कता हराए ‘रियालिटी शो’ उपाधि विजेताहरू?
पहिल्यै फालिएकाहरु स्थापित

नेपाल आइडलको तेस्रो सिजनमा झापाबाट सहभागी हुन आएकी थिइन्– रचना रिमाल।  रचनाको सपना त नेपाल आइडलको उपाधि जित्ने नै थियो।  तर, उनलाई भोटिङ राउण्डमा पुगेपछि प्रतिस्पर्धा गर्न गाह्रो भयो।  उत्कृष्ट ८ बाट उनले नेपाल आइडलको यात्रामा विराम लगाउनु पर्‍यो। 

आँसु झार्दै नेपाल आइडलको मञ्चबाट बिदा भएकी रचनाको सांगीतिक करिअर भने त्यहि बाट उकालो लाग्यो।  नेपाल आइडलको उपाधि नजित्नुले रचनाको सांगीतिक करिअरमा कुनै असर गरेन्।

 त्यही मञ्चबाट बाहिरिएपछि सुरु भएको रचनाको सांगीतिक यात्रा अहिले निक्कै लोकप्रिय बनेको छ।  उनी अहिलेकी व्यस्त गायिका भित्र पर्छिन्।  रचनाको आवाजमा ‘फोटो फिरिममा’, ‘रुमाल चिनो’, ‘लेकबेसी’, ‘सारा खुशी दिए’ लगायतका गीत लोकप्रिय बनिसकेका छन्। 

नेपाल आइडलको यही सिजनमा दर्शक स्रोताको अत्याधिक मतसहित उपाधि उचालेकी मोरङकी सज्जा चौलागाईंको अहिले खासै चर्चा छैन्।  उनी कहाँ के गर्दैछिन् कसैलाई थाहा छैन्।  सज्जाको उपाधि चर्चा केहि हप्तामै सेलायो।

 



उपाधि उचालेसँगै देशमा आएको कोरोना महामारीका कारण पनि आफूले सांगीतिक बजारमा केहि गर्न नसकेको सज्जाको कथन छ।  तर, यहि सिजनबाट फालिएकी रचनाले सबैभन्दा धेरै लकडाउनको समयमा गीत रेकर्ड गराएकी छिन्।  रचनाले लकडाउनकै बेलामा दैनिक ३ वटासम्म गीत रेकर्ड गराएकी छिन्। 

बरु सज्जाले भोटमा पछि पारेपछि नेपाल आइडलको तेस्रो सिजनमा फस्ट रनरअप बनेका प्रवीण बेडुवालको माग अहिले सांगीतिक बजारमा राम्रै छ।  यहि सिजनमा सेकेन्ड रनरअपको उपाधि उचालेका किरणकुमार भुजेललाई भोट हाल्ने स्रोता दर्शकलेनै भूल्न आँटिसकेका छन्। 



नेपाल आइडलको पहिलो सिजनको उपाधिबाट बञ्चित भएका गायक हुन्– निशान भट्टराई।  उनले नेपाल आइडलको यो सिजनमा दर्शक स्रोताबाट सोचेजति भोट पाउन सकेनन्।  अर्थात भोट कम भएकै कारण अन्तिम प्रतिस्पर्धामा रहेका निशानले उपाधिबाट बञ्चित हुनु पर्‍यो।  आफ्नो पोल्टामा उपाधि नपर्दा उनी निराश त देखिए।

 तर, उनको सांगीतिक करिअर भने यहिबाट लोकप्रिय भएको पाइन्छ।  अहिले सांगीतिक क्षेत्रमा निशानको क्रेज निक्कै लोभलाग्दो छ।  चलचित्र ‘दाल भात तरकारी’मा समावेश ‘भिजीट भिषामा’ बोलको गीत पछि चलचित्रको पाश्र्व गायनमा पनि निशानको निक्कै माग बढेको छ। 

तर, नेपाल आइडलको पहिलो सिजनमा निशानलाई पछि पार्दै उपाधि उचालेका बुद्ध लामाको नाम खोज्नु पर्ने भएको छ।  बुद्धले नेपाल आइडको उपाधि उचालेपछि केहि गीत त गाए।  तर, उनको स्वरले कुनै जादु चलाउन सकेन्।

 अत्याधिक भोट सहित प्रतिस्पर्धामा अब्बल ठहरिएका बुद्धको गलाले खासै चमत्कार गर्न नसक्दा यहि सिजनमा तेस्रो भएका प्रताप दासले सांगीतिक क्षेत्रमा राम्रै स्थान बनाए।  उनले नेपाली सुगम संगीत र पाश्र्व गायनमा सफलता हात पारे।  निक्कै स्रोताको मनमा बस्न सफल भए। 

यता, नेपाल आइडलको उत्कृष्ट ११ बाट निस्किएकी मेनुका पौडेलले आधुनिक गायनमा आफूलाई स्थापित गरिन्।  मेनुकाले भारतीय टेलिभिजनबाट प्रसारण हुने सारेगमप मा गएर निक्कै प्रशंसा समेत बटुल्न सफल भइन्। 

नेपाल आइडलकै दोस्रो सिजनमा उपाधि उचालेका रवि ओडको पनि छोटो समयमै चर्चा सेलायो।  उपाधि जितेपछि केहि गीत गाएपनि रविको गला सांगीतिक बजारमा चल्न सकेन।  बरु यहि सिजनमा तेस्रो बनेकी अस्मिता अधिकारी अहिलेकी चल्तिकी गायिका भएकी छिन्।  थुप्रै गीतमा आवाज भरेकी अस्मिता पछिल्लो पुस्ताकी गिन्तीकी गायिका हुन्।  अस्मिताले थुप्रै चलचित्रका पाश्र्व गायन समेत गरेकी छिन्।  यहि सिजनमा दोस्रो बनेका बिक्रम बरालले पनि रविको भन्दा राम्रो स्थान बनाउन सफल देखिए। 

नेपालको अर्को सांगीतिक रियालिटी शो ले उपाधि दिलाएका गायक हुन्– सिडी विजय अधिकारी।  ‘दि भ्वाइस अफ नेपाल’को पहिलो सिजनका विजेता अधिकारी यस अघिनै सांगीतिक क्षेत्रमा संघर्षरत गायक हुन्।  ‘दि भ्वाइस अफ नेपाल’को उपाधि पोल्टामा पारेका उनी अहिले पनि आफूलाई स्थापित बनाउने संघर्षमा छन्।  तर, यहि ‘रियालिटी शो’को दोस्रो सिजनका विजेता राम लिम्बुले सांगीतिक क्षेत्रमा उपस्थिती जनाउन सकेका छैनन्। 

‘नेपाल आइडल’को पहिलो सिजन हुँदै ‘दि भ्वाइस अफ नेपाल’को प्रतिस्पर्धाबाट बेलैमा निस्किएकी थिइन्– विद्या तिवारी।  हेटौडाबाट ‘रियालिटी शो’मा सहभागीता जनाउन आएकी विद्याले पनि प्रतिस्पर्धामा लामो यात्रा गर्न सकिनन्।  तर, उनी एक सर्कलका स्रोता दर्शक माझ चिनिन सफल भएकी छिन्। 

लोक गायन रियालिटी शो ‘नेपाल लो स्टार’को पहिलो सिजनले रोल्पाका शनि विश्वकर्मालाई उपाधि दिलायो।  यो सिजनले स्याङ्जाका चेतन गोतामे र उदयपुरका विनोद दनुवारलाई गायकका रुपमा सांगीतिक बजारमा भित्रायो।  

उनीहरु लोक स्टारको पहिलो सिजनको दोस्रो र तेस्रो भए।  लोक स्टारको पहिलो सिजनका उपाधि विजेता शनिले केहि गीत त गाए।  तथापी यो सांगीतिक बजारले उनलाई स्विकार गर्न सकेन।  अहिले उनी मात्रै होइन् उत्कृष्ठ ठहरिएका तीनैजना गायकहरुको सांगीतिक बजारमा उपस्थिति शून्य छ।  

  • प्रकाशित मिति : माघ १३, २०७७ मंगलबार ७:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया