विप्लवलाई प्रधानमन्त्रीको आग्रह : सुत्ली बमले केही हुँदैन, आउनुस् वार्ता गरौँ

प्रधानमन्त्री केपी शर्मा ओलीले दुई वर्षदेखि सरकारी प्रतिबन्ध झेलिरहेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई पहिलो पटक वार्ताका लागि बोलाएका छन्। 

२०७५ फागुनदेखि प्रतिबन्ध लगाएर धरपकड गरिरहेका ओलीले पहिलो पटक विप्लवको नामै लिएर शान्ति प्रक्रियामा फर्किन आह्वान गरेका हुन्। 

पोखरामा आयोजित ओली समूहको गण्डकी प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सोमबार सम्बोधन गर्दै उनले विप्लवलाई गलत बाटो छाड्न अपिल गरेका हुन्। 

'विप्लवलाई म यहीँबाट भन्छु,उहाँहरु हिँडेको बाटोको काम छैन, त्यो बाटोले कहीँ पुर्‍याउँदैन', ओलीले भने, 'शान्तिपूर्ण बाटोमा आउनु, सुत्ली बम पड्काएर काम छैन।देश बनाउने अभियानमा लागौँ, किन तर्साउने काम गर्नु हुन्छ?' 

ओलीले आफू विप्लवसँग वार्ताका लागि तयार भएको बताए। 'सरकार तपाईँसँग वार्ता गर्न तयार छ, आउनुस् वार्तामा बसौँ', उनले भने, 'म चाहन्छु तपाईंसँग छिट्टै वार्ता हुनेछ।'

पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालहरुसँग विवाद बढ्दै गइरहेका बेला ओलीले पहिलो पटक सार्वजनिक मञ्चबाट विप्लवलाई वार्तामा बोलाएका हुन्। विप्लव प्रचण्ड-बाबुराम भट्टराईले चलाएको जनयुद्धका एक कमाण्डर थिए। तर माओवादी शान्ति प्रक्रियामा आएसँगै प्रचण्डलाई छाडेर मोहन वैद्यतिर लागेका उनी अहिले भूमिगत अवस्थामा छन्। 





  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १८:२५:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया