मध्यपुरथिमिका विद्यालय आइतबारदेखि सञ्चालन हुने

कोरोना सङ्क्रमणका कारण बन्द रहेका विद्यालय खुल्ने क्रम सुरु भएको छ । उपत्यका बाहिरका विद्यालयले औपचारिक रुपमै पढाइ सुरु गरेपछि त्यसको असर काठमाडौं उपत्यकामा पनि परेको हो । 

मध्यपुरथिमि नगरपालिकाले नगरभित्रका विद्यालय आइतबारबाट सञ्चालन गर्ने निर्णय गरेको छ ।

मध्यपुरथिमि नगर शिक्षा समितिको गत सोमबार बसेको बैठकले नेपाल सरकारद्वारा जारी विद्यालय सञ्चालन सम्बन्धी कार्यढाँचा–२०७७ अनुसार स्वास्थ्य मापदण्ड पूरा गर्दै विद्यालय सञ्चालन गर्ने निर्णय गरेको हो ।

नगर शिक्षा समितिको माघ ४ गतेको निर्णय अनुसार आइतबारदेखि विद्यालय सञ्चालनमा आउन लागेको नगर शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख ज्ञानेन्द्र वनले जानकारी दिए । यसका लागि मध्यपुरथिमि नगरपालिकाले ७ बुँदे निर्देशिकासमेत जारी गरेको छ ।

विद्यालय सञ्चालनका लागि विद्यालय प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुने, स्यानिटाइजर प्रयोग गर्ने, मास्क लगाउने र तापक्रम मापन गर्ने व्यवस्था मिलाउने, सबै विद्यालय र शिक्षकले सङ्क्रमणकालीन योजना बनाउनुपर्ने निर्देशन दिइएको वनले बताए । 

त्यसैगरी स्वास्थ्य मापदण्डपालना हुनेगरी कक्षा कोठामा बसाइको व्यवस्था मिलाई सहज सिकाइएको व्यवस्था गर्नुपर्ने, विद्यार्थी र शिक्षक विद्यालय आउनजान सवारीसाधनको प्रयोग गर्नुपर्ने र कोरोना सङ्क्रमितको सङ्ख्या बढ्न गएमा कुनै विद्यालय, क्षेत्र, वडा वा नगरपालिकाभरि सूचना जारी गरी कुनै पनि समयमा विद्यालय बन्द गर्न सकिने निर्देशनसमेत दिएको छ ।





  • प्रकाशित मिति : माघ २, २०७७ शुक्रबार १५:६:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया