प्रधानमन्त्री कपको उपाधि प्रदेश–१ लाई

दाङमा सम्पन्न प्रधानमन्त्री कप राष्ट्रिय महिला टि–२० क्रिकेट प्रतियोगिताको उपाधि प्रदेश–१ ले हात पारेको छ । उसले आइतबार सम्पन्न फाइनल खेलमा साविक विजेता एपिएफमाथि ६ रनको रोमाञ्चक जित हात पारेको हो । 

प्रदेश –१ ले दिएको १०६ रनको लक्ष्य पछ्याउने क्रममा एपिएफ २० ओभर ब्याटिङ गर्दै ७ विकेट गुमाएर ९९ रनमै समेटियो ।

एपिएफका ममता चौधरी र करुणा भण्डारीले छैटौँ विकेटका लागि ६४ रनको उत्कृष्ट साझेदारी गरे पनि त्यो जितका लागि पर्याप्त बन्न सकेन ।

अन्तिम ओभरमा रन आउट भएकी ममताले ४७ बलमा सर्वाधिक ३४ रनको योगदान दिइन् । २६ रनमा अविजित रहेकी करुणाले ३६ बलमा १ चौका प्रहार गरिन् । ज्योति पाण्डेले १४ रन प्रहार गर्दा अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् ।  

प्रदेश–१ का लागि रुविना क्षेत्री र अलिसा खडियाले समान २–२ तथा संगीता राईले १ विकेट हात पारिन् । २ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

यसअघि लमही क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको प्रदेश–१ले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १०५ रनको योगफल तयार पारेको थियो ।



प्रदेश–१ का कप्तान रुविना क्षेत्री र अप्सरी बेगमले पहिलो विकेटका लागि ५८ रनका साझेदारी गर्दै राम्रो सुरुवात दिलाएका थिए । १२.४ ओभरमा सीता राना मगरको बलमा विकेटकिपर ज्योति पाण्डेबाट स्ट्म्पिङ भएकी रुविनाले ३२ बलमा १८ रन प्रहार गरिन् ।

सोही ओभरको अन्तिम बलमा सोनु खड्काको हातबाट क्याच भएकी अप्सरीले ४५ बलमा ५ चौकाको मदतले सर्वाधिक ३४ रनको योगदान दिइन् । २९ रनका अविजित रहेकी काजल श्रेष्ठले २६ बलमा ३ चौका प्रहार गरिन् । संगिता राई २ रनमा अविजित रहिन् । 



एपिएफका लागि कप्तान सीता राना मगरले ३ तथा करुणा भण्डारीले १ विकेट हात पारे । 

विजेता बनेको प्रदेश–१ ले ५ लाख पाउँदा उप विजेतामा सीमित भएको एपिएफले ३ लाखमा चित्त बुझायो । सेमिफाइनलबाट बाहिरिएका सुदूरपश्चिम र लुम्बिनी प्रदेशले समान २५–२५ हजार प्राप्त गरे ।

पुस ११ बाट सुरु भएको खेलमा ७ प्रदेश र एक विभागीय गरी आठ टोलीको सहभागिता थियो । 


 

  • प्रकाशित मिति : पुस १९, २०७७ आइतबार १४:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया