कुशासन र भ्रष्टाचार अन्त्यका लागि ताजा जनादेश उपयुक्त विकल्प : कमल थापा
पर्साको वीरगन्जमा आइतबार राप्रपाले आयोजना गरेको विरोध प्रदर्शन ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकले भोग्नु परेको संकट अनि व्याप्त कुशासन र भ्रष्टाचारको अन्त्यका लागि ताजा जनादेशमा जानु उपयुक्त विकल्प र अवसर भएको बताएका छन् ।

आज पर्साको वीरगन्जमा आयोजित विरोध प्रदर्शन पछिको सभालाई सम्बोधन गर्दै थापाले अदालतमा भएको विषयमा धेरै चर्चा गर्नु सान्दर्भिक नहुने भन्दै सरकारले काम गर्न नसकेको, कुर्सी, सत्ता र भ्रष्टाचारको भाग बन्डाका कारण देश र जनताले संकट भोग्नु परिरहेको बताए ।

प्रचण्ड र ओलीको झगडा जनता र देश हितका लागि नभई भाग बन्डा र स्वार्थमा केन्द्रित भएको बताए । नेकपा भित्रको अन्तरविरोध र कलहको बोझले देशलाई दुर्घटना उन्मुख बनाएको थापाको टिप्पणी थियो ।

व्यक्ति परिवर्तनले समस्या समाधान नहुने भन्दै थापाले गलत नीति र बाटोमै परिवर्तन गर्नुपर्नेमा जोड दिए ।  आफू राप्रपालाई सहयोग गर्नुस् भन्न आएको भन्दै थापाले भने, ‘हामी आफैं देश बनाउन सक्छौं, राप्रपालाई विश्वास गर्नुस् हिन्दु राष्ट्र दिन्छौं, राजसंस्था दिन्छौं । विकास र समृद्धि दिन्छौं ।’

थापाले  निरङ्कुश राजतन्त्र खोजेको नभई राजादेखि विप्लव, काङ्ग्रेस, कम्युनिस्ट, मधेसवादी सबै अट्ने व्यवस्था राप्रपाको चाहना भएको विचार व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पार्टीका वरिष्ठ नेता राजीव पराजुलीले मधेस र मधेसी जनताको हक हित र विकासको निमित्त राप्रपा नै आवश्यक भएको बताए । केन्द्रीय सदस्य नगिना यादव र जिल्ला अध्यक्ष सोमेश्वर यादव लगायतले बोलेको कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नुहुनेलाई अध्यक्ष थापाले स्वागत गरेका थिए । कार्यक्रमपछि जिल्ला केन्द्रीय सदस्य यादवको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका थिए ।





  • प्रकाशित मिति : पुस १२, २०७७ आइतबार १९:३२:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया