लुम्बिनी प्रदेशमा ८३ जनालाई कैद मिनाहा

सरकारले प्रजातन्त्र दिवसको अवसरमा लुम्बिनी प्रदेशको १२ जिल्लाका ८३ जना कैदीको कैद मिनाहा गरेको छ । विभिन्न अपराध ठहर भई कैद भुक्तानका लागि कारागार पुगेका कैदीको आनीबानी सुधार तथा कारागारभित्र राम्रो काम गरेवापत कारागारहरूको सिफारिसमा सरकारले ५ जनालाई आममाफी र ७८ जनाको कैद मिनाहा गरेको लुम्बिनी प्रदेशका प्रहरी प्रमुख रवीन्द्र धानुकले जानकारी दिए ।

जसमा लुम्बिनी प्रदेश पश्चिम नवलपरासीमा ६, रूपन्देहीमा ५, कपिलवस्तुमा ८, पाल्पामा ६, गुल्मीमा १, रोल्पामा २, प्यूठानमा ६, दाङको तुलसीपुर कारागारमा १५, घोराही कारागारमा ७, बाँकेमा १४, बर्दियामा ४ जना रहेका छन् । दाङको तुलसीपुर कारागारमा ४ र घोराही कारागारमा १ जना गरी ५ आममाफी दिएको प्रमुख धानुकले जानकारी दिए ।

५० प्रतिशत कैद भुक्तान गरिसकेकाले कैदीहरूको कारावासको क्रममा आनीबानी सुधारका कारण सरकारले कारागारहरूको सिफारिसमा कैद मिनाहा गरिदिएको उनले बताए । जसले अपराध न्यूनीकरणमा तथा रोकथाममा ठूलो सहयोग पुर्‍याउने उनको भनाइ छ ।

कारागारमा सुध्रिन सक्ने अर्थात् आनीबानीमा सुधार ल्याउन सक्ने वा कैद सजाय भुक्तानपछि समाजका लागि केही योगदान पुर्‍याउन सक्ने व्यक्तिको छनोट गरी सरकारले विशेष दिनमा त्यस्ता व्यक्तिलाई कैद मिनाहा तथा आममाफी दिने गरेको उनले बताए । जसले अपराध न्यूनीकरण तथा ठूलो सहयोग पुर्‍याउने उनको भनाइ छ ।

अनुशासन पालनसँगै कारागारको व्यवस्थापन, आधा कैद भुक्तान गरिसकेका व्यक्तिहरूको आचरण हेरी कारागारले स्थानीय प्रशासनमार्फत कैद मिनाहा तथा आममाफीको सिफारिस गर्ने कारागार कार्यालय घोराहीका प्रमुख विष्णु पाण्डेले बताए । उनले भने, ‘जो सुध्रिन खोज्छ, केही गर्छु भन्ने सोच राख्छ । उसलाई सरकारले दिएको सहुलियत हो, कैद मिनाहा तथा आममाफी ।’ जसका कारण विशेष दिवसमा सरकारले यो काम गर्ने गरेको उनले बताए । 

दाङको घोराहीमा रहेको कारागार भवन । तस्बिर : गिरिराज नेपाली/फरकधार





  • प्रकाशित मिति : फागुन ७, २०७७ शुक्रबार १४:१६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया