'मेलम्चीको पानी आयो, घर घरमा गएर दीपावली गर्नु, लड्डु खानु'

मेलम्चीको पानी २६ किलोमिटर लामो सुरुङ छिचोलेर शुक्रबार सुन्दरीजलमा झरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले उपत्यकाबासीलाई घरघरमा दीपावली गर्न आग्रह गरेका छन्। 

मेलम्चीको पानी स्विच थिचेर सुन्दरीजलमा झारेपछि सम्बोधन गर्दै ओलीले आजको दिन चाहिँ साँच्चिकै लड्डु खाने र खुसियाली मनाउन उचित रहेको बताए। 

 बहुप्रतिक्षित मेलम्चीको खानेपानी सुन्दरीजलमा झरेपछि ओलीले पुष्पकमल दाहाल प्रचण्ड-माधवकुमार नेपालमाथि पनि कटाक्ष गरेका छन्।

फागुन ११ मा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुन:स्थापित गरिदिएपछि प्रचण्ड-नेपालले चितवनमा रहँदा लड्डु खाएर खुसी साटेका थिए। त्यही प्रसङ्गलाई लिएर ओलीले कटाक्ष गर्दै भने, 'जतिबेला पायो त्यति बेला लड्डु खाने होइन, यस्तो बेला खाने हो नि! खुसी त यस्तो बेला हुनुपर्छ।' 

उनले लामो प्रतीक्षापछि मेलम्चीको पानी सुन्दरीजलमा झारिएको बताए। 'ठूलो मिहिनेतपछि मेलम्चीको पानी काठमाडौंमा आइपुगेको छ। कोसी ब्यारेज हुँदै बग्ने पानी अब बागमतीमा बग्ने छ। बागमती प्रदेश हुँदै यो पानी प्रदेश २ मा पुग्नेछ।'

अब चाँडै काठमाडौंबासीले काठमाडौंको पानी खान पाउने पनि उनले बताए। मेलम्चीको पानी ल्याउने क्रममा थुप्रै दुर्घटना भएको बताउँदै उनले पानी परीक्षणका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली व्यक्त गरे। भोलिका पानी ल्याउँदा हुनसक्ने सम्भावित जोखिमबारे मेलम्ची खानेपानी आयोजना सजग रहेको पनि प्रधानमन्त्रीले बताए। 



ओलीले सम्बोधनका क्रममा उपत्यकावासीले अब तिर्खा मेट्न गाह्रो नपर्ने बताए। 'आजको दिन साँच्चिकै खुसी हुने दिन हो', उनले सम्बोधनको अन्त्यमा भने,' 'घर घरमा गएर दीपावली गर्नु, घर घरमा लड्डु खानु।'



  • प्रकाशित मिति : फागुन २२, २०७७ शनिबार १९:५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया