बजार १७ अंकले बढ्यो, कारोबार रकममा भने कमी

हरेक दिन नयाँ रेकर्ड कायम गर्दै अगाडि बढेको सेयर बजार परिसूचक नेप्से साताको दोस्रो कारोबार दिन सोमबार नयाँ उचाइमा पुगेको छ । 

आइतवार २३१५ विन्दुमा बन्द भएको बजार सोमवार २३३३ दशमलव ८८ विन्दुदेखि खुला भएको थियो । सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ५६ अंक बढेर १४२ दशमलव ९१ विन्दुमा पुगेको छ ।

नेप्से १७.३१ प्रतिशतले बढेर २३३२.३२ अंकमा बन्द हुँदा कारोबार रकम भने घटेको छ । आइतवार ६ अर्ब ३७ करोड ४२ लाख ६७ हजार रुपैयाँ बराबरको १ करोड ५० लाख ३५ हजार २२१ कित्ता सेयर कारोबार भएकोमा सोमवार ६ अर्ब ३१ करोड ४६ लाख ६४ हजार बराबरको १ करोड ५४ लाख ९६ हजार ७१४ कित्ता सेयर कारोबार भएको हो । 

नेप्से सोमबार लगातार आठौँ कारोबार दिन पनि बुलिश ट्रेन्डमा छ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता, घटेको ब्याजदर र लगानीको अन्य अवसर नहुँदा सेयरबजारमा निरन्तर उकालो लागेको  बजार विश्लेषकको विचार छ ।

आइतबारजस्तै आज पनि हाइड्रोपावरबाहेक सबै समूहका सूचक बढेका छन्  । व्यापार समूहको सूचक सर्वाधिक ६.५८ प्रतिशत बढ्दा  होटलको सूचक ५.८२ प्रतिशतले बढेको छ । यस्तै लघुवित्तको सूचक २.६८ प्रतिशत र म्युचुअल फन्ड, वित्त कम्पनी र विकास बैंकको सूचक पनि २ प्रतिशतभन्दा माथिले बढेको दिन बैंकिङ समूहको सूचक ०.१६ प्रतिशत र अन्यको सूचक ०.६२ प्रतिशतले वृद्धि भएको छ ।

आज कारोबार रकमका आधारमा प्रभु बैंक अगाडि छ । बैंकको ३३ करोड ४७ लाख रुपैयाँको कारोबार हुँदा नेपाल दूरसञ्चार कम्पनीको २६ करोड ८५ लाख र एनआइसी एशिया बैंकको २० करोड २४ लाखको सेयर किनबेच भएको छ ।



कारोबारमा आएका मध्ये १७ कम्पनीको सेयर मुल्यमा सकारात्मक सर्किट लागेको दिन समृद्धि फाइनान्स, एभरेष्ट बैंकको प्रिफरेन्स सेयर लगायतको मूल्य भने घटेको छ ।



  • प्रकाशित मिति : माघ ५, २०७७ साेमबार १६:२९:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया