द्वन्द्वको दलदलमा जसपा : ओली–प्रचण्ड मोहले निम्त्याउँदैछ दुर्घटना
नेताहरुबीच कुरो नमिल्दा बैठक बस्नै समस्या

सत्ता समीकरणमा निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) आन्तरिक विवादको भूमरीमा फसेको छ । शीर्ष नेताहरुबीच सत्ता गठबन्धनलाई लिएर सहमति नजुट्दा बढेको आन्तरिक किचलोले पार्टी नै फुट्ने सम्भावना बढ्दै गएको छ ।

जसपासहित सबै दल अहिले सरकारको नेतृत्वबारे छलफलमा छन्। सत्तारुढ एमाले, प्रतिपक्षी कांग्रेस, माओवादी केन्द्र र जसपामा सम्भावित सत्ता समीकरणले तनाव बढाएको छ।

ओली सत्ता होल्ड गरिरहने पक्षमा छन्न भने अन्य दल आफ्नै नेतृत्वमा सरकार बनाउने दाउमा। प्रतिनिधिसभामा कम सांसद रहेको जसपा पनि आफ्नै नेतृत्वमा सरकार बनाउन खोजिरहेको छ। सत्ताकै लागि जसपाभित्र आन्तरिक लडाइँ भुसको आगो बनेको छ।

अर्थात् अनेक घुम्ती पार गर्दै एक भएको जसपा अहिले खरानी हुने बाटोमा लागिसकेको अड्कलबाजी सुरु भएको छ । यसका केही कारण छन्, जसले जसपाको विवाद छताछुल्ल मात्रै भएको छैन, अब उसको बाटो पनि दर्साइरहेको छ ।

सबै बैठक निष्कर्षविहीन 

जसपा आफैँ पछिल्लो समय अनिर्णयको बन्दी भएको छ । उसका हरेक बैठक बिनानिष्कर्ष टुंगिरहेका छन् । आपसी द्वन्द्व झन्झन् बढ्दै गइरहेको छ। त्यहीकारण जसपा अहिले द्वन्द्वको दलदलमा फसेको छ ।



प्रधानमन्त्री केपी शर्मा ओलीले यही साता जसपा अध्यक्ष महन्थ ठाकुरसँग भेटिसकेपछि बनाइएको कार्यदलका कारण मतभेद बढ्दै गएको हो । त्यसयता लगातार मतभेद र मतभिन्नता बढ्दै गएको छ। जुन सिलसिला आज (बिहीबार) पनि दोहरियो ।

शुक्रबार जसपा संसदीय दलमा बसेको बैठकमा सत्ता समीकरणबारे सहमति नमिल्दा त्यो बैठक बिनानिष्कर्ष नै सकियो । त्यसपछि डाकिएको कार्यकारिणी समितिको बैठक पनि बिहीवार कुरो नमिली सकियो । यसरी सामूहिक सहमति हुन नसक्दा हिजो भने दुई खेमाको बेग्लाबेग्लै बैठक बसेको थियो ।



किन स्थगित ?

जसपा नेता केशव झाले तयारी पूरा नभएकाले बैठक सकिएको बताएका छन्। स्रोतका अनुसार पाँच शीर्ष नेताबीच आपसी सहमति नहुँदा बैठक सकिएको हो । ‘कार्यकारिणी समितिको बैठक हुनु अगावै शीर्ष नेताहरुबीच छलफल भइरहेको थियो’, स्रोत भन्छ, ‘छलफलमा सबैले आफ्नै अडान राख्न थालेपछि, विवाद हुँदै गयो, अनि केही निर्णय नहुँदै स्थगित भयो ।’ 

कार्यकारिणी समितिको बैठक अगावै भएको शीर्ष नेताको छलफलमा उपेन्द्र यादवबाट ओली सरकार प्रतिगमनको रहेको एजेण्डा बनाएर छलफल गर्ने प्रस्ताव आएपछि विवाद सुरु भयो । 

उपेन्द्रको यो प्रस्तावमा ठाकुर र महतोबाट भनियो, ‘ओली मात्रै किन सबै दलले त्यो भनौं, नत्र कसैलाई नभनौं । बरु त्यसको साटो फ्लोर ओपन गरौं। जे कुरा कार्यकारिणी समितिबाट आउँछ,त्यसैलाई छलफलमा लैजाऔँ ।’ 

ठाकुरले भनेका थिए, ‘किनकि कुनै पनि पार्टी दूधले धोएको छैन, सबै प्रतिगामी नै हुन् । त्यसैले अब जसले हाम्रो माग पूरा गर्छ, त्यही सरकारमा जाऔं ।’

यही विषयमा सहमति नहुँदा विवाद हुन थालेपछि बैठक स्थगित भएको स्रोतको दाबी छ । जानकारका अनुसार जसपामा अहिले एउटा खेमामा प्रचण्ड मोह देखिएको छ भने अर्को खेमामा ओली मोह देखिएको छ । उनीहरु भन्छन्–यो दुइटै ‘मोह’ पार्टी दुई धारमा विभाजित बनेको छ ।

किन हुँदैन सहमति ?

करिब एक वर्ष अगाडि तत्कालीन राजपा र सपाका शीर्ष नेताहरुको सहमतिमै जसपा गठन भएको थियो । त्यसयता सहकार्यमा जसपाको सांगठनिक निर्माण तथा पार्टीका अन्य कामहरु भइरहेका थिए । 

तर २३ फागुन सर्वोच्च अदालतले फैसला गर्दै नेकपालाई साविक दलमा ब्यूँताइदिएपछि देशको राजनीति अर्को अवस्था पुग्यो । 

त्यसपछि अन्य दल जस्तै जसपा पनि यो खेलमा सक्रिय भयो । त्यही नीतिअनुरुप जसपा अब ‘फिल्डिङ’ मात्रै नगरेर ‘ब्याटिङ’ गर्ने खोजिरहेको छ । 

जस अनुरुप अघोषित रुपमा एउटा खेमाबाट जसपाका वरिष्ठ नेता डा. बाबुराम भट्टराई ब्याटिङ गर्न सक्रिय  छन् । उनलाई यो ‘ब्याटिङ’ मा साथ दिइरहेका छन्, अध्यक्ष उपेन्द्र यादव । 

अर्थात् जसपाभित्र यी दुई नेताले एउटै स्वर बनाउँदै प्रधानमन्त्री ओली सरकारमा नगएर अन्य दलको नेतृत्वमा सरकारमा जाने खेल खेलिरहेका छन् भने जसपाकै अर्को खेमाले भने माग त्यसको प्रतिवाद गरिरहेको छ । 

त्यो खेमाले प्रधानमन्त्री ओलीले नै माग सम्बोधन गर्ने हुने भएको दाबी गर्दै ओली सरकारमै जाने कसरत गरिहेको छ । स्रोतका अनुसार मुख्यतः यही कारणले जसपा अहिले आन्तरिक किचलोमा फस्दै गएको छ । 

  • प्रकाशित मिति : चैत ५, २०७७ बिहीबार १६:५३:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया