'प्रतिगमन फाइनल चरणमा पुग्यो, अब सडक भरौँ'
स्रष्टा भन्छन् : दलहरु झर्ला र खाउँला भनेर बसे

काठमाडौं : स्रष्टाहरूले नेपालमा प्रतिगमनको अर्को रुप फाइनल चरणमा रहेकाले अब नागरिकले सडक भरेर त्यसलाई पछार्नुपर्ने बताएका छन्। यही पुस ५ गते संसद विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध सडकमा आएका उनीहरुले प्रतिगमनको अर्को रुपलाई परास्त गर्न नागरिकले सडक भर्नुपर्ने बताएका हुन्। 

जनसांस्कृतिक महासंघ नेपालको आयोजनामा सोमबार नयाँ बानेश्वरमा भएको रचना वाचन तथा विविध सांस्कृतिक कार्यक्रममा सहभागी स्रष्टाहरूले ओलीको कदमलाई प्रतिगमन संज्ञा दिँदै यसलाई ढालेरै छाड्ने उद्घोष गरेका हुन्। 

ओलीसँग अपेक्षा थिएन, आश पनि छैन : खगेन्द्र संग्रौला 

लामो समयदेखि प्रधानमन्त्री केपी शर्मा ओलीको प्रवृत्तिविरुद्ध कडा धारणा राख्दै आएका साहित्यकार खगेन्द्र संग्रौलाले आज पनि तिखो व्यंग्यवाण प्रहार गरे। बानेश्वरको मञ्चमा उक्लिएर उनले प्रधानमन्त्री ओलीसँग आफूले कहिल्यै पनि कुनै अपेक्षा नगरेको बताए। 

'ओलीसँग आशा र अपेक्षा थिएन, गुनासो पनि छैन', उनले भने, '२०६२/०६३ मा जनआन्दोलन हुँदा बयलगाडाको जन्म भएको हो। खड्गप्रसाद ओलीको रचनागर्भ के हो? बयलगाडा हो।'



संग्रौलाले ओलीलाई शासनको चाबी दिनु बाँदरलाई मकैबारीको गोठालो बनाए जस्तै भएको भन्दै कटाक्ष गरे। 'तपाईंले बाँदरलाई मकै बारीको गोठालो बनाउनु भयो भने के हुन्छ? अनि खड्गप्रसादले मकै जोगाइदिएन भनेर किन रुनुहुन्छ?', उनले भने, 'नेकपा डबलको अर्को समूहलाई अझै पनि संसद पुन:स्थापना भएपछि तर मार्न पाइएला भन्‍ने छ। तर ओलीले यहाँदेखि ब्रह्मनालसम्म योजना बनाइसकेका छन्।'

हिजो ओलीको वरिपरि घुमेर भाग खानेहरु आज सद्दे छौं भन्ने तर्कको अर्थ नरहेको उनले बताए। 'हिजो खड्गप्रसादको वरिपरि घुमिरहेकाहरु अहिले ओली मात्रै बदमाश तर हामी सद्दे छौँ भन्दैछन्', उनले थपे, 'तपाईं त्यही भतेर र त्यही पानी खाएर आउने। खड्ग चाहिँ बिटुलो तपाईं चाहिँ कसरी सद्दे हुनुहुन्छ?



प्रतिगमन फाइनलमा छ : युग पाठक

उक्त कार्यक्रममा बोलेका राजनीतिक विश्लेषक तथा साहित्यकर्मी युग पाठकले अब कलम थन्क्याएर चुप बस्ने समय नभएको बताए। 'हामी कलम थन्क्याएर चुप बस्न सक्दैनौँ। प्रतिगमन हुँदा हामी कलम, शब्द, बिचार र हातखुट्टाले पनि लड्न तयार छौं', उनले भने, 'संसद विघटनका रुपमा प्रतिगमन भएपछि वृहत् नागरिक आन्दोलनको मोर्चा सडकमा आएका हौँ। यो प्रतिगमन १० वर्षदेखि भएको हो आज होइन। यो प्रतिगमन हिजो लिग चरणमा थियो, आज फाइनल चरणमा प्रवेश  गरेपछि हामी एकै ठाउँमा आएका हौँ।'

प्रतिगमनसँगै ओलीले राष्ट्रियसभामा थुकेर जनतालाई देखाइदिएको पनि उनले बताए। 'यो प्रतिगमन केपी ओलीको आजको दिनको काम होइन। उनले हिजो राष्ट्रियसभामा केपी ओलीले थुकेर देखाइदिएका छन्', उनले भने, 'हिजो यो भन्दा बढी बिरामी थिए तर थुकेका थिएनन्। अहिले उनी आत्तिएपछि राष्ट्रियसभामा थुकेका छन्।'

दललाई अझै आश !

उनले अब ओलीको प्रतिगमनविरुद्ध सडक भर्नुपर्ने बताए। 'यो सडक भरिने गरी हामी आए प्रतिगमन उल्टिन्छ। अहिले पनि राजनीतिक दलहरु के गर्ने भनेर प्रष्ट छैनन्। केपी ओलीले गर्दै नगर्ने भनेर गरेको चुनावको देउवालाई आश लागेको छ। गगन र रामचन्द्र सडकमा आइसक्दा देउवा भने केपी ओलीले दिएको चुनावबाट केही झरिहाल्ला भनेर खान बसेका छन्', पाठकले कटाक्ष गर्दै भने, 'केपी ओलीको आदेशमा भएको संसद विघटनलाई किन मान्‍ने? सर्वोच्च अदालतले जे लेखेको त्यही भनिदिए हुन्छ। जे छ त्यही भनिदिनुपर्छ। श्रीमानहरुले त्यही हो भनिदिनुपर्छ।'

पाठकले अहिले प्रतिगमनको फाइन खेल भइरहेको बताए। 'अहिले प्रतिगमनको फाइनल खेल भइरहेको छ। यसले धर्मनिरपेक्षता, संघीयता र सांस्कृतिक उपलब्धीहरु समाप्त गरेर २०६३ अगाडि लैजान खोज्दैछ', उनले थपे, 'प्रतिगमनलाई शरीरले, गोलीले होइन विचारले लडाउनुपर्छ। बिसे नगर्चीहरुले फेरि प्रतिगमनवालालाई जरैसँग लडाइदिने छन्।'

हरेक आठ/१० वर्षमा नयाँ पुस्ताले प्रतिगमनविरुद्ध लड्नुपरिरहेको उनले बताए। 'आठ १० वर्षपछिका पुस्ता पनि लडिरहेका छन्। हाम्रा पुस्ताहरु अझै कति लड्ने? हामी अझै कति भिडिरहने?', उनले सोधे, 'लोकतन्त्र र सामाजिक न्यायको कुरा नयाँ नयाँ विकास भइरहनुपर्छ। हरएक प्रतिगमनविरुद्ध लड्दा समाजलाई एक स्टेप अगाडि लैजानुपर्छ।'

उनले प्रतिगमनविरुद्ध लड्दा ओलीलाई मात्रै पराजित गरेर केही नहुने जिकिर गरे। 'प्रतिगमन हटाउँदा केपी ओलीलाई पराजित गरेर मात्रै जाँदैन, उनले बोकेको विचारलाई पनि पराजित गर्नुपर्छ', पाठकले थपे, 'अहिले पनि दलहरु अलमलमा छन्। हामी सांस्कृतिककर्मी, लेखकहरुले खबरदारी गरेर उनीहरुलाई ठीक बाटोमा हिँडाउनुछ। प्रतिगमन सच्याउन नागरिकलाई सडकमा ओराल्नुछ।'

 ओलीले धम्की दिए : नारायण वाग्ले

उक्त कार्यक्रममा पत्रकार नारायण वाग्लेले प्रधानमन्त्री ओलीले राष्ट्रियसभाबाट सर्वोच्च अदालतलाई धम्क्याएको आरोप लगाए। 'प्रधानमन्त्रीले राष्ट्रियसभाको रोस्ट्रमबाट उभिएर सर्वोच्चलाई लल्कारे। उनले संविधान पल्टाउने काम छैन भनेका छन्। त्यसकारण पल्टाउनुको अर्थ छैन भनेका छन्', वाग्लेले भने, 'संसदको बाँकी रहेको घिडघिडो राष्ट्रियसभामार्फत सर्वोच्च र नागरिकलाई उनले लल्लकारेका छन्। उनले तपाईंहरु जो बोलिरहनु भएको छ, हिजो कहीँ जागिर खानु भयो, खानु भएन तर आज त्यसरी बोलेको मिलेन भनेर धम्क्याउँदैछन्।'

पत्रकार वाग्लेले ओलीबाट राजनीतिक निर्णयमा अदालत बोल्न नहुने भनेर धम्की आइरहेको पनि उल्लेख गरे। 'राजनीतिक निर्णय गर्ने अधिकार प्राप्त गर्ने व्यक्ति हुँ भनेका छन् ओलीले। हामीलाई कुनै ठूलो इजलास चाहिँदैन, संवैधानिक इजलासबाटै गर्नु भनेर धम्की दिएपछि कुरा बुझियो, उनले थुकेपछि राष्ट्रियसभा पनि सकियो', वाग्लेले थपे, 'हिजो पनि सडकमा गोली थाप्न जनता नै आएका थिए। अहिले फेरि संविधानमा हुँदै नभएको प्रबन्ध राजनीतिक निर्णय हो भनेर फेरि असोज १८ फेरि माघ १९ गते बोलाइँदैछ।'

उनले ओलीको प्रतिगामी कदमविरुद्ध नागरिकस्तरमा प्रतिकार चाहिएको बताए। 'ओलीको कदमविरुद्ध नागरिकस्तरमा प्रतिकार जरुरी छ', वाग्ले भन्छन्, 'सत्ताको स्वार्थले अन्धो बनेको व्यक्तिलाई सुधार्न हामी सडकमा उत्रिका छौं।'

कविता वाचन

निषेधित क्षेत्र नजिकै भएको कार्यक्रममा विभिन्न साहित्यकारले आफ्ना कविता बाचन गरेका थिए। कार्यक्रममा श्रवण मुकारुङले 'बिसे नगर्चीको बयान' कविता बाचन गरेका थिए। उनले आज पृथ्वी जयन्तीको सन्दर्भ पारेर उक्त कविता वाचन गरेर सुनाए। 

म यो गोरखा राज्यमा

अढाई सय वर्षपछि बौलाएँ ।

मेरो टाउको फनफनी घुमिरहेछ

जमीन आकाशतिर

आकाश जमिनतिर भइरहेछ

आँखा तिर्मिरतिर्मिर भएर

हजुरको शिर दसवटा देखिरहेछु

खोइ मेरो पैताला कहाँनिर छ -

कहाँनिर छ बिसे नगर्ची...

बिमल निभाको कविता

मेरो पाइलाको पहिलो वाक्य त्यही हुनुपर्छ
त्यहीँ छन् एप्सटेक अँध्याराका तीव्र घर्षणहरु 
पाखण्डी मुसाको चलायनमान छायाँ त्यहीँ हुनुपर्छ
त्यहीँ छन् मेरो १४ वर्षका असरल्ल सुनसानहरु 
बलात्कारी रातको सुस्त चन्द्रमा त्यहीँ हुनुपर्छ
त्यहीँ मांसाहारी मनका अदृष्य धरापहरु 
अधुरो दस्तावेजको चलाख व्याकरण त्यहीँ हुनुपर्छ
त्यहीँ छन् मेरोवयका दुर्घटनाग्रस्त सवुतहरु 
धोकेबाज सम्बन्धको विक्षिप्त पाठ त्यहीँ हुनुपर्छ
त्यहीँ छन् मेरो सात... फाटेका जुत्ताहरु 
रक्तमुछेल समयको गोप्य पासवर्ड त्यहीँ हुनुपर्छ
त्यहीँ छन् तृप्त जुका र अतृप्त प्रेतहरु
...पिलर त्यहीँ हुनुपर्छ

भुपाल राईको कविता 

च्याप्जुको छालामा बाजेको रजाइँ थियो 
बाजेको छालामा बाउको 
छाला छाला आखिर के थियो?
पुर्खाको मट्टी मासुदेखि पुर्खाकै भुत्ला र घित्राँस थियो
र एक दिन बाउको छालामा पालो छोराको आयो
प्रश्न हरेक छोराहरु गरिरहेका छन् 
बाबा खोई त तपाईंको छाला?
जो अब अर्को पुस्ता ओढ्नलाई लगभग तयार छ
उत्तरमा बाबा भन्छन्-मेरो छाला कुनै तिलष्मी दरबारको भव्य कोठामा सुकाइएको छ
जाऊ, फर्काएर ल्याउ र रजाइँ गर
वश! त्यही दिनदेखियता म हरेक पुस्तालाई त्यही छालाको कहानी सुनाइरहेको छु
लगभग ५ हजार वर्षपछाडिको म एक पुस्ता आफैँ आज छाला फर्काउन हिँडिरहेको छु 

  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १७:१:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया