‘फेरि पार्टी एकीकरण नै भन्न थाल्यौँ भने अर्को दुर्घटनामा फस्छौँ'
संयुक्त मोर्चा बनाउन असन्तुष्ट राजनीतिक दलसँग सहकार्य

२३ फागुनमा सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र ब्यूँताएपछि केपी शर्मा ओली नेतृत्वको सरकार बचाउने प्रयासमा निरन्तर लागिरहेको छ, एमाले। त्यस्तै, कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग गठबन्धन गरेर सरकार बनाउने आन्तरिक तयारीमा माओवादी केन्द्र छ। 

पुनःस्थापित संसदलाई सरकारले बिजनेस दिन सकेको छैन। उता  ओलीको बहिर्गमनको सुनिश्चित नभएसम्म सरकारलाई दिएको समर्थन फिता नलिने मुडमा माओवादी केन्द्र देखिएको छ। 

सत्ता सहकार्यका लागि कांग्रेस र जसपाबाट ठोस निष्कर्ष नआउँदा माओवादी केन्द्रले अबको यात्रा कसरी तय गर्दैछ ? यिनै विषयमा केन्द्रित रहेर माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश साहसँग हामीले कुराकानी गरेका छौं। 

प्रस्तुत छ फरकधारले साहसँग गरेको कुराकानीको सम्पादित अंशः

सर्वोच्च अदालतले माओवादी केन्द्र र एमालेलाई पूर्ववत् अवस्थामै फर्काइ दिएपछि सत्ता सहकार्यका लागि माओवादी अलमलमा देखिन्छ नि ?

माओवादी केन्द्र अलमलमा छैन्। ओलीजी को संसद विघटनको विरोधमा उत्रिएका सबै राजनीतिक शक्तिहरू ओली सरकारको विकल्पका लागि अग्रसरता लिइरहेका छन्।



यसलाई हामीले तार्किक निष्कर्षमा पुर्याउनुपर्छ। आजसम्म माधवजी हरुको पनि कार्यकर्ता भेला छ। त्यसले ओलीको प्रवृत्तिलाई लिएर एमाले, कांग्रेस, जसपा लगायत सबै राजनीतिक पार्टीभित्र अन्तरसंघर्ष छ। अबको दुई चार दिनभित्र यसले निकास पाउँछ। प्रतिगमन विरुद्धमा लड्ने सबै शक्तिहरूलाई साथ लिएर सरकार बनाउने कसरतमा छौँ। जसको नेतृत्वमा सहमति हुन्छ, सोही नेतृत्वलाई स्वीकार्ने पक्षमा छौं। 

सरकारलाई दिएको समर्थन फिर्ता लिन किन आनाकानी भइरहेको हो ?



होइन, सरकारको विकल्प नै खोज्ने भइसकेपछि समर्थन फिर्ता लिनका लागि कानुनी तथा प्राविधिक पक्षलाई पनि ध्यान दिएका हौँ। हामीले समर्थन फिर्ता लिनेबित्तिकै उहाँले विश्वासको मतका लागि बाटो खुल्छ।​ हामी अविश्वासको प्रस्ताव अघि बढाएर विस्थापन गर्नेतिर जान्छौं। किनभने, उहाँले विश्वासको मतका लागि अघि लाग्दा ओलीजीको जालमा कोही पर्ला की भन्ने हो। 

विकल्प खोजेपछि समर्थन फिर्ता लिने/नलिने भन्ने कुराको महत्व हुन्न। तर, पार्टीले समर्थन फिर्ता लिने भन्नेबारेमा समझदारी भइसकेको छ। खाली कार्यान्वयन कहिले गर्ने भन्नेबारे चाँही हामीले समय हेरिरहेका छौं। यसका लागि वेयदर (मौसम) हेर्ने भन्ने पनि हुन्छ। माधवजी हरुको पनि राष्ट्रिय भेला चलिरहेको छ। उहाँहरू पनि ओलीजीको विकल्प खोज्ने तर्फ नै हुनुहुन्छ। यसबीचमा कांग्रेसभित्र पनि दुई धार छ। जसपाभित्र पनि दुई धार छ। उहाँहरूले पनि केही दिनमा निर्णय लिइसकेपछि केही दिनमा निष्कर्ष निक्लन्छ। 

ओलीविरुद्ध यसरी लागि रहने भन्दा तपाईंहरूकै शीर्ष नेताहरू एमालेमा गएर जिम्मेवारी लिइ सक्नुभएको छ। अझै कारबाही गर्न सक्नुभएको छैन । किन कारबाहीका लागि ढिला ?

कारबाही गर्नका लागि सुरुमा हामीले स्पष्टिकरण सोधेका छौँ। स्पष्टिकरण सोधेपछि उहाँहरूको तर्फबाट के प्रष्टिकरण आउँछ। र, त्यही अनुसारको कारबाही हुन्छ। अब कोही पार्टीबाट गएका हौँ भनेर आत्मसमीक्षासहित फिर्ता आउँछौं भन्छन् भने पार्टीको विधान अनुसार त्यसलाई हेरिन्छ होला। अरु पार्टीमा जानेहरूलाई पार्टीको विधान अनुसार कारबाही हुन्छ। उहाँहरूमाथि ऐन, नियम र विधान अनुसार कारबाहीको प्रक्रिया अघि बढिरहेको छ।

विशेषतः ६ पुसपछि प्रधानमन्त्री ओलीको बहिर्गमनको विषय उठेको छ। उहाँलाई सत्ताबाट हटाउन के ले रोक्यो ?

यसमा चाँही, हामीले सर्वोच्च अदालतको फैसलाले भन्नुहुन्छ भने, प्रत्यक्ष रुपमा ओली जीको सरकार टिकाउनका लागि समय बढाइदियो भन्छु म। कानुनी राज्यमा सर्वोच्च अदालतको निर्णय सबैले स्वीकार गर्ने हो। त्यसैले ओली जीको बहिर्गमनलाई २३ गतेको सर्वोच्चको निर्णयले पनि अप्रत्यक्ष रुपमा सहयोग गरेको छ। जसरी राजनीतिक दलभित्र आन्तरिक द्वन्द्व चर्किएको छ। त्यसले ओेली जीको सरकारको आयु थपिदिएको छ।

अब माओवादी केन्द्रको तत्कालीन कार्यनीति के हो ? कसरी अगाडि बढ्ने ?

पहिलो, ओलीजीको विपक्षमा भएका सम्पूर्ण राजनीतिक शक्तिहरूलाई साथ लिएर ओलीजीलाई विस्थापन गर्ने। दोस्रो, पार्टीको संगठन अस्तव्यस्त छ। त्यसलाई व्यवस्थित गर्ने। पार्टी कार्यालय, सचिवालय लगायतका नेतृत्वलाई क्रियाशील र सक्रिय बनाउने। 

जसका लागि पार्टीको सर्कुलरबाट तलसम्मको अवस्थालाई ध्यानमा राखेर स्थगित भएका केन्द्रीय समितिको बैठकलाई पनि दुई चार दिन भित्रै बोलाउने। साथै, राष्ट्रिय भेलाको तयारी गर्ने। त्यसमा राजनीतिक प्रस्ताव चाँही संगठनात्मक विधानहरूको बारेमा व्यापक छलफल गर्ने।

ओलीजी विरुद्ध संयुक्त मोर्चा बनाउन असन्तुष्ट राजनीतिक दलसँगको सहकार्यलाई ध्यानमा राख्नुपर्ने छ। अर्को भनेको पार्टीको आन्तरिक जीवन सुदृढीकरण र व्यवस्थित बनाउने गरी नयाँ परिवेशमा पार्टीको सञ्चालन गर्नेतिर ध्यान दिनुपर्छ। 

उता, एमालेमा अन्तरसङ्घर्ष झनै चर्किएको छ। २३ फागुनको निर्णयपछि कानुनी रुपमा माधव नेपाल पक्ष एमालेमा गएपनि व्यवहारिक र भावनात्मक रुपमा चाँही माओवादी केन्द्रसँग नजिक छ भनिन्छ। एमाले विभाजन भयो भने तपाईँहरूसँगै एकताको सम्भावना हो ?

म व्यक्तिगत रुपमा राजनीतिक पार्टीहरूको एकीकरणको विपक्षमा छु। हाम्रो विगतको अनुभव र तत्काल नेकपाकै एकीकरण र विभाजनको अवस्थालाई नियाल्दा पनि म यो निर्णयमा पुगेको हुँ। पार्टीहरूको एकीकरण होइन्, सहकार्य र मोर्चा बनाउनेतर्फ चाँही पार्टीले नीति अवलम्बन गर्नुपर्छ। ०४८ सालपछिको अवस्थालाई हेर्दा पनि धेरै एकीकरण र विभाजनको श्रृङ्खला देखेका छौँ। 

यो बेलामा चाँही पार्टीले सहमतिका आधारमा एउटा निर्णय गर्ला। तर, मेरो व्यक्तिगत कुरा चाँही अहिले जुन–जुन पार्टी गठन हुन्छ, त्यो चाँही आफैँले काम गर्ने। र, राजनीतिक र जनताको समस्याहरू, राष्ट्रियताका मुद्दाहरू, संविधान र संसदीय व्यवस्थाका बारेमा चाँही मोर्चागत रुपमै अघि बढ्नुपर्छ। फेरि एकीकरणकै अवस्थामा अघि बढ्यो भने अर्को गल्तीको शिकार हुन्छौँ।

सर्वोच्चको फैसलापछि माधवजी र तपाईहरु छुट्टिने निर्णय भो। त्यसपछि पनि प्रचण्ड माधव नेपाल निवासमा पुगेर छलफल गर्नु, पेरिसडाँडामा तपाईँहरूको बैठकमा भीम रावल पुग्नु जस्ता कुरालाई कसरी हेर्ने ?

प्रष्ट हुनुपर्ने कुरा के हो भने, दुईवटा पार्टी मिल्ने भन्ने कुरा त्यति सहज नहुँदो रहेछ। जति नजिक हुन्छौँ, त्यही अनुसार कहिलेकाँही हामी दुई पार्टीबीचको छलफल/बैठक गर्न सक्छौं। तर, एक अर्काको एकीकरण गर्ने बहानामा पार्टी विघटन नै गर्ने, नाम परिवर्तन गर्ने लगायतका कामतर्फ जानु हुँदैन्। किनभने, हाम्रो जुन स्कुलिङ छ, यो पुस्ता जुन छ। यो नेतृत्वको पुस्ताले चाँही सहकार्यकै लागि अघि बढ्नुपर्छ जस्तो मलाई लाग्छ। तत्काल एकीकरणको दिशातर्फ अघि बढियो भने फेरि अर्को दुर्घटनातर्फ जान्छ। 

तपाईंहरुको केन्द्रीय कमिटी बैठक चलिरहँदा एक्कासी स्थगित भयो। सत्तामा जाने तयारी हो वा अन्य कारणले ?

स्थगित हुनुको मुख्य कारण सत्तामा जानकै लागि भन्ने होइन्। एउटा चाँही विभिन्न राजनीतिक दलहरूसँग वार्ता÷संवाद गर्नु छ। अर्को चाँही पार्टीकै आन्तरिक भेलाका लागि पर्याप्त समय वा गृहकार्य नपुगेको हुनाले पार्टी नेतृत्वका साथीहरूले व्यवस्थित रुपमा तल्लो स्तरसम्म प्रशिक्षण तथा तयारीका लागि स्थगित भएको हो। ओलीजीलाई सत्ताबाट हटाउने भएपछि हामी सत्तामा जानकै लागि तयारी हो नि। 

पहिलो संविधानसभामा त्यति ठूलो दल बनेको माओवादी त्यसपछि छिन्नभिन्नको अवस्थामा छ। पछिल्लो समयमा नेकपाको लडाईँमा पनि बादल लगायतका नेताहरू एमालेमै जानुले तपाईंहरू झनै कमजोर बन्नुभएको देखिन्छ। 

यो त, कति बेर अगाडि र कति बेर पछाडी भन्ने हो। यसलाई मैले कसरी हेर्छु भने, विश्व परिवेश र नेपाली परिवेश के कस्तो छ भन्ने हुन्छ। १० वर्ष अगाडिको नेपाली परिवेश अहिले छैन्।

१० वर्ष अगाडिको माओवादीको सोच अहिले सार्थक हुन नसकेको हुनसक्छ। त्यसैले पार्टी नयाँ परिवेशमा पार्टीले नयाँ नीति, नेतृत्व र नयाँ सोचहरू भएन भने पार्टी पछाडि जान्छ। कहिलेकाँही असफल पनि हुन्छ। 

पछिल्लो ३ वर्षको अनुभवबाट हामीले के सिक्यौँ भने हामीले अझैपनि नेपालको अर्थ राजनीति, समाजको मनस्थिति विश्लेषण गर्नुपर्ने त्यो पनि गम्भीरतापूर्वक। यसरी बढिएन भने पछाडि जान्छौँ, यो स्वभाविक कुरा हो।

नेपाली कम्युनिस्टहरू चुनावमा एक हुने, सत्तामा पुगेपछि टुट र फुटको श्रृङ्खला चलिरहेको देखिन्छ ? कम्युनिस्टमा यो कस्तो समस्या हो ?

नेपाली कम्युनिस्ट आन्दोलन कस्तो छ भने, वैचारिक र संगठनात्मक रुपमा चाँही विकृति र विसंगती देखिन्छ। यसमा व्यक्तिवाद, मनोवाद जस्ता विकृतिले भरिएको छ। जबसम्म कम्युनिस्ट आन्दोलन, वाम आन्दोलनले विकृति र विसंगति विरुद्ध निर्ममतापूर्वक काम गर्दैनौँ, त्यति बेलासम्म सही ढंगबाट अघि बढ्ने छाँटकाँट देखिँदैन। 

कांग्रेस र जसपासँग सत्ता सहकार्यको सम्भावना कति देख्नुभएको छ ? कसरी लाग्नुभएको छ ?

म प्रष्ट रुपमा भन्न चाहन्छु। शासक पार्टीको विकल्प खोजियो भने प्रमुख प्रतिपक्षी दल नै दोस्रो सरकार हो। जसलाई ‘स्याडो गभर्मेन्ट’ छायाँ सरकार भनिन्छ नि। छायाँ सरकारसँग कांग्रेसलाई अगाडि सारेर जसपासँग हामीले सहकार्य गरेर कांग्रेसको नेतृत्वमा सरकार बनाउनको लागि चाँही पहलकदमी जारी छ। त्यसलाई निष्कर्षमा पुर्‍याउनका लागि पहल कदमी गर्छौँ।

  • प्रकाशित मिति : चैत ६, २०७७ शुक्रबार १०:३१:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया