भागरथीका हत्यारालाई कारबाही गर्न माग गर्दै कलाकार

पछिल्लो केही दिन यता बैतडीमा भएको बलात्कार काण्डले सबैको ध्यान खिचेको छ । गत विहीबार बैतडीस्थित दोगडाकेदारको जङ्गलमा १७ वर्षीया किशोरी भागरथी भट्ट मृत अवस्थामा फेला परेकी थिइन् ।

मृत अवस्थामा भेटिएकी उनको बलात्कारपछि हत्या भएको निष्कर्ष प्रहरीले निकालेको छ । उनको शव भेटिएको ६ दिनसम्म पनि प्रहरीले हत्यारालाई पत्ता लगाउन सकेको छैन् । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको बताएको छ ।

यो घटनालाई लिएर विभिन्न माध्यमबाट आवाज उठिरहेका छन् । विभिन्न र्‍याली तथा प्रदर्शन भइरहेका छन् । कलाकारले पनि भागरथीको न्याय माग्दै सामाजिक सञ्जाल मार्फत् आवाज उठाएका छन् ।

अभिनेत्री करिश्मा मानन्धरले लेखेकी छन्, ‘बैतडीमा १७ वर्षीय किशोरीको बलात्कारपछि हत्या । नेपालका केही पुरुषहरूको मानसिकतामा यौन अपराध थुप्रिएको छ । त्यसैले बारम्बार यौन अपराध भइरहेका छन् । यो एक विकराल सामाजिक समस्या हो । यसलाई समयमा नै समाधान गर्नु जरुरी छ ।’

उनले अगाडि लेखेकी छन्, ‘राजनीतिक दल, मानव अधिकारकर्मी, सामाजिक धार्मिक अभियन्ता, नागरिक समाज, कलाकार, समाजसेवीहरू सबैले मिलेर समाजमा सभ्य, अनुशासित, नैतिक र सद्भावपूर्ण वातावरण सिर्जना गर्नेतर्फ पाइला चाल्नुपर्‍यो । समाजलाई शिक्षित, नैतिक, अनुशासित, सभ्य र सद्भावपूर्ण बनाउनबाट हामी चुकिरहेका छौँ, कि ?’

लेखक सुविन भट्टराईले प्रश्न गर्दै लेखेका छन्, ‘सहरमा गुलाब टिपेर मायालुलाई उपहार दिने मौसममा गाउँमा एउटी कोपिला निमोठिइन् । कसको भूल बढी ? अपराध गर्नेको कि अपराध क्षमा गरिरहनेको ? किन सधैँ यस्ता जघन्य अपराध छोपिन्छन् र अपराधी उम्किन्छन् ? किन सधैँ अपराधी सर्वेसर्वा र किन राज्य सधैँ निहत्था ? प्रश्नमात्र होइन जनता न्याय पनि मागिरहेका छन् । सधैँ खाली हात नपठाऊ ।’



त्यसैगरी अभिनेत्री नीता ढुङ्गानाले बलात्कारीलाई चाँडै पक्राउ गर्न आग्रह गर्दै भनेकी छन्, ‘नारीकै कोखबाट जन्मिएर नारीकै हातबाट हुर्किएर नारीकै जवानीलाई रित्याएर तिनै पुरुष बलवान् बन्छन् तर पनि त्यही नारीलाई कमजोर र कम बुद्धि भएको लाचार किन सम्झन्छ ? सौन्दर्य शक्ति र शालीनताको अर्को रुप हो नारी । संसारको कुनै रुप सङ्ग पनि तुलना गर्न नसकिने एक विरासतको नाम हो नारी । नारीलाई अपमान होइन सम्मान गर्न सिकौँ । (सन्दर्भ : भागरथी भट्टको बलात्कारपछि हत्या प्रकरण ) हत्यारा बलात्कारीलाई चाँडै पक्राउ गरौं ।’



  • प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार १२:५६:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया