राजेन्द्र श्रेष्ठको टिप्पणी : केपी ओली वर्तमान युगका कालिदास
राजनीतिक भविष्य अँध्यारो सुरूङमा परेको दाबी

जनता समाजवादी पार्टी, नेपालका कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको राजनीतिक भविष्य अँध्यारो सुरुङमा पसिसकेको बताएका छन्।

‘उहाँ आफूले खनेको खाल्डोमा आफैँ फस्नुभएको छ । उहाँले आफ्नो खुट्टा आफैँ काट्नुभएको छ। कालिदासले हाँगामा बसेर रुख काटेजस्तै, केपी ओली भनेको वर्तमान युगको कालिदास सावित भएको छ’, उनले भने, ‘अब मेरो विचारमा केपी ओलीजीको पार्टीको मान्यता समाप्त हुन्छ । उहाँले या त नयाँ राजनीतिक पार्टी गठन गर्नुपर्यो, या त राजनीतिबाट सन्यास लिनुपर्छ । अलिकति इज्जत जोगाउने हो भने नैतिकताको आधारमा राजीनामा दिँदा राम्रो हुन्छ ।’

रिपोर्टर्स बोल्दै नेता श्रेष्ठले राष्ट्रपति विद्यादेवी भण्डारीको भूमिका पनि सन्तोषजनक नभएको टिप्पणी गरेका छन् । राष्ट्रपतिले संविधानको रक्षा नगरेको उनले बताए। ‘राष्ट्रपति अब आलंकारिक हुँ भन्दैमा प्रधानमन्त्रीले यो अमृत हो भनेर घाँस वा विष दिए पनि खाने हो त ? संविधानको धारा हेर्नुपर्छ कि पर्दैन ?,’ श्रेष्ठले सोधे।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई उनले स्वागत गरे। ‘सम्मानित सर्वोच्च अदालतले विवेकपूर्ण र संविधानसम्मत निर्णय दियो । हाउस डाक्ने कुरा पनि भन्यो’, उनले भने, ‘प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई पनि आदेश दिएको छ । सभामुखलाई संसद बोलाउन सक्ने परमादेश दिएको छ । १३ दिनभित्र संसद बैठक बस्छ ।’

श्रेष्ठले कांग्रेस र नेकपा–दाहाल नेपाल समूहलाई ठोस धारणा बनाउनको लागि सुझाव दिएको पनि सुनाए । 

‘तीन दल हुन्छ कि कांग्रेस र नेकपा मात्रै हुन्छ ? यो टुंगिएको छैन । नेकपाको आन्तरिक विभाजन जो छ, कानूनी रुपमा पूर्णता पाओस् । तर, गठबन्धन चाहिँ प्राकृतिक हुनुपर्छ’, उनले भने, ‘अग्रगामी हुनुपर्यो । समृद्धि र सुशासनतर्फ जाने खालको हुनुपर्छ । विगतको समस्याहरूको एक–आपसमा बसेर समिक्षा गरौं । नयाँ आधारहरू कसरी बन्छ ? अनि मात्रै तय हुन्छ ।’





  • प्रकाशित मिति : फागुन १३, २०७७ बिहीबार १६:२२:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया