सात महिनामा भित्रियो २५ अर्ब एफडिआई, चीनबाट सबैभन्दा बढी
गत वर्षको सोही अवधिभन्दा १२ प्रतिशतले कमी

चालु आर्थिक वर्ष ०७७/७८ को सात महिनाको अवधि (साउन–माघ) मा २५ अर्ब ३१ करोड रुपैयाँभन्दा बढी वैदेशिक लगानी (एफडिआई) भित्रिएको छ । उक्त अवधिमा विभिन्न मुलुकबाट कुल २५ अर्ब ३१ करोड ७३ लाख रुपैयाँ बराबरको एफडिआई नेपाल भित्रिएको उद्योग विभागका सूचना अधिकारी ज्ञानेन्द्र पराजुलीले जानकारी दिए ।

गत आव ०७६/७७ को सोही ७ महिना अवधिको तुलनामा यो चालु आवको सोही अवधिमा एफडिआई १२ प्रतिशतले घटेको विभागले जनाएको छ । गत आवको ७ महिनाको अवधिमा विभिन्न मुलुकबाट कुल २८ अर्ब ८१ करोड २२ लाख रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी नेपाल भित्रिएको थियो ।

विश्वव्यापी कोभिड–१९ को प्रभाव नेपालमा पनि देखिँदा उल्लेखित एफडिआई भित्रिन नसकेको पराजुलीको भनाइ छ । तर, हाल त्यसको प्रभाव कम हुँदै जाँदा एफडिआई क्रमशः भित्रिने उनको दावी छ ।

चीनबाट १८ अर्बभन्दा बढी

सात महिनाको अवधिमा सबैभन्दा धेरै एफडिआई चीनबाट भित्रिएको छ । उद्योग विभागको तथ्यांकअनुसार चालु आवको साउनदेखि माघसम्ममा कुल १८ अर्ब १७ करोड २२ लाख रुपैयाँ चिनियाँ लगानीले नेपालमा व्यावसायिक स्वीकृति पाएको छ ।  

यस्तो लगानी मुलुकको पर्यटन, उत्पादन, सेवा तथा कृषि क्षेत्रमा आएको विभागले जनाएको छ । उत्पादनमुलकसँगै सेवा क्षेत्रमा समेत आएको यस्तो लगानीले अधिकतम ३ हजार ८१ जनालाई रोजगारी दिने गरी विविध १०५ परियोजनका लागि स्वीकृति पाएको विभागले जनाएको हो ।



पछिल्लो समय नेपाली औद्योगिक क्षेत्रमा चिनियाँ लगानी बढेको छ । अघिल्ला वर्षको तुलनामा चालु आवमा भारतलाई समेत पछि पार्दै चिनियाँ लगानी भित्रिएको हो ।
चालु आवको ७ महिनाको अवधिमा भारतबाट ३ अर्ब ८६ करोड वैदेशिक लगानी नेपाल आएको विभागको तथ्यांकले देखाएको छ । पछिल्ला तीन वर्षयता नेपालमा लगानी भित्र्याउनेमा चीनले भारतलाई उछिनेको हो । 

मुलुकको अर्थतन्त्रको आकार ठूलो बनाउन लगानी निकै आवश्यक हुन्छ । स्वदेशी होस् वा विदेशी । तर, लामो समय यसको बहसमात्र भएपनि पछिल्लो समय व्यावसायिक वातावरणमा केही तरंग देखिन थालेको छ । नेपालमा सबैभन्दा बढी विदेशी लगानी भारत र चीनबाट आउने गरेको छ ।



भूकम्पपश्चात चिनियाँ प्रतिबद्धतामा तीव्रता

नेपालको विनाशकारी भूकम्पपछि चीनबाट लगानी प्रतिबद्धतामा तीव्रता आएको विदेशी लगानी स्वीकृत गर्ने उद्योग विभाग र लगानी बोर्डले जनाएका छन् । यद्यपि दैनिकजसो विदेशी लगानीका फाइल बोकेर उद्योग विभागमा आवेदन दिन आउने क्रम भने अहिले केही सुस्त छ ।

यसरी आवेदन दिन आउनेमध्ये चिनियाँ लगानीका फाइल हरेक दिनजसो आउँथे । त्यस्तै अन्य देशबाट आउने फाइल सातामा कम्तीमा एउटा हुन्थे । तर, हिजो आज साप्ताहिक रूपमा पनि फाइल आउन छोडेको उद्योग विभागका एक अधिकारीले बताए ।

विभागका अनुसार चीनमा नयाँ वर्षको बिदा परेका कारण फेब्रुअरी महिनामा उनीहरूको चहलपहल घटेको अनुमान छ । ‘पछिल्लो समय विदेशी लगानी शाखामा आवेदन दिने क्रम बन्द प्रायः हुँदा नेपालमा आउने वैदेशिक लगानीका अधिकांश फाइल चीनसँग सम्बन्धित हुने गरेको तथ्यांक निकाल्न सकिन्छ’ विभागका अधिकारीले भने । विभागमा दर्ता भएका फाइलले यो पनि पुष्टि गर्छ कि नेपालमा अन्य देशभन्दा चीनबाट धेरै लगानी प्रतिबद्धता आउने गरेको छ ।

ठूला परियोजनामा चिनियाँ लगानी

लगानी बोर्डमार्फत केही ठूला परियोजनामा चिनियाँ लगानी भित्रिएको छ । लगानी बोर्डका सूचना अधिकारी राजु गुरागाईंले पछिल्लो समय चीनबाट लगानी स्वीकृतिका लागि धेरै आवेदन परेको बताए । 

‘हरेक देशको लगानी आउने क्रम बढिरहेको छ, त्यसमा पनि चीनबाट उत्साहजनक लगानी बढेको देखिन्छ’, गुरागाईंले बताए ।

चीनको होङ्सी ग्रुपले स्वदेशी कम्पनी शिवम् सँगको साझेदारीमा अर्बौं रुपैयाँ लगानी गरिसकेको छ । लगानी बोर्डमार्फत भएको यो लगानीले ठूलो क्षमतामा होङ्सी शिवम् सिमेन्ट उत्पादन नै थालिसकेको छ । उक्त उद्योगमा ३६ अर्ब रुपैयाँ बराबरको लगानी भित्रिएको बोर्डले जनाएको छ ।

त्यस्तै, चीनबाटै अर्को सिमेन्ट उद्योग ह्वासिनले १४ अर्ब लगानी ल्याएर उत्पादन सुरु गर्ने चरणमा छ । यसबाहेक पश्चिम सेती जलविद्युत् आयोजनामा पनि १ खर्ब ६० अर्बको चिनियाँ लगानी स्वीकृतिका लागि आवेदन आएको बोर्डले जनाएको छ । 

७ महिनामा विभिन्न मुलुकबाट भित्रिएको एफडिआई विवरण


 

  • प्रकाशित मिति : फागुन २०, २०७७ बिहीबार ७:४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया