टोखा दम्पती मृत्यु प्रकरण : श्रीमतीले नै श्रीमानको हत्या गरेको खुलासा
पतिको मृत्युको १२ घण्टापछि पत्नीद्वारा आत्महत्या
सांकेतिक तस्बिर

काठमाडौं : टोखाको ग्राण्डी  भिल्लामा गत शुक्रबार उमेश केसी र सुदीक्षा गिरीको हत्या भएको खबर सार्वजनिक भयो। उनीहरू दुवैको हत्या भएको विवरणसहितको समाचार शुक्रबार बिहानै काठमाडौंमा फैलिसकेको थियो।

तर ढिलो गरी त्यो खबर त्यही दिन प्रहरी समक्ष पुगेको थियो। घटनामा प्रहरीले गरेको अनुसन्धानबाट दुवैको हत्या नभइ एकजनाले अर्काको ज्यान लिएर झुण्डिएको खुलासा भएको छ।

त्रिवि शिक्षण अस्पतालका डाक्टर र घटनाबारे अनुसन्धानमा जुटिरहेका प्रहरी अधिकृतबीच आज (आइतवार) भएको छलफलमा यस्तो खुलासा भएको प्रहरी स्रोतले जनाएको छ। प्रहरी स्रोतका अनुसार पोस्टमार्टमका क्रममा पत्नीले पतिको ज्यान लिएर आफू पनि झुण्डिएको पत्ता लागेको छ। तर प्रहरीले यो घटनाको विस्तृत विवरण सार्वजनिक गरिसकेको छैन।

प्रहरी स्रोतका अनुसार शिक्षण अस्पतालमा गरिएको पोस्टमार्टम रिपोर्टमा मृतक उमेशको टाउकोको बायाँतर्फ बाहिर सामान्य देखिने चोट लागेको छ। महानगरीय अपराध महाशाखाका एक अधिकारी भन्छन्, ‘टाउकोमा भारी वस्तुले हानिएको छ, जसले गर्दा टाउको फ्याक्चर भई आन्तरिक रक्तश्राव भएर केसीको मृत्यु भएको देखिन्छ।’

प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पनि उमेशको टाउकोमा सिलौटाले प्रहार गरेको देखिएको छ। 'घटनास्थलबाट रगत लत्पत्तिएको सिलौटो फेला पारेको छ। श्रीमती सुदीक्षाले श्रीमान्लाई त्यही सिलौटोले हानेर ज्यान लिएपछि आफूले पनि झुन्डिएर आत्महत्या गरेको निष्कर्ष डाक्टर र हामीबीच भएको छलफलमा निकालिएको छ', ती प्रहरी अधिकारी भन्छन्। 

१२ घण्टापछि श्रीमतीको आत्महत्या



श्रीमानको ज्यान लिएको १२ घण्टाको फरकमा श्रीमतीको मृत्यु भएको पाइएको छ। प्रहरी स्रोतका अनुसार पोस्टमार्टम रिपोर्टमा श्रीमती सुदीक्षाले श्रीमानको हत्या गरेको करिब १२ घण्टापछि आत्महत्या गरेको देखिएको छ।

कोठामा सँगै मृत फेला परे पनि पोस्टमार्टममा १२ घण्टाको फरकमा उनीहरुको मृत्यु भएको देखिएको प्रहरीले जनाएको छ। घटनाको प्रकृति हेर्दा श्रीमतीले नै श्रीमानको हत्या गरी आत्महत्या गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।



ज्यान लिने व्यक्तिको पहिचान पक्का भइसके पनि किन हत्या गरिएको भन्ने विषयमा प्रहरीले अनुसन्धान जारी राखेको छ । यसका लागि दुवैजनाले प्रयोग गर्ने मोबाइल फोन परीक्षणका लागि विधि विज्ञान प्रयोगशालामा पठाउने तयारी भइरहेको अपराध महाशाखाका प्रवक्ता एसपी ईश्वर कार्कीले जानकारी दिएका छन्। 

उमेशको ज्यानै लिनुपर्ने कारण अहिलेसम्म नखुलेकाले थप अनुसन्धान भइरहेको उनले बताए। हत्याको कारण पत्ता लगाउन प्रहरीले विविध पाटोबाट अनुसन्धान सुरुवात गरिसकिएको महाशाखाले जनाएको छ । पोस्टमार्टम रिपोर्ट आइनसकेकाले यसबारेको थप विवरण प्राप्त भइनसकेको प्रवक्ता कार्की बताउँछन् ।

यही १४ तारिख अर्थात् माघ १ गते उमेशले अमेरिका जान टिकटसमेत काटिसकेका थिए। तर, अचानक जानुभन्दा ६ दिन अगावै उनको हत्या भयो। अर्थात् गत शुक्रबार राति करिब साढे ८ बजे प्रहरीले दुवैजनालाई टोखाको ग्राण्डी भिल्लामा मृत अवस्थामा फेला पारेको थियो ।

उमेशको मृत्यु बिहान भए पनि प्रहरीलाई राति खबर आएपछि घटना शंकास्पद र थप रहस्यमय बनेको छ। घटनाको जानकारी ढिला आएकोबारेमा पनि अनुसन्धान भइरहेको महाशाखाले जानकारी दिएको छ।

  • प्रकाशित मिति : पुस २६, २०७७ आइतबार १७:४०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया