‘निर्यात प्रवर्द्धनका लागि सरकारी सहयोग आवश्यक’

नेपाली वस्तुको निर्यात प्रवर्द्धनका लागि विभिन्न कार्यक्रम ल्याउनुपर्ने उद्योगी व्यवसायीको भनाइ छ । 

पाँचौं निर्यात दिवसका अवसरमा नेपाल निर्यात परिषद्ले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सहभागी उद्योगी व्यवसायीले निर्यातजन्य वस्तुको आन्तरिक बजारलाई सुनिश्चित गर्दै अन्तर्राष्ट्रिय बजारको खोजी गर्नुपर्ने बताएका हुन् । 

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले कुनै पनि वस्तुको बाह्य बजार खोज्नुभन्दा पहिला आन्तरिक बजारमा प्रवर्द्धन गरिनुपर्नेमा जोड दिए । सबै नेपालीले नेपाली वस्तुको प्रयोग गर्ने बानी बसाल्न एक्स्पोलगायत प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नु आवश्यक रहेको उनले बताए ।

कोरोनाका कारण धराशायी बनेको निर्यात क्षेत्रलाई पुरानै अवस्थामा फर्काउन सबै उद्योगी व्यवसायी एक हुनुपर्ने नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए । महासंघका तर्फबाट निर्यात प्रवर्द्धनमा आफूले सक्दो प्रयास गर्ने प्रतिवद्धतासमेत उनले जनाए ।

कार्यक्रममा निर्यात परिषद्का अध्यक्ष हरिबहादुर कार्कीले निर्यात व्यवसायमा आइपर्ने समस्यालाई व्यवस्थित रुपबाट समाधान गरी व्यवसायीको हित संरक्षण गर्न र व्यावसायिक क्षमता अभिवृद्धि गर्न सबै क्षेत्रको सहयोग आवश्यक रहेको बताए । 

निर्यात व्यापार राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड रहेकाले यसको विस्तार र प्रवर्द्धनका लागि निर्यात परिषद्ले काम गर्दै आएको उनको भनाइ थियो ।



नेपालबाट आर्थिक वर्ष २०७६\७७ मा ७७ अर्ब ७० करोड ९१ लख ५ हजार रुपैयाँ बराबरको विभिन्न वस्तु निकासी भएको सो अवसरमा बताइयो । 

यस्तै आर्थिक वर्ष २०७७\७८ को पाँच महिनासम्ममा ५० अर्ब ५५ करोड ६ लाख ८ हजार रुपैयाँ बराबरको सामग्री निकासी भएको छ । 



नेपालबाट निर्यात हुने मुख्य वस्तुमा ऊनी गलैचा, पस्मिना, चिया, जुटका उत्पादन, अदुवा, नेपाली कागज तथा हस्तकलाका सामग्रीलगायत छन् ।

  • प्रकाशित मिति : पुस २२, २०७७ बुधबार १६:५६:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया