साँफे–मार्तडी सडक : जोखिममा यात्रा, वर्षायाममा फेरि सडक अवरुद्ध हुने चिन्ता
फरकधार / २१ चैत, २०७७
साँफे–मार्तडी सडक अन्तर्गत बाजुराको द्वारीमा गत साउनमा गएको पहिरोले पारेको तहसनहस क्षेत्र । तस्बिर : कैलाश जोशी/फरकधार

बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी सडकखण्ड धुजा–धुजा परेको छ । जोखिम मोलेर जेनतेन यातायातका साधन सञ्चालन भइरहेका छन् । गत साउनमा आएको पहिरोले सडकको नामनिसान मेटिएको थियो । त्यतिबेला ६ महिनासम्म सदरमुकाम मार्तडीको यातायात सेवा ठप्प रह्यो । भत्किएको सडक सञ्चालनका लागि कुनै पनि निकायसँग छलफल हुन सकेको छैन । 

सडक यस्तै अवस्था रहने हो भने वर्षायाम सुरु हुने बित्तिकै फेरि पनि यातायात अवरुद्ध हुने निश्चित छ । साँफे–मार्तडी सडक अन्तर्गत तिपाडादेखि ओम्कोटसम्म पूरै भासिएको छ । यो क्षेत्रमा मात्र नभएर साँफे–मार्तडी सडक खण्डको बार्जुगाडदेखि मार्तडीसम्म दर्जनौं ठाउँमा पहिरो खसेको छ । अम्कोट र द्वारी क्षेत्रमा माथिबाट निरन्तर खस्ने पहिरो र तलबाट बुढीगंगाको कटानले पैदल आवागमन पनि जोखिमपूर्ण बन्दै गएको छ ।

निर्माण सकिएको दुई वर्ष नपुग्दै बाजुरा सडक क्षतविक्षत भएको हो । तीन वर्षअघि झन्डै ७० करोडको लागतमा निर्माण भएको सडक कतिपय ठाउँमा नामोनिसान नै मेटिएको छ । द्वारी क्षेत्रमा बर्खायाममा मात्र होइन चैतमा पनि पहिरो खसिरहेको छ । त्यो पहिरो खस्दा नदी थुनिने खतरा त्यतिकै छ ।

यो समस्या अहिलेको मात्र होइन हरेक वर्ष हुने गरेको छ । अम्कोट र द्वारीको पहिरोले दर्जनौँ बस्ती समेत जोखिममा रहेका छन् । स्थानीयले भने समयमा नै पहल कसैले नगरेको गुनासो गरेका छन् ।

बुढीगंगा नगरपालिका–३ का केशर विकले सदरमुकाम स्थायी रूपमा निर्माणका लागि कुनै पहल नभएको भन्दै दुखेसो पोखे । उनले भने, ‘निर्माण सम्पन्न भएको छोटो समयमै सडक नामनिसान नै नरहने गरी भत्किए पनि कसैको पहल हुन सकेको छैन ।’

जिल्लाको त्रिवेणी नगरपालिक–९ पैमामा पहिरो झर्न थालेको ५ वर्षभन्दा बढी भयो । पहिरोमा बुढीगंगा नदीको वारि अम्कोट र पारि पैमा गाउँतर्फ झन्डै १५ हेक्टर जमिन सखाप भएको छ ।

वर्षायाममा पहिरोको चर्चा भए पनि अन्य समयमा भने बेवास्ता हुने गरेको छ । बाजुरा त्रिवेणी नगरपालिका–९ पैमा घर भएका भानुभक्त पाध्याले बाजुरा र अछामको मध्यभाग भएर बग्ने बुढीगंगा नदीले धेरै क्षति पुर्‍याएको बताए ।

‘उनले पैमाको पहिरोले साँफे–मार्तडी सडकलाई पनि असर गरेको छ । पारी पहिरो खस्ने वारी तर्फ नदी हानिने हुँदा अम्कोट क्षेत्र चिराचिरा परेको छ’, उनले भने, ‘बाजुरा सदमुकाम जोड्ने सडकका लागि केन्द्र सरकारको पहलबिना कुनै पनि काम हुन सक्ने अवस्था छैन ।’ जबरस्ती हिउँदमा पुरानै क्षेत्रमा सडक मर्मत गरिने तर, त्यो सडक वर्षायाममा खतम हुने परिपाटी हरेक वर्ष हुने गरेको उनले बताए । 

वर्षायाममा बुढीगंगा थुनिने खतरा भएको भन्दै तल्लो तटीय क्षेत्र बाजुराकै जडांगा, ताप्रिसेरा, सेरा बगर, बार्जुगाडका बस्ती हरेक वर्ष जोखिममा पर्ने गरेका छन् । गत साउनमा पहिरो र बुढीगंगामा आएको बाढीले साँफे–मार्तडी सडक खण्डअन्तर्गत बाजुरातर्फ ताप्रिसेरादेखि अम्कोट क्षेत्रमा झन्डै पाँच किमि कालोपत्रे सडक बगाएको थियो ।

यस्तै बुढीगंगामा रहेको बेलिब्रिज, ताप्रिसेराको झोलुंगे पुल पनि बाढीमा बगेको थियो । साउन तेस्रो साता आएको बुढीगंगाको बाढी र पहिरोले ४० भन्दा बढी परिवारको घर बगायो । थुप्रै परिवारले खेती गर्ने जमिन गुमाए । थुप्रै बस्तीहरू पहिरोको जोखिममा परे ।

छलफल हुन्छ, निष्कर्ष आउँदैन

बाजुरा सदरमुकाम जोड्ने एक मात्र साँफे–मार्तडी सडक पहिरोले भाँसिने समस्या देखिएपछि छलफल हुने गरेको भए पनि कुनै पनि निष्कर्ष ननिस्कने गरेको जनाएको छ । सडकको दिगोपनाका लागि पटक–पटक छलफल हुने गरेको जिल्ला प्रशासन कार्यालय बाजुराका सहायक प्रमुख जिल्ला अधिकारी समीर भण्डारीले बताए ।

‘सडकको विकल्प खोज्ने विषयमा बेला बेला छलफल भएका छन्’, उनले भने, ‘तर, निष्कर्ष निस्कन सकेको छैन । सडक डिभिजन कार्यालयले विकल्प खोज्दा मुआब्जा लगायतका कुरामा समस्या हुने भन्दै यथावत नै हुनपर्ने अडान लिँदै आएको छ ।’

सुरुमा नै पहिरोग्रस्त क्षेत्रबाट सडक लैजाँदा समस्या भएको बुढीगंगा नगरपालिकाका मेयर दीपक विक्रम शाहले बताए । ‘पहिरो विकराल छ । तर, बुझ्न नसकेको कुरा के हो भने यति ठूलो समस्या हुँदा पनि केन्द्र सरकारको ध्यानकर्षण हुन सकेको छैन’, उनले भने, ‘यस्तै अवस्था रहेमा बाजुरावासीले दुःख पाउने निश्चित छ । अहिले पनि जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता रहेको छ ।’

अम्कोट क्षेत्रको जमिन नै कमजोर हुँदा समस्या हुने गरेको उनले बताए । ‘वैकल्पिक सडकका लागि हामी कुरा गर्दै आएका छौँ । डेल्टा हाटीचौर हुँदै मार्तडी जाने सडकको स्तरोन्नति गरेर त्यसैलाई स्थापित गर्ने माग गरेको हो’, उनले भने, ‘तर विडम्बना के छ भने, सडक बोर्ड अहिलेकै सडकभन्दा अर्को सडकमा हुँदैन भनिरहेको छ ।’

केन्द्रको पहलबिना सडकको दिगोपनाका लागि असम्भव जस्तै भएको सडक बोर्ड कार्यालय अछामका प्रमुख ललिजंग खनालाले बताए । ‘यहाँको समस्याका बारेमा विभागमा चिठ्ठी पठाएको छ’, उनले भने । 

बर्सेनि हुन्छ धनजनको क्षति

बाजुरामा बाढीपहिरोबाट यहाँ हरेक वर्ष दर्जनौं परिवारको बिचल्ली हुने गरेको छ । कैयौंले ज्यान गुमाउने गरेका छन् । जिल्ला प्रशासन कार्यालयको अभिलेखअनुसार गत आर्थिक वर्षमा मात्रै ६० घर पूर्ण रूपमा भत्किएका थिए । ६ वर्षअघि विज्ञहरू सम्मिलित टोलीले गरेको अध्ययनले बाजुरामा साविकका ६ वटा गाविसका बस्तीहरूलाई सार्नैपर्ने सुझाव दिएको थियो ।

२०७१ सालमा राष्ट्रिय योजना आयोगले नापी विभाग, इसिमोडलगायत विभिन्न निकायका प्राविधिकहरूको टोलीले बाजुराको भौगर्भिक अवस्थाको प्रारम्भिक अध्ययन गरेको थियो । अध्ययन टोलीको प्रतिवेदनमा साविकका बिच्छयाँ, रुगीन, गोत्री, साप्पाटा, दहकोट र मानाकोट गरी ६ गाविसका बस्ती पहिरोको उच्च जोखिममा रहेको औंल्याउँदै सार्नैपर्ने ठहर गरेको थियो ।

प्रतिवेदनमा बाजुराको ५१ प्रतिशत भूभाग बस्ती बस्न उपयुक्त नभएको र त्यस बेलाका २४ हजार ८८८ घरमध्ये ५ हजार २९ घर मात्रै प्रकोपबाट सुरक्षित रहेको उल्लेख छ । यहाँको ९० वर्ग किमि क्षेत्रफल पहिरोबाट प्रभावित भइसकेको अध्ययनले देखाएको थियो । त्यसबेला जिल्लाको कुल जनसंख्या १ लाख ३४ हजार ९१२ रहेकोमा अध्ययन प्रतिवेदनअनुसार बस्ती बस्न अनुपयुक्त भनिएका ६ गाविसको जनसंख्या २४ हजार ९७९ थियो ।

जिल्लाको कुल क्षेत्रफल २२ लाख ९ हजार ७ सय हेक्टरमध्ये साविकका ती गाविसले ९३ हजार ८७१ हेक्टर ओगटेको थियो । प्राकृतिक प्रकोपको जोखिममा परेका बस्तीलाई स्थानान्तरण गर्ने योजना पनि आयोगले अघि सारेको थियो ।

जियोलोजी समूहको अध्ययनपछि समस्याको समाधान हुन्छ : सांसद थापा

साँफे–मार्तडी सडक खण्ड अन्तर्गत अम्कोट र द्वारी पहिरो समस्याका लागि के भइरहेको छ ?

साँफे–मार्तडी सडक अन्तर्गत पहिरोबाट उत्पन्न भएको समस्याको अन्त्यका लागि गत साउनमा बुढीगंगा नदीमा रहेको बेलिब्रिज बगाए यता विभागदेखि मन्त्रालयसम्म धाइरहेका छौँ । सबैको सहयोगमा बेलिब्रिज निर्माण समेत सम्पन्न भइसकेको छ । 

वर्षायाममा सडक सञ्चालनका लागि के भइरहेको छ ?

यस क्षेत्रको भौगोलिक अवस्थाका बारेमा जियोलोजीको टिमले अध्ययन गरेको छ । त्यसको बारेमा विस्तृत बुझ्न पाएको छैन । वर्षायाममा आवत–जावत नरोकियोस् भन्नका लागि स्ट्यान्डमा स्काभेटर राखेर सञ्चालन गर्ने विषयमा छलफल चलिरहेको छ । जियोलोजिको निष्कर्षपछि त्यसअनुसार अगाडि बढ्ने छौँ ।

यस्तै वैकल्पिक सडकको विषयमा पनि छलफल भइरहेको छ । शेरा–आटीचौर सडक उपयुक्त हुनसक्छ । यस्तै प्राविधिकका अनुसार अहिलेकै सडक रहेको ठाउँमा स्थायी समाधानका लागि तलबाट नै ७ सय मिटर बेस बनाएर उठाएर अगाडि बढ्ने कि भन्ने विषयमा छलफल भएको छ । काम गर्नका लागि जनप्रतिनिधिबाट सक्रिय भएर पुग्दैन । कर्मचारीकै त्यतिकै सक्रियता आवश्यकता हुन्छ ।

  • प्रकाशित मिति : चैत २१, २०७७ शनिबार १४:११:२,   अन्तिम अपडेट : चैत २१, २०७७ शनिबार १४:१२:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्


यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया