नेकपा विवाद : सर्वोच्च र निर्वाचन आयोगलाई धम्काउन थाले ओली-दाहाल
सडकमा भीड देखाएर मनोवैज्ञानिक दबाब बढाउँदै

काठमाडौं : दुई समूहमा विभाजित भएको नेपाल कम्युनिष्ट पार्टीका नेताहरुले संवैधानिक निकायहरु निर्वाचन आयोग र सर्वोच्च अदालतलाई धम्क्याउन थालेका छन्। आधिकारिकताको लडाइँमा उत्रिएका नेकपाका दुवै समूहका अध्यक्षहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दुई संवैधानिक निकायलाई धम्की दिन थालेका हुन्। 

पुस ५ को प्रतिनिधिसभा विघटनसँगै आफैँ आधिकारिक रहेको जिकिरसहित देशभरका कार्यकर्ता काठमाडौंको सडकमा उतारेर सुरुदेखि नै दुई संवैधानिक निकायमाथि मनोवैज्ञानिक दबाब दिइरहेका दुवै समूहका नेता अब धाक धम्कीको तहमा उत्रिएका हुन्। 

प्रचण्डको धम्की  

ओलीले प्रतिनिधिसभा विघटन गरेपछि तत्कालीन एमालेका नेता कार्यकर्ता आफ्नो पक्षमा तानेर माधवकुमार नेपाललाई दोस्रो वरीयताको अध्यक्ष बनाएका प्रचण्डले बुधबार काठमाडौंमा भएको सभामा दुवै संवैधानिक निकायको नामै लिएर धम्कीपूर्ण भाषा प्रयोग गरे।

आफ्नो पक्षमा नेकपामा २९५ जना केन्द्रीय सदस्य रहेको र उनीहरु सबैले हस्ताक्षर गरेको विवरण निर्वाचन आयोगमा बुझाइसकेको जिकिर दाहालले गरे। बुधबारको विरोधसभाका क्रममा ओलीमाथि आक्रोश पोख्न नै अधिकांश समय खर्चिएका उनले निर्वाचन आयोगले खुट्टा कमाएको र सर्वोच्च अदालतले संसद् पुन:स्थापनाको पक्षमा निर्णय नलिए देशमा आँधीहुरी र हरित क्रान्ति नै हुने चेतावनी दिए। 

उनी त्यतिमै रोकिएनन्, यदि ओलीको प्रतिगमनको पक्षमा निर्णयहरु आएमा १० लाख मानिस काठमाडौंमा उतारेर बालुवाटार र सिंहदरबार घेर्न आउने पनि चेतावनी दिए। दाहाल-नेपाल समूहद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा भृकुटी मण्डपमा आयोजित विरोधसभामा बोल्दै अध्यक्ष प्रचण्डले आधिकारिकता छानबिनका क्रममा निर्वाचन आयोगले गतिलो लक्षण नदेखाएको जिकिर गरे।



'निर्वाचन आयोगले गतिलो लक्षण देखाएको छैन। हामीसँग बहुमत छ भनेका छौँ। यो कुरा हामीले लिखित र मौखिक रुपमा पनि पटक पटक भनिसकेका छौं', उनले आक्रोशित मुद्रामा भने, 'तर केपी ओलीको धम्कीले गल्नु भयो भने तपाईँहरुका खुट्टी पनि देख्नेछन् नेपाली जनताले।'

आँधीहुरी आउँछ



प्रचण्डले सर्वोच्च अदालतले आफ्नो समूहलाई आधिकारिकता नदिएमा देशमा फेरि आँधीहुरी आउने चेतावनी पनि दिए। उनले आजको सभामा ५ लाख मानिस आएको भन्दै अब जनमत आफ्नो पक्षमा भएकाले त्यही अनुसार सर्वोच्चले निर्णय लिनुपर्ने उनको तर्क थियो।

'मलाई यहाँ खबर आएको छ, आज हाम्रो सभामा ५ लाख मानिस आएका छन् भन्ने एसएमएस आएको छ', उनले भने, 'सर्वोच्चका न्यायाधीशहरूले पनि देखेका होलान् आज यहाँ आएका जनता। यो भीड देखेर अब जनताको पक्षमा निर्णय लिन सर्वोच्च अदालतलाई सहज भएको छ। यदि जनताको यो भीड बेवास्ता गरेर सर्वोच्चले फैसला गरे देशमा आँधीहुरी  आउँछ। देशमा फेरि शान्तिपूर्ण क्रान्ति हुन्छ, 'ग्रिन रिभोल्युसन' हुन्छ।'

प्रचण्डले अब केपी ओलीले पश्चताप गर्ने बेला आएको बताए। 'यो भीड होइन अझै ठूलो भीड हामी उतार्न तयार छौँ। अब हामी सिंहदरबार र बालुवाटार घेर्छौँ', दाहालले भने, 'केपीजी अब राजीनामा दिएर पश्चताप गर्नुस्, प्रधानमन्त्री छाडेर एउटा विज्ञप्ति निकालेर गल्ती स्वीकार्नुस्।'

नेपालको भाषा उही 

आजको विरोधसभालाई दाहाल-नेपाल समूहले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई मनोवैज्ञानिक दबाब दिने रणनीतिका रुपमा उपयोग गरेको छ। आजको सभामा सम्बोधन गरेका अधिकांश नेताहरुले प्रधानमन्त्री ओलीको आलोचनामा आफूलाई केन्द्रित गरे। सँगै उनीहरुले पुस ५ पछि दुई समूहमा विभाजित नेकपामध्ये आफूहरूसँगै बहुमत रहेकाले निर्वाचन आयोग र सर्वोच्च अदालतले पनि त्यही अनुसार निर्णय लिनुपर्ने राय राखे।  

आजकै सम्बोधनमा दाहाल-नेपालका एकजना अध्यक्ष माधवकुमार नेपालले निर्वाचन आयोगले आफ्नो बाहेक अर्को समूहलाई निर्णय दिन नमिल्ने तर्क गरे। ''केपी ओलीको पक्षमा सय जना हुँदा हाम्रो पक्षमा तीन सय जना छन्। निर्वाचन आयोगले अन्यथा निर्णय गर्न पाउँदैन', उनले भने, 'केपी ओलीले हस्तक्षेप गर्न थालेका छन्। खबरदार! निर्वाचन आयोगको काममा कुनै हस्तक्षेप गर्न पाउँदैनन् ओलीले।'

निर्वाचन आयोगले नियमावली परिवर्तन गरेर पठाइएको विवरण पनि ओलीले नछाप्न दबाब दिएको उनले बताए। 'निर्वाचन आयोगले नियमावलीमा परिवर्तन गरेर पठाइएको कुरा पनि नछाप्नु भनेर धम्की ओलीले दिएछन्। ओलीले त्यो फिर्ता लियुन्, होइन भने यो देशमा कानुनको शासन रहने छैन। निर्वाचन आयोगको मर्यादाको हेक्का होस्।'

नेपालले सर्वोच्च र आयोगलाई मनोवैज्ञानिक दबाब बढाउँदै सूर्य चिन्ह आफ्नै समूहमा आउने बताए। २९५ जना केन्द्रीय सदस्यको हस्ताक्षरसहितको निवेदन आयोगमा दिइसकेको बताउँदै उनले सूर्य चिन्ह आफ्नै समूहको हुने जिकिर गरे। 'सूर्य चिन्ह त हामीसँग छँदैछ', उनले अगाडि भने, 'केपी ओलीसँग त बयलगाडा चिन्ह छँदैछ नि!'

केपी ओलीको पक्षमा सय जना मात्रै मान्छे भएको बताउँदै आफूहरुसँग तीन सय जना रहेको जिकिर गरे। 'केपीजीसँग केबल सय जना केन्द्रीय सदस्य छन्', उनले भने, 'हाम्रो पक्षमा तीन सय जना छन्, ढुक्क हुनुस्, हामी नै आधिकारिक हुन्छौँ।' 

आयोगमै ओली 

पुस ५ मा प्रतिनिधिसभा विघटन भएयता कयौँ पटक दाहाल-नेपाल निर्वाचन आयोग पुगे। उनीहरुले आयोगमा पुगेर पटक पटक आधिकारिकता दाबी गरे। पछिल्लो पटक उनीहरुले  पछिल्लो पटक राजनीतिक दल विभाजनसम्बन्धी कानुनको दफा ४४ अनुसार आधिकारिकता दाबीसहित निवेदन दिए। 

नेकपा विभाजन भएपछि त्यसको टुंगो लगाउन निर्वाचन आयोगले आयुक्त रामप्रसाद भण्डारीलाई जिम्मेवारी तोकेसँगै मंगलबार पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगे। वैशाख १७ र २७ मा हुने निर्वाचन तयारी बुझ्न भनिए पनि उनको उद्धेश्य भनेको आधिकारिकता आफ्नो पक्षमा लिने गरी आयोगमाथि मनोवैज्ञानिक दबाब बढाउनु थियो। 

निर्वाचन आयोग पुगेका उनले पार्टीको नाम नेकपा र चुनाव चिन्ह सूर्य आफ्नै समूहको हुने जिकिर गरे प्रमुख आयुक्त दिनेश थपलियासहितसँगको छलफलका क्रममा ओलीले पुस ५ गते पहिले नेकपामा कुनै किसिमको विवाद नरहेको जिकिरसहित त्यसयताको विवादमा नपस्न पनि आयोगलाई आग्रह गरेका थिए।

उनले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहको पुस ५ यताको सबै गतिविधि अवैधानिक भएको तर्क राख्दै आफू नै नेकपाको पहिलो अध्यक्ष भएको पनि जिकिर गरेका थिए। उनले त्यहीकारण नेकपामा आफ्नो मात्रै एकल हस्ताक्षर मान्य हुने जिकिर गरे।

'निर्वाचनको अवधिमा कुनै पनि दलको आन्तरिक विवादमा आयोगले पस्न मिल्दैन। उपनिर्वाचन र राष्ट्रियसभाको निर्वाचनमा मेरो एकल हस्ताक्षरमा उम्मेदवार सिफारिस भएका हुन्। अरुको हस्ताक्षर आयोगले चिन्दैन', उनले जिकिर गर्दै भनेका थिए, 'नेकपामा मेरोबाहेक अरुको हस्ताक्षर चलेकै छैन। कुनै कुनै बेला मसँगै पुष्पकमल दाहालले पनि हस्ताक्षर गरेका छन्। तर नेकपामा मेरो हस्ताक्षरबिना आधिकारिकता मानिँदैन।'

प्रचण्डबारे 'सूर्य' तर्क

ओलीले छलफलका क्रममा आफू सदैव सूर्य चिन्हमै चुनाव लडेको बताएका थिए। 'म सदा सर्वदा सूर्य चिन्ह लिएर चुनाव लडेको मान्छे हुँ। पछिल्लो समय दुई पार्टीबीचमा एकता हुँदा म नेकपा एमालेको निर्वाचित अध्यक्ष र पुष्पकमल दाहाल प्रचण्ड ए-माओवादी केन्द्रको निर्वाचित अध्यक्ष हुनुहुन्थ्यो', ओलीले भनेका थिए, 'उहाँ (दाहाल) हँसिया-हथौडा लिएर चुनाव जितेर आउनुभएको हो। मैले सूर्य चुनाव चिन्ह लिएर जितेर आएको हुँ।' 

ओलीले दुई पार्टीबीच एकतापछि अध्यक्षबाहेक सबै पदाधिकारी मनोनित गरिएको स्मरण गराए। 'हामीले दुई पार्टीबीचमा एकताको घोषणा गर्दा अरु सबै पदाधिकारी, सदस्य मनोनित गरेका हौँ। त्यसरी हामीले पार्टी एकता गरेका थियौँ। तर पार्टी एकता टुं‌गिन नपाउँदै विभिन्न घटनाक्रम देखिए', ओलीले भनेका थिए, 'पछिल्लो समय २०७४ सालमा एमाले र माओवादी मिलेर निर्वाचन लड्दा चुनाव चिन्ह सूर्य राखौं भनेर मैले प्रस्ताव गरेको थिएँ, प्रचण्डले मान्नु पनि भएको थियो । तर केही दिनपछि उहाँले यो कुरा उल्टाउनुभयो, मान्नुभएन । त्यो विवादले गर्दा झण्डै १० लाख मत हाम्रो बदर भयो।'

ओलीले आफू सूर्य चिन्ह धारक रहेको बताए। 'म त सूर्य चिन्हधारक हो। त्यही नाताले चुनाव जितेर बहुमतको प्रधानमन्त्री भएर संसद विघटनको सिफारिस गरेँ। त्यसैले सूर्य चिन्ह त हाम्रै हो', उनले भने, 'हामी नै आधिकारिक हौँ। यसमा तपाईँहरू अल्मलिनुपर्छ भन्ने लाग्दैन। अब मैले यति बताएपछि त सूर्य चिन्ह र पार्टीको आधिकारिकता हाम्रै हुन्छ। तपाईंहरुले सबै कुरा ठीक ढंगले निष्कर्षमा पुर्‍याउनुहुन्छ भन्नेमा हामी विश्वस्त छौँ।'

माधवबारे 'सूर्य' तर्क

निर्वाचन तयारी तीव्र पार्न आग्रह गर्दै पुगेका ओलीले नेकपामाथि आफ्नो दाबेदारी मात्रै पेश गरेका थिएनन्, अरुले सूर्य चिन्ह दाबी गर्नै नसक्ने तर्क पनि पेश गरेका थिए। उनले दाहाल समूहमा लागेका माधवकुमार नेपाल र बलराम उपाध्यायले हँसिया र मकैको घोगा चुनाव चिन्ह दर्ता गराएको पनि जिकिर गरे। उनले पार्टी विभाजित नभएको तर्कसहित केही मानिसहरुले छाडेर गएको दलिल पेश गरे। 

ओलीले पुस ५ गते यताका कुनै पनि पत्र आफ्नो हस्ताक्षरबिना आएमा ती सबै छलकपट र जालझेल मात्रै हुने जिकिर पनि गरेका थिए। सरकारले आगामी वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने गरी पुस ५ गते नै निर्वाचन मिति घोषणा गरिसकेको छ। यस्तोमा दाहाल-नेपाल समूहले उक्त निर्वाचनलाई पनि प्रतिगामी भनिरहेको छ भने ओली निर्वाचनमै जाने बताइरहेका छन्। 

  • प्रकाशित मिति : माघ २८, २०७७ बुधबार १८:१५:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया