प्रधानमन्त्री दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न आज सुदूरपश्चिम जाँदै
फाइल तस्बिर

प्रधानमन्त्री केपी शर्मा ओली सुदूरपश्चिम प्रदेश आउने भएका छन् । कञ्चनपुरको दैजी–छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्न उनी सोमबार यहाँ आउने भएका हुन् ।

उनले दिउँसो १ बजे कञ्चनपुर वेदकोट नगरपालिका–२ झरना खेल मैदान नजिक छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने छन् ।  

प्रधानमन्त्री केपी शर्मा ओली आउने भएपछि कञ्चनपुरको सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले प्रधानमन्त्रीको आवागमनलाई मध्यनजर गर्दै जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । प्रधानमन्त्री ओली श्रीएयरलाइन्सको उडानमार्फत् धनगढी विमानस्थल अवतरण गर्ने कार्यक्रम तय भएको छ ।

पहिलो पटक बजेट विनियोजन भएको २५ वर्षपछि छेला औद्योगिक क्षेत्रको शिलान्यास गर्ने तयारी भएको छ ।

२०५२ सालमा तत्कालीन  प्रधानमन्त्री मनमोहन अधिकारीको नेतृत्वको सरकारले उक्त औद्योगिक क्षेत्र स्थापना गर्न पहिलो पटक बजेट विनियोजन गरेको थियो । ९ महिने शासनकालको पहिलो निर्वाचित कम्युनिस्ट सरकारले बजेट विनियोजन गरको २५ वर्षपछि प्रतिनिधिसभा भंग गरेका कामचलाउ कम्युनिस्ट प्रधानमन्त्रीले उक्त क्षेत्रको शिलान्यास गर्दैछन् ।



‘दैजी–छेला औद्योगिक क्षेत्र’ ९ अर्ब स्वदेशी लगानीमा निर्माण सम्पन्न गर्ने सरकारको योजना रहेको छ भने यसको क्षेत्रफल ४५० बिघा रहेको छ । 

औद्योगिक क्षेत्र स्थापनाका लागि यसै वर्ष वातावरणीय  प्रभाव मूल्याङ्कन स्वीकृत भएको थियो । २०६६ सालमा जिल्ला वन कार्यालयले आवश्यक जमिन उपलब्ध गराउने सहमति गरेको र जनचेतना सामुदायिक वन, वेदकोट सामुदायिक वनले पनि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गा उपलब्ध गराउन सहमति जनाइसकेका थिए । २०७५ साल असोजमा डिभिजन वन कार्यालय महेन्द्रनगरले वन तथा वातावरण मन्त्रालयमा दैजी-छेला क्षेत्रमा औद्योगिक क्षेत्र स्थापना गर्न नसकिने पत्र पेस गरेपछि सो काम अलपत्र परेको थियो ।



औद्योगिक क्षेत्र निर्माण हुने खबरले स्थानीय निकै उत्साहित भएका छन् ।  स्थानीय बलबहादुर विष्टले औद्योगिक क्षेत्र स्थापनापछि गाउँघरमै रोजगारी सृजना हुनेमा आफूहरू आशावादी रहेको बताए । ‘कोरोनाले बाह्य रोजगारी समेत खोसेको अवस्थामा बेरोजगारी समस्या विकराल बन्दैछ,’ उनले भने, ‘चाँडो औद्योगिक क्षेत्र स्थापनाको कामलाई अगाडि बढाउन आवश्यक छ ।’

उनले गाउँबस्तीमै औद्योगिक क्षेत्र स्थापना भए युवा पुस्तालाई रोजगारीका लागि बाहिरिनु पर्ने बाध्यता हट्नेमा आशावादी रहेको जानकारी दिए ।

  • प्रकाशित मिति : फागुन १०, २०७७ साेमबार १२:१४:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया