आजदेखि काठमाडौंमा मेलम्चीको पानी

आजदेखि काठमाडौंको घरघरमा मेलम्ची परियोजनामार्फत सिन्धुपाल्चोकको मेलम्ची खोलाको पानी पुगेको छ । मेलम्ची खानेपानी परियोजनाको परीक्षणको क्रममा आजदेखि वितरण प्रणालीमा पानी प्रवाह गरिएको हो । 

सरकारले आज बिहान ८ देखि १० बजेसम्म काठमाडौंका चार स्थानबाट मेलम्चीको खानेपानी वितरण गर्न लागेको हो । परियोजना सुरु भएको ३ दशकपछि बल्ल काठमाडौँमा मेलम्चीको पानी आइपुगेको हो । 

वि.सं. २०४७ मा तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले मेलम्चीको पानी उपत्यकामा ल्याउने प्रतिवद्धता व्यक्त गरेको ३ दशकपछि अब काठमाडौं उपत्यकावासीले मेलम्चीको खानेपानी प्रयोग गर्न पाउने भएका छन् ।

पटकपटक समय थपिँदै आएको र उपत्यकावासीको सपना जस्तै बनेको मेलम्चीको खानेपानी आज पहिलो दिन काठमाडौंका चार स्थान खुमलटार, अनामनगर, मीनभवन र महाँकालबाट वितरण सुरु गर्न लागिएको मेलम्ची खानेपानी आयोजना कार्यान्वयन निर्देशनालयले जनाएको छ । 

एक हप्तामै दैनिक साढे ८ करोड लिटर पानी वितरण हुने भनिए पनि पाइपमा हुने ओभर लोडलाई ध्यानमा राख्दै आज करिब ४ करोड लिटर पानी वितरण गर्ने तयारी गरिएको छ । २ दिनपछि अर्थात् मंगलबारदेखि साढे ६ करोड र त्यसको २ दिनपछि अर्थात् बिहीबारदेखि दैनिक साढे ८ करोड लिटर पानी वितरण हुनेछ । 



काठमाडौं उपत्यकामा दैनिक १७ हजार लिटर पानी ल्याउने गरी सुन्दरीजलमा साढे ८ करोड लिटरका २ ओटा ट्रिटमेन्ट प्लान्ट तयार भइसकेका छन् । एउटा प्लान्टको परीक्षण हुन बाँकी रहेकाले हाल साढे ८ करोड लिटर पानी मात्र ल्याउन लागिएको हो ।

काठमाडौंको कीर्तिपुर र भक्तपुरको पानीट्याङ्कीको काम केही बाँकी रहेकाले दोस्रो चरणमा मात्रै यी स्थानमा पानी वितरण गरिनेछ । अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले हाल वितरण गर्दै आएको प्रणाली र आयोजनाले नयाँ थपेको पाइपलाइनमार्फत पानीको वितरण हुनेछ ।



आयोजनाले बनाएको नयाँ पाइपलाइनसँग जोडिने घरधुरी चक्रपथभित्रका मात्रै हुन् । चक्रपथभित्र पनि बालुवाटार, विशालनगर क्षेत्र, धोबीखोलाबाट पश्चिमको क्षेत्र, बालाजु बसपार्क क्षेत्र, छाउनी, बाफल क्षेत्रमा पनि नयाँ प्रणाली जडान भएको छैन । आयोजनाले केही समयपछि काठमाडौंको भृकुटीमण्डपबाट वितरण लाइनको उद्घाटन राष्ट्रपतिमार्फत गराउने तयारी गरेको छ ।

अहिले काठमाडौंमा मेलम्चीको पानी केयुकेएलको पुरानै पाइपलाइनबाट वितरण हुने भएपनि आयोजनाले अधिक समस्या देखिएका स्थानमा १ हजार किलोमिटरभन्दा बढी नयाँ पाइपलाइन बिच्छ्याइएको छ । साढे २ तलाको घरको ट्यांकीमा पनि पानी स्वतः चढ्नेछ ।

  • प्रकाशित मिति : चैत १५, २०७७ आइतबार ८:४१:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया