घरेलु टोली न्युजिल्यान्डले पाकिस्तान विरुद्धको ३ खेलको टि–२० सिरिज एक खेल अगावै आफ्नो पक्षमा पारेको छ ।
न्युजिल्यान्डले आइतबार भएको दोस्रो खेलमा पाकिस्तानलाई ९ विकेटले हराउँदै सिरिज आफ्नो पक्षमा पारेको हो । पाकिस्तानले दिएको १६४ रनको लक्ष्य उसले अन्तिम ओवरमा मात्र १ विकेट गुमाउँदै पुरा गर्यो । जितसँगै न्युजिल्यान्डले सिरिजमा २–० को अग्रता बनाएको हो ।
न्युजिल्यान्डका लागि अविजित रहेका टिम सिफर्ट र कप्तान केन विलियम्सनले उत्कृष्ट प्रदर्शन गरे । उनीहरूले दोस्रो विकेटका लागि अविजित १२९ रनको साझेदारी गरे ।
६३ बलको सामना गरेका सिफर्टले ८ चौका र ३ छक्काको मद्दतमा ८४ रन बनाउँदा, विलियम्सनले ४२ बलमा ८ चौका र १ छक्का सहित ५७ रन बनाए । मार्टिन गप्टिलले २१ रनको योगदान दिए । पाकिस्तानका लागि १ मात्र विकेट फहिम असरफले लिए ।
यसअघि हामिल्टनस्थित सिडन पार्कमा जस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १६३ रनको योगफल तयार पारेको थियो ।
पाकिस्तानका लागि मोहम्मद हाफिजले उत्कृष्ट प्रदर्शन गरे । ९९ रनमा अविजित रहेका उनले ५७ बलमा १० चौका र ५ छक्का प्रहार गरे । मोहम्मद रिजवानले २२ तथा खुसदिल शाहले १४ रनको योगदान दिए ।
न्युजिल्यान्डका लागि टिम साउदीले ४ तथा जेम्स निसम र ईश सोढीले समान १–१ विकेट हात पारे ।
न्युजिल्यान्डले पहिलो खेलमा ५ विकेटको जित दर्ता गरेको थियो । तेस्रो तथा अन्तिम खेल डिसेम्बर २२ मा नापियरस्थित म्याकलिन पार्कमा हुनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।