प्रसव पीडा र खुसी
अस्पतालबाट फर्किएपछि छोरो च्यापेर रातभरि रोएँ
अकिकति ढिलो नहुनाले जोगिए छोरा

सांगीतिक करिअरको सुरुतिरै चितवनकी माण्डवी त्रिपाठी र दाङका विपिन आचार्यको भेट काठमाडौंमा भयो । भेटिँदा दुवैका सपना एकै थिए । भेटको केही समयपछि उनीहरूले सहयात्रा गर्ने निधो गरे । विपिन माण्डवीको हात माग्न चितवन पुगे । तामझामबिनै सामान्य विवाह भयो । जन्मिएको घरलाई माइतीघर बनाएर माण्डवी दाङ पुगिन् ।

बिहे गरेको ४ वर्ष बितिसकेको थियो । विपिन आचार्य र माण्डवी त्रिपाठीले सांगीतिक क्षेत्रमा आफूलाई स्थापित गरिसकेका थिए । माण्डवीको माइतीबाट आमाले बारम्बार हजुरआमा बन्ने रहर सुनाइरहन्थिन् । ‘आमाले धेरै ढिला भयो, ढिला भयो भन्दा मलाई डर लाग्न थालेको थियो ला ! नहुने पो हो कि भन्ने’ माण्डवीले दबावले दिएको डर सुनाइन् । 

प्लानिङमै गर्भवती भएकाले त्यो बेला खास त्यस्तो केही फरक अनुभुति भएन । तर, आफू गर्भवती भएको कुरा सुनाउन उनलाई निक्कै गाह्रो भयो । घरमा त उनका श्रीमान् विपिनले आफू बाबु बन्दै गरेको खबर सुनाए । सासुआमाले माण्डवी गर्भवती भएको सुनेपछि भनेकी थिइन्, ‘भन्न पो नसेको त नातिनातिनाको रहर थियो नि ।’ माइतीमा खुसी सुनाउने जिम्मा उनकै भागमा पारिदिए विपिनले । उनले आमालाई निक्कै दिनपछि सुनाएकी हुन् । अहिले ठ्याक्कै के भने भन्ने माण्डवीलाई सम्झना छैन । त्यतिबेला उनकी आमाले खुसी हुँदै भनेकी थिइन्, ‘अब तिमी पनि परिपक्व हुने भयौ ।’

गर्भावस्थाको सुरुवाती दिनमा माण्डवीलाई कुनै असहज भएन । सामान्यतया महिलाहरूलाई यो स्टेजमा खाना खान मन नलाग्ने, उल्टी हुने हुन्छ । उनलाई त्यस्तो केही भएन । झन् धेरै रुची थियो, यो समय खानामा । गर्भवती भएको ३ महिनापछि उनी क्रिटिकल स्टेजमा पुगिन् । आफन्तहरू सबैले उनको गर्भ रहेको खबर पाइसकेका थिए । उनलाई बधाई दिनेहरू फोन गरिरहेका थिए । यही समय नियमित जाँचका क्रममा हस्पिटल पुगेकी माण्डवी घर कसरी फर्किन्, उनी आफैंलाई थाहा भएन । त्यो क्षण सम्झदै माण्डवीले भनिन्, ‘मलाई थाइराइड भएछ । डाक्टरले तपाईंको बच्चा खेर जान सक्छ भन्नुभयो । त्यो पछि घर आइपुग्दासम्मको समय अर्धचेत जस्तै थिएँ ।’

डाक्टरको कुराले मन अमिलो भएको थियो । माण्डवीलाई पुनः अर्को ल्याबमा टेस्ट गराउन मन लाग्यो । परिणाम फरक देखिएन । डाक्टरले सल्लाह दिए, ‘नियमित औषधि खानुस् केही हुँदैन ।’ डाक्टरले भनेपछि होला जस्तो लाग्यो माण्डवीलाई । औषधिको पोको बोकेर घर फर्किइन् । त्योपछि घरका सबैले विशेष केयर गर्थे । उनलाई अचम्म लाग्थ्यो । ‘सासुआमाले यो समय एक्लै हिँड्न दिनु भएन’, उनले भनिन्, ‘साथमा कहिले विपिन, कहिले आमा । दिदीबहिनी पनि नजिकै बस्ने भएकाले एक्लै हुनु परेन ।’ सबैले केयर गर्दा भने उनलाई निक्कै अप्ठ्यारो लाग्थ्यो । उनी सोच्थिन्, ‘यस्तो विशेष केयर चाहिने मलाई केही भएकै छैन । सबै किन मेरो पछि लागेका ?’

पहिलो सन्तान । भर्खर वेवी सावरको प्रचल देखिन थालेको थियो नेपालमा । दही च्युरा पुरानै कल्चर हो । माण्डवीलाई पनि भित्री मनमा दुवै रहर थियो । ‘तर, आफैं भन्न लाज हुँदो रहेछ’, माण्डवीले सुनाइन् । गर्भवती भएपछि सबै स्टेज कार्यक्रम छाडेकी उनले गीत रेकर्ड भने छाडिनन् । भनिन्, ‘अघिल्लो दिन साँझ गीत रेकर्ड गराएर भोलिपल्ट बिहान हस्पिटल भर्ना भएकी हुँ ।’



सामान्य पेट दुखेर अस्पताल भर्ना भएकी माण्डवीलाई ४ डोज औषधि प्रयोग गर्दा पनि व्यथाले च्यापेन । डाक्टरले भने, ‘अब ढिला भयो भने बच्चाले आची खान सक्छ, अपे्रसन गरौं ।’ अप्रेसन गर्ने सबै तयारी पूरा भयो । मध्याह्न साढे १२ बजे अप्रेसन गरेर बच्चा निकालियो । अर्धचेत रहेकी माण्डवीलाई डाक्टर दुई हातले उचालेर बच्चा देखाइदिए । त्यसबेला उनको आँखामा बच्चा बत्ती जस्तै झलमल बलेको थियो । ‘त्यो मोमेन्ट कहिल्यै बिर्सिन्न म । अर्धचेत अवस्थामा पनि मेरो बाबु कस्तो राम्रो देखिएको थियो ।’

मण्डवीका श्रीमान् विपिनलाई छोरीको रहर थियो । धेरैले माण्डवी गर्भवती हुँदा अड्कलबाजी गरेका थिए ‘छोरी नै जन्मिन्छे ।’ यही अड्कल र रहरका कारण श्रीमती हस्पिटल भर्ना भएपछि विपिनले पिंक कलरको लुगा किनिदिएका थिए । तर, उनीहरूको पहिलो सन्तान छोरा भयो । छोरा जन्मिएको खुसीमा विपिनले हस्पिटलमै लड्डु किनेर बाँडे । ‘धेरै कुरा बोलेर व्यक्त गर्ने बानी छैन विपिनको । तर, उनी निक्कै खुसी थिए’, माण्डवीले अस्पतालको खुसी सम्झना गरिन् ।



भोलिपल्ट साप्ताहिकमा माण्डवीको छोराको तस्बिरसहित समाचार आयो, ‘गायिका माण्डवीलाई पुत्र लाभ ।’ त्यतिबेला माण्डवीका आँखाभरि आँसु भएका थिए । उनले भनिन्, ‘यतिका वर्ष संघर्ष गर्दा पनि मेरो फोटोले त्यति स्पेस पाएको थिएन । मेरो छोरा कति भाग्यमानी उसले जन्मिने बित्तिकै त्यो स्थान पायो भन्ने भएको थियो । म खुसीले रोएकी थिएँ ।’ उनका आफन्त तथा सांगीतिक क्षेत्रका धेरै कलाकारहरू उनलाई भेट्न अस्पताल पुगे । पहिलो पटक पुग्ने सबैले पैसा दिएर छोराको मुख हेरे । माण्डवीलाई बधाई दिए ।

माण्डवी ४ दिनको अस्पताल बसाइपछि घर फर्किइन् । अस्पतालमा खासै याद भएनछ सायद, घर आएपछि उनलाई आफ्नो छोरा एकदम सानो लाग्यो । उनलाई बच्चा उचाल्दा पनि चिप्लिएर झर्छकी झैँ हुन्थ्यो । राति सुत्दा किचिएर मर्छकी जस्तो डर लाग्थ्यो । ‘कति रात त रातभरि झसङ् झसङ् भएर उठ्थें । डरले निदाउँनै सक्दिनथें’, माण्डवीले सुनाइन् । अस्पतालबाट घर लगेको ९ दिनसम्म बच्चाले दूध खाएन । दिसा गरेन । ९ दिनसम्म बच्चा रोएन । ९ दिनको दिन बच्चालाई हस्पिटल लगियो । त्यो बेला पनि डाक्टरले भने, ‘ढिला भएको भए बच्चालाई जे पनि हुनसक्थ्यो’ । त्यो जे पनि भित्र केके पथ्र्यो माण्डवीलाई थाहा थिएन । तर, उनका हातखुट्टा सबै काँपेका थिए । अलिकति ढिलो नहुनाले उनको छोरालाई यसपटक पनि केही हुन पाएन । डाक्टरले औषधि चलाए । भोलिपल्टदेखि बच्चा नर्मल रूपमा खान, खेल्न, हाँस्न, रुन थाल्यो । माण्डवीको सातो फर्कियो ।

करिअरभन्दा सन्तानको माया

सांगीतिक करिअरको उचाइमा पुग्दै गरेकी माण्डवी लामो समय बाहिर निस्कन पाइनन् । बेला–बेला उनलाई करिअरको चिन्ता लाग्थ्यो ।

‘करिअरको जति नै चिन्ता भए पनि बाहिर निस्कन नसकिने रहेछ । करिअरभन्दा कयौं माथि सन्तानको माया हुने रहेछ’, माण्डवीले मातृत्व पोखिन् । रेकर्डिङमा फर्किएका सुरु–सुरुका दिनमा उनलाई निक्कै गाह्रो भयो । उनी स्टुडियोमा गीत गाउँदा–गाउँदै हेडफोन निकालेर फालेर रुँदै घर फर्किन्थिन् । भन्छिन्, ‘गीत गाउँदा–गाउँदै ला ! मेरो बाबुलाई के भयो होला । रोयो होला । दूध खान खोज्यो होला भन्ने हुन्थ्यो । म त छोडेर हिँडिदिन्थें ।’

जेठो छोरो ६ वर्षको भएको थियो । माण्डवी दोस्रो पटक गर्भवती भइन् । छोरीको रहर छँदै थियो । गर्भावस्थाका केही रहर पनि पूरा गर्नु थियो माण्डवीलाई । यसपटक भने ‘मिलिजुली’ नामको टोलकै एक संस्थाले पहिलो पटक ‘वेवी सावर’ गरिदियो । दोस्रो पटक बालसंसार स्कुलमा र तेस्रो पटक दिदीहरूको साथमा ‘वेवी सावर’ गरिन् । दही च्युरा खाइन् । ‘यो पनि जिन्दगीमा सम्झनलाई निक्कै मीठो पल हुने रहेछ’, माण्डवी खित्का छोडेर हाँसिन् ।

दोस्रो गर्भ हुर्किंदै गयो । माण्डवीका श्रीमान्लाई पहिला नै छोरीको रहर । उनलाई पनि दोस्रो त छोरी नै होस् भन्ने लागेको थियो । ८ महिनापछि भिडियो एक्सरे गर्दा विपिनले छोरा/छोरी के छ भनेर डाक्टरलाई सोधेका थिए । डाक्टरले किन चाहियो भन्न मिल्दैन भन्दा विपिनले भने, ‘पहिला पनि छोरीलाई लुगा किनेको छोरा जन्मियो । अहिले पनि लुगा किन्न हो ।’ त्यसपछि डाक्टरले छोरा नै छ भनिदिए । माण्डवी पनि खिन्न भइन् ।

छोरी नहुँदा एक महिनासम्म  ‘डिस्टर्ब’

दोस्रो सन्तान पनि अप्रेसन गरेर निकालियो । तर, माण्डवीमा त्यो उत्साह नै कहाँ थियो र ? अस्पतालबाट घर फर्किएको रात ठूलो छोरा च्यापेर रातभरि रोइन् । आमाको छातीमा टाँसिएर ७ वर्षको छोरा पनि रोयो । त्यो रात उनीहरू आमा छोरा नै निदाउन सकेनन् । उनलाई लागेछ, ‘अब मेरो यो छोरालाई माया कम हुन्छ होला ।

छोराले पनि जन्मिने बेलासम्म बहिनी भनिरहन्थ्यो । भाइ भएपछि ऊ पनि रोयो ।’ सानो छोरा जन्मिएको झण्डै एक महिनासम्म माण्डवी यस्तै कुराले डिस्टर्ब भइन् । ‘मलाई सानो छोराको माया नै नलागेको जस्तो हुन्थ्यो । दूध ख्वाउँन जाँगर लाग्दैनथ्यो । ठूलो छोराको मात्रै पिर लाग्थ्यो’ माण्डवीले सुनाइन् ।‘

सानो कुराले डिस्टर्ब भएपछि सामान्य रूपमा फर्किन समय लाग्दो रहेछ’, यो माण्डवीको भोगाइ हो । उनले ठूलो छोरालाई दुख्ला भनेर लामो सानो छोरालाई म्वाइँसम्म खान सकिनन् । ‘अलिपछि सानोलाई म्वाँइ खाएपछि उसलाई पनि खानु पर्थ्यो,  म त्यसै गर्थें ।’

अहिले ठूलो छोरा ८ वर्ष र सानो छोरा १३ महिनाका भए । माण्डवी नहुँदा ठूलो छोराले सानो छोराको केयर गरेको देखेर माण्डवी हिजो भएको विचलित मानसिकता सम्झिएर फेरि छल्किन्छिन् । सानो छोरालाई म्वाइँ खाएपछि ठूलो छोरालाई म्वाइँ खान खोज्छिन् । छोराले भन्छ, ‘अब त भाइले चित्त दुखाउँला भयो मामु ।’

  • प्रकाशित मिति : माघ १०, २०७७ शनिबार ६:५०:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया