'प्रचण्डले 'कु' गर्न खोज्दा प्रधानमन्त्री ओलीले देशलाई बचाउनुभयो'
देशमा चुनावको लहर चलिसकेको जिकिर

काठमाडौं : खानेपानी तथा सरसफाइ मन्त्री मणिचन्द्र थापाले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले 'कु' गर्न खोज्दा प्रधानमन्त्री केपी शर्मा ओलीले असफल बनाएर देशलाई बचाएको बताएका छन्।

रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा शनिबार बोल्दै उनले प्रचण्डमाथि संविधान र लोकतन्त्रमाथि 'कु' गर्न खोजेको आरोप लगाए। प्रचण्डले 'कु' गर्न खोजेपछि प्रधानमन्त्री ओलीले ताजा जनादेशका लागि प्रतिनिधिसभा विघटनका लागि कदम चालेको बताए।

‘प्रचण्डले पार्टीभित्रैबाट प्रधानमन्त्री ओलीमाथि 'कु' गर्नु खोज्नुभयो,’ थापाले भने, ‘देशलाई 'कु' को बाटोमा जानबाट जोगाउन प्रधानमन्त्री ओली चुनावको बाटोमा जानुभयो।’ 
चुनावको विकल्प नभएको भन्दै उनले त्यसविपरीत गए प्रतिगमनको बाटोमा देश जाने बताए। नेकपा चुनावको अभियानमा प्रवेश गरिसकेकाले यताउता नहुने उनको भनाइ थियो।

नेकपा चुनावी अभियानमा सक्रिय भएर सातैवटा प्रदेशमा सक्रिय भएको बताए। उनले भने, ‘धनगढीबाट विशाल जनसभा देखिसक्नुभयो,’ उनले भने। अब देशभर चुनावको लहर चल्दै गएको दाबी गरे।

तपाईंले प्रचण्डलाई धोका दिएर जानुभयो नि भनी सोधिएको प्रश्नमा उनले आफूले जीवनमा कहिले कसैलाई धोका नदिएको बताए। उनले भने, ‘बरु प्रचण्डले समकालीन नेताहरुलाई धोका दिँदै आउनुभयो।’ उनले प्रधानमन्त्री ओलीलाई प्रचण्डले धोका दिएको आरोप लगाए। उनले भने, ‘प्रधानमन्त्री केपी ओलीलाई पनि प्रचण्डले धोका दिनुभएको छ।’

आफ्ना लागि मन्त्री बन्ने ठुलो कुरा नभएको दाबी गरे। पार्टीभित्रको झगडाले देश अस्थिरताबाट जान खोजेको र यसलाई रोक्न नयाँ म्यान्डेटको आवश्यकता परेको बताए। प्रतिनिधिसभा विघटनबारे उनले भने, ‘यो कानुनी भन्दा पनि राजनीतिक निर्णय हो।’ प्रधानमन्त्रीलाई राजनीतिक निर्णय गर्ने अधिकार भएको तर्क गरे।



प्रधानमन्त्रीले जनतासामु नयाँ म्यान्डेट लिएर जान्छु भन्‍न पाउने बताए। उनले भने, ‘ताजा जनादेशका लागि चुनावमा जानु प्रधानमन्त्रीको अधिकार हो।’ प्रचण्ड र माधव नेपाल सडकमा आउनुलाई लोकतन्त्रको अधिकार भएको बताए। उनले संसद पुनःस्थापना नहुने ठोकुवा गरे।

थापाले सर्वोच्च अदालतको फैसलालाई स्वीकार गरिने बताए। अदालतको निर्णय अगाडि प्रतिनिधिसभा विघटनको निर्णयमाथि अदालतमा विचाराधीन विषयलाई प्रभावित पार्न खोजिएको बताए।



  • प्रकाशित मिति : पुस २५, २०७७ शनिबार १४:४७:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया