तामझामले भित्रिएको रेल त्रिपाल मुनि : सञ्चालनको अझै टुङ्गो छैन

जनतासामु ठूला विकासका नारा घन्काएर भारतबाट ल्याइएको रेल ५ महिनाभन्दा बढी समय बिते पनि सञ्चालनमा आउँन सकेको छैन । सरकारले जनकपुर–जयनगर रेल सञ्चालन गर्ने योजनासहित गत असोज २ गते रेल भित्र्याएको थियो ।

सस्तो लोकप्रियताका लागि बिना तयारी भित्र्याएको रेल सञ्चालन नहुँदा सरकारको विकासे नारा फगत गफ मात्रै बन्दै गएको देखिएको छ । ८४ करोड खर्चिएर ल्याएको रेल ५ महिनासम्म धनुषाको इनरुवामा त्रिपालले छोपेर राखिँदा सरकारले आफ्नै भाषण र योजनालाई लज्जित बनाएको छ ।

भारतबाट रेल ल्याएका यतिका दिन बित्दा समेत कर्मचारी नियुक्त, रेल सञ्चालनसम्बन्धी कानुन अभाव, भारतले पूर्वाधार हस्तान्तरण नगर्नु लगायत कारणले कहिलेदेखि रेल सञ्चालन हुने भन्नेमा अझै अन्योल देखिएको हो ।

सरकारले यसअघि पनि पटक–पटक रेल सञ्चालन गर्ने मिति तोक्दै आएको थियो ।  पछिल्लो समय चौथो पटक तोकिएको म्यादअनुसार गत माघ मसान्तभित्र रेल सञ्चालन गर्ने भनिए थियो । तर, फागुनको आधा महिना बितिसक्दा समेत कुनै सुरसार देखिँदैन । यसरी हेर्दा रेल सञ्चालन हुने सम्भावना क्षीण हुँदै गएको देखिन्छ ।

कर्मचारी नियुक्ति प्रक्रियामा अन्योल

रेल ल्याएको ५ महिना बित्दासमेत रेल सञ्चालनका लागि हालसम्म कर्मचारी भर्ना गर्न नसकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार भदौमा कर्मचारी भर्नाका लागि आवेदन खुलाइए पनि लोक सेवा आयोगमार्फत कर्मचारी नियुक्त गरिनुपर्ने भन्दै उक्त विज्ञापन खारेज गरिएको थियो ।



अहिले अस्थायी कर्मचारी भर्ना गर्दा पनि पछि व्यवस्थापनमा समस्या हुने र स्थायी कर्मचारी नियुक्त गर्न समय लाग्ने भएकाले कर्मचारी नियुक्तिको प्रक्रियामा झनै अन्योल देखिएको हो ।

मन्त्रालय स्रोतका अनुसार अहिले रेल सञ्चालन गर्न कर्मचारी कसरी नियुक्त गर्ने भनेर छलफल भइरहेको छ । ‘पहिले कर्मचारी ल्याउन भ्याकेन्सी खुलाइएको थियो, लोकसेवा नगरी ल्याउन मिल्दैन भनेर त्यो खारेज गरियो, अहिले कसरी कर्मचारी ल्याउन सकिन्छ भनेर छलफल भइरहेको छ,’ मन्त्रालय स्रोतले भन्यो, ‘रेल गुडाउन आवश्यक कानुनका लागि विधेयक संसदबाट पारित हुने अवस्था नरहेकाले अध्यादेश ल्याउने तयारी छ ।’



रेल सञ्चालनका लागि २५० कर्मचारी आवश्यक पर्ने अनुमान रेल विभागले गरेको छ । यस्तै, सुरुमा रेल सञ्चालन गर्नका लागि भारतबाट समेत केही प्राविधिकहरू झिकाउनु पर्ने रेल विभागले जनाएको छ ।

रेल सञ्चालनका लागि रेल्वे अध्यादेश ल्याउने तयारी

जनकपुर–जयनगर चल्ने रेलका लागि सरकारले रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि आवश्यक प्रक्रिया अघि बढाइसकेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । विगत ५ महिनादेखि त्रिपाल ओढाएर थन्काएको रेलको उद्घाटन गर्ने योजना अनुरुप सरकारले अध्यादेश ल्याउने तयारी गरेको हो ।

रेल सञ्चालनका लागि हालसम्म कानुन नहुँदा कसरी सञ्चालन गर्ने भन्ने अन्योल रहेको छ । धनुषाको इर्नवामा ल्याएर राखिएको रेल चलाउनका लागि कानुन अत्यावश्यक भएकाले अध्यादेश ल्याउन छलफल सुरु भएको मन्त्रालयका सहसचिव तथा प्रवक्ता दीपक भट्टराई बताउँछन् । केही समयअघि नै सरकारले संसदमा रेल्वे विधेयक लगे पनि पास भएको छैन । 

सरकारले संसदमा गएको विधेयकमा नै समान्य हेरफेर गरेर रेल्वे अध्यादेश ल्याउने तयारी गरेको छ । अध्यादेश ल्याउन सरकारले धेरै ढिलाइ नगर्ने प्रवक्ता भट्टराईले बताए । 

विधेयकमा नेपाल सरकारले एक वा एकभन्दा बढी विदेशी राष्ट्रको भूमिसम्म वा विदेशी राष्ट्रले नेपालको भूमिसम्म वा नेपालको भूमि भएर अर्को विदेशी राष्ट्रमा जाने गरी रेल्वे सेवा सञ्चालन गर्ने वा गराउने सम्बन्धमा पारस्परिकताका आधारमा आवश्यक व्यवस्था गर्न सक्ने उल्लेख गरिएको उनले जनाए । 

नेपालमा रेल सेवा सञ्चालनको मुख्य जिम्मेवारी रेल्वे बोर्डको रहने विधेयकमा प्रस्ताव रहेको छ । सरकारले मात्र रेलवे सञ्चालन गर्ने विधेयकमा उल्लेख छ । विधेयकमा रेल, मेट्रो रेल, मोनोरेलको विकास तथा विस्तारका आवश्यक संरचना, बोर्ड र कार्यकारी समिति गठनलगायतका विषय समेटिएका छन् ।

प्रस्तावित विधेयकमा रेलभित्र के गर्न हुने वा नहुने ? रेल चालक र सहचालकले अनुमति लिनुपर्ने लगायतका विषय छन् । रेल चालक प्लस टु पास गरेको र उमेर २५ वर्ष पूरा भएको हुनुपर्ने, सहचालकले पनि प्लस टु पास गरेको र २० वर्ष उमेर पूरा गरेको हुनुपर्ने र चालक हुनका लागि कम्तीमा पाँच वर्ष काम गरेको अनुभव पनि चाहिने प्रस्ताव रहेको छ । 

रेल चालकले अनुमतिपत्र लिएर मात्र रेल चलाउनुपर्ने व्यवस्था समेत प्रस्तावित विधेयकमा समावेश गरिएको मन्त्रालयको भनाइ छ । अब यही विधेयकको मस्यौदालाई अध्यादेशका रूपमा जारी गर्ने तयारी छ । मन्त्रालयले मस्यौदा तयार गरेर पठाएपछि मन्त्रिपरिषदले पारित गरेर राष्ट्रपतिमार्फत अध्यादेश जारी गर्ने व्यवस्था रहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

रेलको लिक जोगाउन सुरक्षाकर्मी तैनाथ

रेलवे ट्रयाकका फलामे क्लिप चोरी हुन थालेपछि सुरक्षाकर्मी तैनाथ गरिएको छ । भौतिक संरचना तयार भएको लामो समयसम्म पनि रेल सञ्चालनमा नआउँदा मर्मत गर्नुपर्ने अवस्थामा पुगेको छ । ट्रयाकका क्लिप चोरी भएको, फुटाएको, भवनका झ्यालका सिसा फुटेको रेल विभागले जनाएको छ । रेल सञ्चालन गर्नुपूर्व पूर्णरूपमा नै रेलको मर्मत गर्नुपर्ने विभागको भनाइ छ ।

भारतको आर्थिक र प्राविधिक सहयोगमा तयार भएको यो रेलमार्ग औपचारिक रूपमा हस्तान्तरण भएको छैन । जसका कारण भारत सरकारले नै यसको मर्मत गरिदिने विभागले बताएको हो । विभागका अनुसार हाल रेल तथा रेलमार्गको धमाधम मर्मतको चलिरहेको छ ।

भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्गमा सञ्चालनका लागि गत असोज २ गते दुई सेट डेमो ट्रेन ल्याइएको थियो । सो रेलमा १ हजार २ सयदेखि १ हजार ३ सय जनासम्म यात्रुले एकसाथ यात्रा गर्न सक्ने रेल विभागले जनाएको छ । त्यस्तै, यात्रुबाहक रेल भएकाले यात्रुको झोला र सामान्य सामान मात्रै राख्न सकिनेछ ।

नेपालमा राणाकालमा विसं १९८४ तिर भारतको रक्सौलदेखि नेपालको अमलेखगञ्ज तथा विसं १९९४ तिर जयनगरदेखि जनकपुरसम्म रेलसेवा थियो । लामो समय अवरुद्ध उक्त रेलसेवा वर्तमान सरकारको ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकाङ्क्षासँगै अघि बढेको हो ।

अहिले कुर्थाबाट जयनगरसम्मको रेलमार्गको निर्माण गत वर्ष नै सकिएको थियो । कुल ३५ किमि लम्बाइमा रेल सञ्चालन हुनेछ । कुर्थादेखि बिजुलपुरासम्म थप १७ किमि रेलमार्ग निर्माण अन्तिम चरणमा पुगेको छ । यसरी, विजुलपुरासम्म ५२ किमिमा चाँडै नै रेल सञ्चालन हुने विभागले जनाएको छ ।

जनकपुर–जयनगर रुटमा चलाउन तामझामसहित असोज २ गते नेपाल आइपुगेका दुईवटा रेलहरू अहिले इनर्वामा त्रिपाल ओढाएर पार्किङमा राखिएका छन् । करसहित करिब १ अर्ब बढी रकम खर्चेर ल्याएको उक्त रेल नेपाल रेल्वे कम्पनीले धनुषाको इनर्वामा पार्किङमा राखेको छ ।

सन् २०१९ को मे महिनामा ८४ करोड ६५ लाख रुपैयाँमा भारतको सरकारी कम्पनी कोंकण रेल्वे कर्पोरेसनसँग २ वटा रेल किन्ने सम्झौता भएको थियो । भन्सार र मूल्य अभिवृद्धि कर तिर्दासम्म यी रेल किन्न १ अर्ब ३ करोड रुपैयाँ खर्च भएको मन्त्रालय स्रोतले बताएको छ ।

३४ किमिको जनकपुर–जयनगर रेलमार्गमा ब्रोड गेज विस्तारका लागि सिभिलतर्फका सबै काम २०७५ सालमा नै सकिएको थियो । उक्त रेलमार्ग ब्रोडगेजमा विस्तार गर्न ३ अर्ब ८० करोड रुपैयाँ खर्च भएको भारतले बताएको छ ।

यस्तै, सरकारले २०७५ को पुसबाट नै जनकपुर–जयनगर रुटमा रेल चलाउने घोषणा गरेको थियो । तर, विभिन्न प्राविधिक ढिलाइको कारण देखाउँदै ढिलाइ हुँदै आएको छ । अब कुर्थादेखि बिजुलपुरासम्म दुई अर्ब खर्चेर बाँकी खण्डको काम गर्ने भारत सरकारको योजना रहेको छ ।

  • प्रकाशित मिति : फागुन १७, २०७७ साेमबार १९:१३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया