हामीले चाहँदैमा प्रधानमन्त्रीलाई हटाउन सकिँदैन : राजेन्द्र महतो
फाइल तस्बिर

जनता समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरुले चाहँदैमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाउन नसकिने बताएका छन् । महेन्द्रनगरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै महतोले प्रतिनिधिसभा पुन:स्थापन भएपछि प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताए । नैतिकताका आधारमा राजीनामा नदिएका ओलीलाई हटाउने तागत उनकै पार्टी नेकपासँग मात्रै रहेको पनि उनले बताए ।

आफ्नो पार्टी जसपा र नेपाली कांग्रेस मिल्दा समेत ओलीलाई हटाउन बहुमत नपुग्ने पनि उनले बताए । ‘कांग्रेस र जसपा मिलेर पनि केही हुनेवाला छैन, ‌ओलीलाई हटाउने नेकपाले नै हो’, महतोले भने ।

उनले नेकपाका दुवै समूहले जनतालाई झुक्याइरहेको बताए।

‘नेकपाले मात्रै ओलीलाई हटाउन सक्छ, कि दलको नेताबाट हटाउन सक्नुपर्‍यो नभए पार्टी फोरेर हटाउनुपर्‍यो’, महतोले भने, ‘ओलीको विकल्प नेकपाबाटै आउँछ, यदि उनीहरुले जनतालाई झुक्याउने काम गरेका होइनन् भने ।’

उनले नेकपाका नेताहरु प्रचण्ड र माधव कुमार नेपालले ओलीलाई हटाउन सहकार्य गरौँ भनेर प्रस्ताव गरिरहेकोमा कुनै समूहसँग आफूहरुको सत्ता सहकार्य नहुने बताए।

‘दलीय प्रणालीमा सरकार बनाउन कुनै समूहसँग सहकार्य हुँदैन, पार्टी हुनुपर्छ’, महतोले भने, ‘या त भन्नुपर्‍यो माधव नेपाल पार्टी, प्रचण्ड–माधव पार्टी, तर रमिता देखाउनु भएन ।’



उनले देशमा नैतिकताको खडेरी देखिएको बताए । नैतिकता भएको भए केपी ओलीले राजीनामा दिनुपर्ने उनले बताए ।

‘नैतिकतामा राजीनामा मागिँदैन, महसुस भएपछि दिने कुरा हो’, महतोले भने, ‘केपी ओलीमा नैतिकता नै देखिएन।’



महतोले रेशम चौधरीलाई रिहाइ नगरे जेल भराउ आन्दोलन सुरु हुने बताए । उनले रेशमलाई लामो समयसम्म जेलमा राखिरहने तागत अब कसैसँग नभएको पनि बताए।

महतोले भने, ‘रेशमलाई अब जेलमै राखिरहने तागत कसैसँग छैन। रिहाइ नगरे जेल भराउ आन्दोलन सुरु हुन्छ, हामी सबैलाई जेलमा राख्ने क्षमता राज्यसँग छैन।’

कैलालीको टीकापुरमा २०७३ साल भदौ ७ गते थरूहट आन्दोलनका क्रममा हिंसा भड्किदा एक नाबालक र प्रहरी वरिष्ठ उपरीक्षकसहित ८ जनाको हत्या भएको थियो । उक्त घटनाका योजनाकार रहेको अभियोगमा रेशम जेलमा छन् ।

घटनापछि फरार रहेकै अवस्थामा रेशम कैलाली १ बाट अत्यधिक बहुमतका साथ सांसद पदमा विजयी भएका थिए ।

निर्वाचन जितेपछि जिल्ला अदालतमा हाँजिर भएका रेशमलाई जन्मकैदको फैसला सुनाएको थियो । हाल उनी डिल्लीबजार कारागारमा छन् ।

  • प्रकाशित मिति : फागुन १८, २०७७ मंगलबार १४:७:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया