जनकपुरधाम विमानस्थलमा ५० करोडको लागतमा ट्रमिनल भवन

जनकपुरधाम विमानस्थलको नयाँ टर्मिनल भवन आठ वर्षपछि तयार भएको छ । ०६९ सालमा यो टर्मिनल भवनको निर्माण सुरु भएको हो । 

विमानस्थल प्रमुख किरण गौतमका अनुसार यो टर्मिनल भवन ५० करोडको लागतमा निर्माण भएको हो । सुरुमा पप्पु कन्ट्रकसन र केविन डालवा उमा एन्ड कम्पनीले भवनको ठेक्का पाएको थियो । दुई वर्षभित्र निर्माण सम्पन्न गर्नुपर्ने भएपनि सो कम्पनीले तोकिएको समयमा संरचना मात्र तयार पार्यो । पछि विभिन्न बहाना बनाएर भवन अलपत्र पारेपछि ०७४ मा पप्पुसँग सम्झौता रद्द गरिएको थियो ।

सरकारले ०७४ मा पुनः टेन्डर अह्वान गर्यो । दोस्रो पटक ६ करोड रकम थपेर केविनले टेन्डर सकारेको थियो । उसले तोकिएकै समयसीमा भित्र काम सम्पन्न गरेकोे प्रमुख गौतमले जानकारी दिए । उनले भने, ‘पुरानो टर्मिनल भवन साँघुरो भएकाले कर्मचारीलाई काम गर्न पनि समस्या भइरहेको थियो । अब सबै समस्या समाधान हुन्छ ।’
अब नयाँ टर्मिनल भवनमा डिजिटल दृष्य देखिने मेसिनसहित पार्किङको राम्रो व्यवस्था हुने भएकाले सहज हुने प्रमुख गौतमले विश्वास व्यक्त गरे । उनका अनुसार ०२४ सालमा भारत सरकारको सहयोगमा निर्माण भएको यो विमानस्थलबाट दैनिक ८ फ्लाइट हुँदै आएका थिए । अहिले कोरोना महामारीका कारण दैनिक ५ फ्लाइट मात्र भइरहेका छन् ।
नयाँ टर्मिनल भवनको उद्घाटन मंगलबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री योगेश भट्टराईले गर्दैछन् ।

अन्तर्राष्ट्रिय र रात्रिकालीन उडान योजना अलपत्र

तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा विकास गरिने बताएका थिए । सोही अनुरुप विमानस्थलको धावनमार्ग विस्तार गरियो । लाइट जडान भए, तर अन्तर्राष्ट्रिय उडान र रात्रिकालीन उडान योजनाले अलपत्र परेको छ । 

०७४ पुस १७ मा रात्रिकालीन उडानका लागि सफल परीक्षण गरिएको थियो । त्यसको तीन वर्ष बित्न लाग्दा पनि त्यसले मूर्तरूप पाउन सकेको छैन । जनकपुरधाम प्रदेश २ को अस्थायी राजधानी पनि हो । यहाँबाट अन्तर्राष्ट्रिय र रात्रिकालीन उडान तत्कालै सञ्चालन गर्न आवश्यक भएको जनकपुरधामका मेयर लालकिशोर साह बताउँछन् ।



रिफ्युलिङ सेवा थपियो, एम्बुलेन्स छैन

सरकारले विस्तारै जनकपुर विमानस्थललाई सुविधा सम्पन्न बनाउँदै लगेको छ । गत माघबाट हवाई इन्धन रिफ्युलिङ स्टेसनको स्थापना गरेको छ । अहिले ४१ हजार लिटर क्षमताको दुई ट्यांकर इन्धन राखिएको छ ।



विमान स्थलमै डिपो स्थापना गर्न प्रक्रिया अगाडि बढाइएको छ । नागरिक उड्डयन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कट्ठा जग्गा समेत उपलब्ध गराएको छ । १४० किलोलिटर क्षमताको डिपो दुई वर्षभित्रै स्थापना गर्ने लक्ष्य सरकारको छ ।

सुरक्षाको दृष्टिले विमानस्थलमा चौबीसै घण्टा एम्बुलेन्स र बारुणयन्त्र स्ट्यान्डवाई राख्नुपर्ने हुन्छ । एम्बुलेन्स नभएको अवस्थामा भिआइपी आउँदा बाहिरबाट ल्याउनुपर्ने बाध्यता छ । गत वर्ष विवाहपञ्चमीमा सहभागी हुन भारतीय प्रधानमन्त्री आउँदा बाहिरबाट एम्बुलेन्स ल्याइएको थियो ।

विमानस्थल प्रमुख गौतम भन्छन्, ‘अहिले हामीसँग एउटा बारुणयन्त्र छ । एम्बुलेन्स छैन । तर, एम्बुलेन्स खरिद गर्ने प्रक्रिया सुरु भइसकेको छ ।’ चाँडै एम्बुलेन्स पनि खरिद गर्ने उनको भनाइ छ ।
 

  • प्रकाशित मिति : मंसिर २३, २०७७ मंगलबार १२:४२:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया