मनीषा कोइरालाको प्रश्‍न : के यो नेपाली जनताकै सरकार हो?
पृथ्वी जयन्तीमा दमन गरिएपछि आक्रोशित

काठमाडौं : सिंहदरबारको मुलगेट अगाडि अवस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न पुगेकाहरूमाथि प्रहरीले दमन गरेपछि अभिनेत्री मनीषा कोइराला आक्रोशित भएकी छन्।

२९९ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा सिंहदरबार अगाडि भेला भएकाहरूमाथि निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले लाठीचार्जसहित दमन गरेपछि मनीषाले कडा प्रतिक्रिया दिएकी हुन्।

भद्रकाली क्षेत्रमा जम्मा भएर सिंहदरबार अगाडि तर्फ आइरहेका सर्वसाधरणलाई प्रहरीले पटक पटक रोकेर हस्तक्षेप गरेको थियो। त्यसक्रममा राप्रपाका एकजना अध्यक्ष पशुपति शमशेर जबरासहितलाई पनि लछारपछार गरिएको थियो।

अघिल्ला वर्षमा पनि सिंहदरबार अगाडिको सालिकमा माल्यार्पण गरिन्थ्यो। तर यस पटक ठूलो संख्यामा मानिसहरु सालिकतर्फ अघि बढेपछि स्थानीय प्रशासनले तोकेको निषेधित क्षेत्रमा भीड बढेको भन्दै प्रहरीले अवरोध गरेका थिए।

प्रहरी अवरोधका क्रममा सिंहदरबार अगाडि नै रहेकी मनीषाले त्यहाँको माहोल हेरिसकेपछि सरकारबारे प्रश्न उठाएकी हुन्। 'मैले आशा गरेकी थिएँ कि जनताको  राष्ट्रिय एकताका प्रतीकको सामूहिक भावलाई  सरकारले सम्मान गर्ने छ', उनले भनेकी छन्, 'तर उसको व्यवहार ठीक उल्टो देखियो। पृथ्वी नारायणको सालिक अगाडि नै सरकारको यो आपत्तिजनक कार्य?'

मनीषाले पृथ्वीनारायणको जन्मजयन्तीमा आएकालाई पनि प्रहरीले पानीको फोहरा र टियर ग्याँस हानेको भन्दै चित्त दुखाएकी छन्। 'पानीको फोहरा र टियर ग्याससहित तैनाथ प्रहरीलाई पठाउने?', उनले सोधेकी छन्, 'के यो नेपालीको सरकार नै हो?'





  • प्रकाशित मिति : पुस २७, २०७७ साेमबार १८:२१:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया