पार्टीमा अल्पमतमा परेपछि ओलीले संसद र संविधानमा आगो लगाए : कृष्ण पहाडी

मानव अधिकार तथा शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडीले नेकपाभित्र अल्पमतमा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी, संसद र संविधानमाथि नै आगो लगाएको आरोप लगाएका छन् । बुधबार सुर्खेतको वीरेन्द्रनगरमा आयोजना गरिएको नागरिक सभालाई सम्बोधन गर्दै पहाडीले संसद विघटन गरेर ओलीले संविधानमाथि नै खड्ग प्रहार गरेको बताए । 

‘यो दलीय व्यवस्था हो । दलीय व्यवस्थामा उहाँ आफ्नो दलमा अल्पमतमा पर्नुभयो, त्यसपछि उहाँले दलमा आगो लगाइदिनुभयो,’ उनले भने, ‘उहाँ निर्दलीय पक्षधर देखिनुभयो । चोरले पनि तीनवटा घर छाडेर चोर्छ भनिन्छ, तर खड्गप्रसादले तीनवटा घर नै छाड्नुभएन नेकपासँगै संसद र संविधानमाथि नै आगो लगाइदिनुभयो ।’ 

संसद र संविधानमा लागेको आगो निभाउन दमकलको भूमिकामा अब सर्वोच्च अदालत देखिएको भन्दै उनले पानी खन्याउने वा पेट्रोल छर्किने त्यो सर्वोच्चको हातमा रहेको बताए । 

एक महिनाअघिसम्म संविधानअनुसार संसद विघटन गर्ने प्रावधान नै छैन भनेर व्याख्या गरिरहेका प्रधानमन्त्री खड्गप्रसाद ओली, राष्ट्रपति विद्यादेवी, सुवासचन्द्र नेम्वाङले अचानक सनक र लहडको भरमा विघटन गरेको उनको आरोप छ । 

‘संविधान निर्माण गर्दा केपी ओली, विद्यादेवी भण्डारी, सुवासचन्द्र नेम्वाङले नै संसद विघटनको प्रावधान हटाउनुपर्नेमा जोड दिनुभएको थियो,’ उनले भने, ‘अहिले उहाँहरु एउटा जोकरजस्तो बन्नुभएको छ । लहडी र सन्की केपी ओलीले जे पनि गर्नुहुन्छ । प्रधानमन्त्री हुनेबित्तिकै सत्ताको भोक चढ्यो ।’ 

अहिलेको अवस्थामा विश्व नै कोरोना भाइरसविरुद्धको सुइ लगाउने तयारीमा रहेको अवस्थामा नेपालमा त्यसको सुरुवात समेत नहुनु दुःखद भएको उनको भनाइ छ । 



ओली प्रतिशोधको भावनाबाट ग्रसित भएको र म रहेसम्म देश रहन्छ नत्र देश नै रहँदैन भन्नेसम्मको अवस्थामा पुगेको उनको आरोप छ । अदालतमा पुगेको संसद विघटनको मुद्दा जति ढिला हुन्छ, त्यति नै खड्ग ओलीको खड्गवाद चल्ने उनले बताए । 



  • प्रकाशित मिति : माघ ७, २०७७ बुधबार १७:२४:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया