जनकपुर साहित्य महोत्सव : चुरे संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

जनकपुरधाममा मैथिली साहित्य, संस्कृति तथा सभ्यताको प्रचार प्रसार गर्ने उद्देश्यले ४ दिवसीय जनकपुर साहित्य महोत्सव सुरु भएको छ । महोत्सवको उद्घाटन कार्यक्रममा  पूर्व राष्ट्रपति डा। रामवरण यादवले चुरे संरक्षण हुन नसकेकोप्रति चिन्ता व्यक्त गरेक छन् । 

उनले प्रदेश २ को विकास चुरेसँग जोडिएकाले यसको संरक्षण हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।  उनले भने, ‘चुरे विनाशका कारण प्राकृतिक विपत्ति सिर्जना भइरहेको छ र यसको संरक्षणतर्फ सरकारीस्तरबाट ध्यान पुग्न सकेको छैन ।’ चुरेसँग मधेशको भाग्य र सिङ्गो मुलुकको भविष्य जोडिएको उनले बताए ।

उनले प्रदेश २ को समृद्धिको मेरुदण्ड मानिने कृषि उपजको भविष्य चुरे संरक्षणसँग जोडिएको र यहाँका करिब ६० प्रतिशत जनसंख्याको जीवन चुरेमाथि निर्भर रहेको बताए ।  उनले भने, ‘यस प्रदेश भएर बग्ने नदी र खहरेको मूल चुरे हो । चुरे संरक्षणमार्फत् यी जनसंख्याको जीवन नै ध्वस्त हुने भएकाले त्यसबाट जोगाउन अगाडि आउनु आवश्यक छ ।’ 

पूर्व राष्ट्रपति यादवले यस क्षेत्रको विकासका लागि चुरे सँगसँगै शिक्षा क्षेत्रको विकास तर्फ समेत ध्यान पुर्‍याउनु आवश्यक रहेको बताए ।

कार्यक्रममा प्रतिनिधिसभा सांसद एवं उद्योगपति विनोद चौधरीले प्रदेश २ नेपालको व्यापारको उद्गम स्थल भए पनि संघ र प्रदेशको खिचातानीका कारण विकासका कामहरु थन्किएकोमा दुःख व्यक्त गरेका छन् । संघ सरकार र प्रदेश सरकारको खिचातानीका बिच उद्योगीहरु लगानी गर्न रुचाउन नसकेकाले विकासका कामहरु थन्किएको बताए । 

उनले मिथिला सभ्यता तथा यहाँका मिथिला संस्कृतिको विश्व सामु प्रचार प्रसार गर्न सकियो भने रोजगारीको बाढीको श्रृजना गर्न सकिने बताए । यसका लागि प्रदेश तथा स्थानीय सरकारलाई मापपदण्ड तयार पार्न अग्रसर हुनुपर्नेमा जोड दिए । जनकपुरधामको इतिहास र धार्मिक परम्परा प्राचीन रहेकाले यसलाई प्रचार प्रसार गर्नुपर्ने बताए ।



कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले यो प्रदेश समृद्ध नभए देश समृद्ध हुन नसक्ने बताएका छन् । यस क्षेत्रको विकास भएमात्र नेपालको विकास हुने भएकोले शासक वर्गलाई यस तर्फ ध्यान दिने पर्ने उनले बताए ।

जनकपुरधाममा सुरु भएको जनकपुर साहित्य महोत्सवको पहिलो दिन उद्घाटन सत्रमा मुख्यमन्त्री राउतले शासकहरु मधेसलाई दोस्रो नजरियाले हेर्ने गरेको भन्दै भने, ‘यहाँ बसोबास गर्ने ६० लाख जनता समृद्ध भएनन्, किसान, श्रमजीवीको जीवनमा समृद्धि आएन भने नेपाल समृद्ध हुन सक्दैन ।’



मुख्यमन्त्री राउतले जनकपुरधामको प्रचारप्रसार गर्नमा पनि संघीय सरकार उदासीन रहेको आरोप लगाए । ‘हामीसँग माता जानकी छन्, गौतम बुद्ध छन्, सगरमाथा छ, पशुपतिनाथ छन्, त्यसको महत्त्व र गरिमालाई बेच्न सक्छौँ र यस क्षेत्रलाई समृद्ध बनाउन सक्छौ । यहाँको वनजंगल, पहाड राम्रो छ’, मुख्यमन्त्री राउतले भने, ‘तर दुर्भाग्य समृद्ध नेपाल सुखी नेपालीको नारा लगाउने कहाँ छन् ।’ मुख्यमन्त्री राउतले सीताको जन्मभूमि जनकपुरधामको प्रचार प्रसारमा संघ सरकारले बेइमानी गरेको स्पष्ट पारे ।

उनले अरुमाथि औँला उठाउनुभन्दा आफै गर्नुपर्ने भएकाले प्रदेशको विकासको काम जानकी मन्दिर सौन्दर्यकरणबाट सुरु गरेको बताए ।

  • प्रकाशित मिति : फागुन १९, २०७७ बुधबार २०:१३:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया