'राम्रो कुरा लेख्नुपरे पत्रकार मुख छोप्छन्, आँखा चिम्लिन्छन्, कान थुन्छन्'
पत्रकारले बाबुआमाको पनि अपमान गरेको आरोप

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली पत्रकारहरुले प्रयोग गर्दै आएको भाषालाई लिएर फेरि एक पटक असन्तुष्टि जनाएका छन्। नेकपामा आफ्नो समूहसँग निकट नेपाल प्रेस संगठनको भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अंग्रेजी भाषाको प्रभावमा परेर नेपाली पत्रकारहरुले पनि पूर्वीय संस्कृति भुल्दै गएको गुनासो गरेका हुन्। 

पत्रकारहरुले आफ्नो भाषा बिर्सिएको भन्दै रोष प्रकट गरेका ओलीले तत्कालीन राजा र राजपरिवारबारे लेखिएका समाचारमा प्रयोग गरिएका भाषा पनि स्मरण गराए।‘हिजो राजतन्त्र हुँदा, राजा हुँदा, राजाका श्रीमती छोराछोरी हुँदा कसरी बोल्थ्यौं, कसरी लेख्थ्यौँ?’ओलीले पत्रकारले प्रयोग गरिरहेका भाषाबारे ओलीले भने, ‘खानुभयो भन्दा खाइबक्स्यो भन्नुपर्थ्यो, हिँड्नु'भो भन्दा हिँडिबक्स्यो भन्नुपर्थ्यो। आज आएर खानुभयो हिँड्नु भयो भन्न पनि गाह्रो परेको छ?’

उनले भाषाका कारण सभ्यता नै भूलेको आरोप पत्रकारहरुमाथि लगाए । ‘अंग्रेजीमा सबैलाई यु भनिन्छ, त्यही सिकेर तपाईंहरुले पनि तिमी भन्‍न थाल्नुभयो’, ओलीले गुनासो गरे, ‘हाम्रो त चराको परिवार जस्तो होइन नि! चराले त दुइटा फुल पार्छ भुर्र उड्छ। त्यसपछि आमा–बाबु पनि चिन्दैन उसले ।’

ओलीले आमाबुबा, हजुरबाहजुरआमालाई पनि पत्रकारले सम्मान गर्न छोडेको बताए। अग्रजको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसलाई अवमूल्यन नगर्न पत्रकारहरुलाई भने। ‘हामी आमाबुबा, हजुरबुवा हजुरआमालाई एकदमै आदरसम्मान गर्छौँ, खुट्टामा ढोग्ने त हामो चलन नै छ’, ओलीले अगाडि भने, ‘बिहानै उठेर बुवाआमालाई खुट्टामा ढोग्दा रोग लागेर मर्यो भनेको कतै सुन्नु भएको छ ? अहिले त हेल्लो, हाउ आर यु भनिदियो, सकियो। बाले हेरे ! आमा पनि त्यहीँ थिइन् हेरिन्!’

ओलीले नेपाली पत्रकारको भाषा मात्रै नभइ समाचारहरुमा पनि असन्तुष्टि जनाए। उनले पीत पत्रकारिता देशका लागि ठूलो समस्या भएको जिकिर गरे। 'अहिले देशको ठूलो समस्या पीत पत्रकारिता पनि हो। महात्मा गान्धीका तीन बाँदर जस्तै छन्, केही पत्रिका र सञ्चार माध्यम। राम्रो कुरा देख्नुपर्छ भने बरु आँखा छोप्छु। राम्रो कुरा सुन्नुपर्छ भने बरु कान थुन्छु। राम्रो कुरा बोल्नुपर्छ भने बरु मुख थुन्छु। तर सुन्दिनँ, हेर्दिनँ र बोल्दिनँ भन्ने केही छन्। अनि तिनले झुटो छाप्छन्, गलत छाप्छन् जनतालाई दिग्भ्रमित पार्न', उनले भने
 
ओलीले पत्रकारहरुको जीवनशैली र समाचार हेरेरै पत्रकारहरुलाई चिन्न सक्नुपर्ने पनि बताए। 'तपाईंहरुको जीवनशैली र रहनसहन देखेर अरुले पनि यस्तो उदाहरणीय हुनुपर्छ भन्न सकुन्। तपाईंहरु यस पार्टीसँग आवद्ध वा निकट जो जो हुनुहुन्छ', उनले भने, 'यो पार्टीनिकट भएका म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु, पत्रकार भन्नेबित्तिकै, तपाईंलाई हेर्दै मान्छेहरुले 'ए! तपाईं त फलानो पार्टीको हो? भनेर चिनोस्। तपाईंहरुको आनीबानी र व्यवहारले ठ्याक्कै चिन्न सकोस्।'

केही सञ्चार माध्यम झुटो छापेर जनतालाई दिग्भ्रमित पार्ने काममा तल्लीन रहेको आरोप पनि उनले लगाएका छन्। ‘स्वार्थबाट अन्ध हुन्छ वा आत्म बेच्छ, त्यसपछि नर्क पर्छ । नर्कमा गएपछि फर्किन सक्दैन,’ उनले भने। राष्ट्रिय सभागृहमा  उपस्थित पत्रकारलाई सम्बोधन गर्दै ओलीले व्यक्तिगत स्वार्थका लागि समाचार नलेख्‍न पनि भने।





  • प्रकाशित मिति : माघ ८, २०७७ बिहीबार १८:२०:५६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया