माधव नेपाल र भीम रावल एमालेबाट निलम्बित

काठमाडौं : नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीमबहादुर रावललाई पार्टी सदस्यबाट निलम्बन गरेको छ। एमाले पार्टी केन्द्रीय कार्यालय स्रोतका अनुसार दुवै नेतालाई पार्टी साधारण सदस्यबाटै ६ महिनाका लागि निलम्बन गरिएको हो। 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले दुवै नेतालाई एमालेले ६ महिनाका लागि निलम्बन गरेको पुष्टि गरेका छन्। 'हो, उहाँहरु दुवैजनालाई एमालेले निलम्बन गरेको छ', उनले भने, 'स्पष्टीकरणको चित्त बुझ्दो जवाफ नआएपछि यो कदम चालिएको हो।'

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको भन्दै छ महिनाका लागि पार्टीबाट निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ। पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टी भित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला गरेको, पार्टीका कु-भलो चिताउनेहरूसँग निरन्तर भेटघाट गरी उनीहरुको पक्षपोषण गरेको आरोप ओलीले लगाएका छन् ।

स्पष्टीकरणमा सोधिए अनुसार 'आफ्नो भुलत्रुटीको स्वीकारोक्ति नगरेको, कुनै आत्मसमीक्षा नगरिएको, आत्मालोचना गर्ने कुनै प्रवृत्ति नदेखिएको, अहंकार आत्मकेन्द्रित र स्वार्थी प्रवृत्ति प्रष्ट रुपमा देखियो । आफ्नो स्वार्थको लागि देश जनता र पार्टीको हितलाई जस्तोसुकै क्षति पुर्या‍उनु तयार भएको आपराधिक मनोवृत्ति प्रष्ट रुपमा थप पुष्ट भएको’ पत्रमा भनिएको छ।

यस्तै गतिविधिहरु कामय रहेमा जुनसुकै बेला थप कडा कारबाही गरिने चेतावनी ओलीले दिएका छन् । आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा निलम्बन अवधि बीचैमा पनि निलम्बनको अवधि घटाउन सकिने र बीचमै थप कारबाही गर्न सकिने जानकारी पनि दिइएको छ ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १७:१७:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया