माधव नेपाल र भीम रावललाई एमालेको पत्र : यो अन्तिम मौका हो, सच्चिएर आए कारवाही घट्छ


काठमाडौं : सत्तारुढ नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई पार्टी सदस्यबाट निलम्बित गरेको छ । स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको दुवैलाई ६ महिनाका लागि पार्टी साधारण सदस्यबाटै निलम्बित गरिएको हो ।

एमालेले नेपाल र रावललाई सच्चिनका लागि अन्तिम मौका दिइएको भन्दै आफ्ना क्रियाकलाप सच्याएर पार्टीका पक्षमा लाग्न भनेको छ ।

‘तपाईंलाई सच्चिनका लागि यो अन्तिम मौका हो,' पत्रमा भनिएको छ, 'आफ्ना विचार र क्रियाकलापहरू सच्याई पार्टीका पक्षमा आएमा पार्टीले निलम्बन अवधि बीचमा पनि निलम्बनको अवधि घटाउने निर्णय गर्न सकिने छ। सच्चिन दिएको मौकालाई पार्टीको कमजोरी ठानी पार्टी विरोधी गतिविधिहरू कायमै राखेमा निलम्बन अवधिको बीचैमा थप कारबाही गर्न सकिने ब्यहोरासमेत जानकारी गराइन्छ,’

पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीको कु-भलो चिताउनेसँग निरन्तर बैठक गरेको कुरा निलम्बन गरिएको पत्रमा उल्लेख गरिएको छ ।

‘तपाईले पार्टी एकतालाई विखण्डन गर्ने, पार्टी फुटाउने, पार्टीभित्रको सहकार्य र सद्भावलाई क्षतविक्षत पार्ने गरी निरन्तर अवैधानिक गुट भेला तथा पार्टीका कु-भलो चिताउनेहरूसँग निरन्तर बैठक, भेटघाट गर्ने र उनीहरूको पक्षपोषण गर्ने कार्य निरन्तर गरिरहनु भई उक्त कार्यलाई निरन्तरता दिने स्विकारोक्ति सहित अहंकार र आत्म केन्द्रीत कुराहरू उल्लेख गरी स्पष्टीकरणको जवाफ दिएको देखियो,’ नेपाललाई निलम्बन गर्नुको कारणबारे पत्रमा लेखिएको छ ।





  • प्रकाशित मिति : चैत १६, २०७७ साेमबार १८:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया