहरु देखिए । कोरोनाका कारण तोकिएको समयमा महासंघको महाधिवेशन नहुँदा यी दुई पक्षले एकले अर्कोलाई आरोप प्रत्यारोप गरे । 

कतिसम्म भने ढकालले नै महाधिवेशन पछाडि सार्दा अर्को समूहलाई आफूहरुले हार्ने भएकाले निर्वाचन सारेको आरोप लगाए । 

अर्कोतिर, महासंघका नवाघोषित अध्यक्ष शेखर गोल्छा मात्र होइन, निवर्तमान अध्यक्ष भवानी राणादेखि पूर्वअध्यक्षहरु धेरैले यसपटक प्रधानलाई आफ्नो समर्थन रहेको खुला रुपमा ‘एडभोकेट’ गर्दै आए ।

यसले एफएनसिसिआइमा गुटगत राजनीति भएको स्पष्ट संकेत गर्यो । 

हो, निर्वाचित भएसँगै वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले अब महासंघमा प्यानल वा गुट सकिएको बताएका छन् । त्यस्तै, गोल्छाले पनि अब महासंघमा गुट नरहने बताएका छन् । तर, महासंघको इतिहासमा यस्तो देखिएको छैन । पहिले देखि नै महासंघमा गुटगत राजनीति निकै हुँदै आएको छ ।

फेरि यसपटक वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका ढकालको पक्षमा रहेका अधिकांश सदस्यहरु महासंघको कार्यकारिणी सदस्यभन्दा बाहिर रहेका छन् । यसको अर्थ हो, अहिले निर्वाचित अधिकांश सदस्यहरुले अध्यक्ष गोल्छालाई सहयोग गर्नेछन् ।

फलतः यो गुटलाई अन्त्य गर्न वा गुटगट राजनीतिको अन्त्य गर्न ढकाललाई ठूलो चुनौति हुनेछ ।

त्यसमाथि निर्वाचनमा खुलेरै ढकालको विरोध गरेका एफएनसिसिआइ अध्यक्ष गोल्छासँग ढकालको सम्बन्धमा चिसोपना कायम नै रहनेछ ।

त्यसैले अहिले ढकाल र गोल्छा दुवैका लागि सबैभन्दा ठूलो चुनौति हो, एफएनसिसिआइमा गुटगत राजनीति अन्त्य गर्न ।

 

दोस्रो चुनौती– खस्किएको अर्थतन्त्र उकास्नु

नेपाली परिवेश मात्र होइन, अहिले विश्व नै कोरोनाभाइरसका कारण आक्रान्त छ । विश्वका विकासोन्मुख देशहरुको अर्थतन्त्रमा ठूलो समस्या आउन थालिसकेको छ । कतिपय देशका ठूला उद्योग तथा चेन इन्टरप्राइजेजहरु अहिले बन्द भइसकेका छन् । 

जर्मनी, फ्रान्स, इटाली, अमेरिका, चीन र भारतजस्ता देशहरुले आफ्नो अर्थतन्त्र निकै खस्किएको बताएका छन् । 

नेपाल पनि कोरोनाका कारण निकै ठूलो समस्यामा परिसकेको छ । अर्थशास्त्रीहरु नेपाल टाट पल्टिने अवस्थामा पुग्न सक्ने बताइरहेका छन् । यस्तो समयमा गोल्छा अध्यक्ष र ढकाल वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएका छन् । अहिले कोरोनभाइरसले अर्थतन्त्रमा गरेको प्रहारका बाछिटा भोलि ढकाल अध्यक्ष हुँदा पनि रहिरहने निश्चित छ । 

त्यसैले, अहिले खस्किएको अर्थतन्त्र र डामाडोल भएको उद्योगको अवस्थालाई यी दुईले कसरी उठाउनेछन्, त्यसले एफएनसिसिआइको भविष्य निर्धारण गर्नेछ । 

र, यस्तो अवस्थामा देशको अर्थतन्त्र चलायमान बनाउन सबैभन्दा ठूलो भूमिका हुन्छ, उद्योगी व्यापारीको । 

अहिले नेपालमा सञ्चालनमा रहेका करिब साढे ९ लाख साना ठूला उद्योग व्यवसायमा झण्डै ६० प्रतिशत भन्दा बढी आर्थिक मन्दीका कारण संकटमा परेका छन् । भने झण्डैै ३५ लाखको हाराहारीमा मजदुरहरूले रोजगारी गुमाउनुपरेको छ ।

यसलाई सम्बोधन गर्नु सबैभन्दा ठूलो चुनौति हुनेछ, ढकाललाई । किनकि भोलि उनी महासंघको नेतृत्वमा आउँदै छन् । चुनावी माहोलमा ढकालले मझौला तथा साना उद्योगीहरुलाई सहयोग गर्ने बताएका थिए, त्यसलाई निकै प्राथमिकतामा राखेका थिए ।

त्यसैले अबका लागि उनको चुनौति हो, उनीहरुलाई सम्बोधन गर्नु र धरासयी बनेको उद्योग क्षेत्रलाई उकास्नु ।

 

तेस्रो चुनौती– सरकार–उद्योगी समन्वय बढाउनु

खुलेर कुरा नभए पनि यसपटक उद्योग वाणिज्य महासंघको निर्वाचनको माहोल सुरु हुँदै गर्दा व्यापक चर्चा थियो– प्रधान कांग्रेसनिकट व्यवसायी हुन् भने ढकाल कम्युनिस्ट पार्टीनिकट ।

अहिले देशको सत्तामा छ, कम्युनिस्ट सरकार । आम मानिसको मात्र होइन, उद्योगी तथा व्यापारीहरु पनि पछिल्लो समय सरकारले ल्याएका नीतिहरुबाट खुसी छैनन् ।

त्यसैले अब नेतृत्वमा आइपुगेका गोल्छा र ढकाललाई हुनेछ, यो सरकारसँग उद्योगी तथा व्यापारीको समन्वय गराउनु ।

अहिले ढकाल प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट मानिन्छन् । कतिले त उनलाई ओली सरकारको ‘किचन क्याबिनेट’को सदस्यसमेत भन्ने गरेका छन् । त्यसो त उनलाई नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नजिक छन् भन्नेहरु पनि छन् । 

जे होस्, ढकालको छवि छ– उनी कम्युनिस्ट नेताहरुसँग निकट व्यक्ति हुन् । कोरोनाभाइरसका कारण समस्यामा रहेको अर्थतन्त्र र सरकार, उद्योगीसँग सम्बन्धमा चिसोपना निम्तिएको यो सरकारसँग उनले समग्र एफएनसिसिआइ र उद्योगीको समन्वय कसरी गर्नेछन्, त्यो हेर्न बाँकी छ । र, यो उनका लागि एउटा चुनौती पनि हो । 

  • प्रकाशित मिति : मंसिर १५, २०७७ साेमबार १२:४२:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया